राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बलियो गढ मानिने बाँकेमा अध्यक्ष राजेन्द्र लिङदेनको कार्यशैली र निर्णयप्रति तीव्र असन्तुष्टि जनाउँदै १२० भन्दा बढी जिम्मेवार नेता तथा कार्यकर्ताहरूले सोमबार एकैसाथ पार्टीबाट सामूहिक राजीनामा दिएका छन्। अध्यक्ष लिङदेनका कपटपूर्ण कार्यशैली र छलछामका कारण पार्टीको मूल नीति, सिद्धान्त, राष्ट्रवादी आन्दोलन र सम्पूर्ण कार्यकर्तापंक्तिमाथि ठूलो धोका भएको आरोप लगाउँदै उनीहरूले साधारण सदस्यसमेत नरहने गरी पार्टी छाडेका हुन्।

पार्टी छाड्नेहरूमा केन्द्रीय तहका पदाधिकारीदेखि जिल्ला र जनवर्गीय संगठनका मुख्य नेतृत्वसम्म रहेका छन्। राप्रपाका केन्द्रीय सहायक महामन्त्रीद्वय हिक्मत ढकाल र ऋषिराज देवकोटा, केन्द्रीय सदस्यहरू ओमप्रकाश आजाद, लक्ष्मी हमाल र गौरव चन्द, केन्द्रीय सल्लाहकार लक्ष्मी श्रेष्ठ, लुम्बिनी प्रदेश संयोजक नितु चन्द तथा बाँके जिल्ला अध्यक्ष नरेन्द्र पौडेलले संयुक्त रूपमा पद त्याग गरेका हुन्। उनीहरूसँगै जिल्ला उपाध्यक्षद्वय तुलाराम शाही र विन्दु चर्ती मगरसहित क्षेत्रीय, प्रादेशिक, नगर तथा भ्रातृ संगठनका पदाधिकारी र क्रियाशील कार्यकर्ताहरूले पनि राजीनामा पत्र बुझाएका छन्।
सामूहिक राजीनामा पत्रमा अध्यक्ष लिङदेनमाथि सिद्धान्तभन्दा बाहिर गएर सत्ता र पदको राजनीति गरेको गम्भीर आरोप लगाइएको छ। प्रदेश संरचना खारेजीको एजेण्डा बोके पनि प्रदेश सभाबाट राजीनामा नदिई सभामुख र उपसभामुख पदसहित राज्यको तलब-भत्ता खाइरहेको र पटक-पटक राष्ट्रवादी आन्दोलनलाई तुहाउने काम गरेको असन्तुष्ट पक्षको भनाइ छ। त्यस्तै, महाधिवेशनले सदन र सडक दुवै माध्यमबाट आन्दोलन गर्ने नीति पारित गरे पनि भर्खरै बाँके आएर अध्यक्ष लिङदेनले ‘आन्दोलन राप्रपाको एजेण्डा नै होइन’ भनी दिएको अभिव्यक्तिको कडा आलोचना गरिएको छ।
यसैगरी, निष्पक्ष महाधिवेशनका लागि पूर्वअध्यक्षहरूले दिएको रचनात्मक सुझावलाई लत्याउँदै उनीहरूमाथि लेटरप्याड दुरुपयोगको आरोप लगाएर सार्वजनिक रूपमा मानमर्दन गरिएको र पुनः कर्मकाण्डी महाधिवेशनमार्फत नेतृत्व हत्याउन तानाबाना बुनेको आरोपसमेत पत्रमा समावेश छ। गत निर्वाचनमा ९७ प्रतिशत उम्मेदवारको जमानत जफत हुनु र अध्यक्ष स्वयंले चुनाव हार्नुले जनतामाझ राप्रपाको पत्यार र साख पूर्ण रूपमा गुमेको दाबी गरिएको छ।
यसरी राप्रपाबाट अलग्गिएका नेता-कार्यकर्ताहरू अब पूर्वमहामन्त्री डा. धवलशम्सेर राणाको नेतृत्वमा गठन हुन लागेको नयाँ राजनीतिक दल वा अभियानमा समाहित हुने तयारीमा रहेको सम्बद्ध स्रोतले जनाएको छ। बाँके जस्तो राप्रपाको पकड क्षेत्रमा एकैपटक यति ठूलो सङ्ख्यामा पदाधिकारी तथा अगुवा कार्यकर्ताहरूले पार्टी छाडेपछि स्थानीय राजनीतिमा ठूलो तरङ्ग पैदा भएको छ।
प्रतिक्रिया दिनुहोस्