आसन्न अर्थात यही फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्ने उद्देश्यले नेपाली सेनाको वीरदल गण ओदिन ब्यारेक, पाँचथरमा नमुना मतदान सिमुलेशन अभ्यास सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, वीरदल गणका गणपति, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल, नम्बर २ हिमशिखर गुल्मका कार्यालय प्रमुखहरु, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत, जिल्ला निर्वाचन अधिकृत, जिल्लाका विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, जिल्ला स्थित कार्यालयका कार्यालय प्रमुख, इकाइ प्रमुख तथा सबै सुरक्षा निकायका सकलदर्जाको उल्लेखनीय उपस्थिति रहेको थियो।

जिल्लाका विभिन्न स्थानमा सुरक्षा वेश स्थापना गरी सुरक्षा फौज परिचालन गरिएको जानकारी दिँदै अभ्यासमा मतदान स्थल सर्च तथा सुरक्षा समन्वय, शंकास्पद वस्तु फेला पर्दा अपनाइने कारबाही, भीड तथा हुलदङ्गा नियन्त्रणमा क्रमिक शक्तिको प्रयोग, संयुक्त अपरेशन सेलमार्फत समन्वयात्मक कार्यशैली प्रस्तुत गरिएको थियो। साथै महत्वपूर्ण संरचनाको सुरक्षा व्यवस्थापनसमेत अभ्यासमा समेटिएको थियो।
यसैगरी, मतदान सम्पन्न भएपश्चात् मतपेटिका सुरक्षित रूपमा स्कर्टिङ गरी मतगणना स्थलसम्म ढुवानी गर्ने प्रक्रिया प्रदर्शन गरियो । कार्यक्रमको अन्त्यमा प्रजिअ वासुदेव दाहालले यस अभ्यासले सम्भावित चुनौती सामना गर्न सुरक्षा संयन्त्रलाई थप सुदृढ र सक्षम बनाउने विश्वास व्यक्त गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्