-लाजेहाङ
आगामी निर्वाचनले मात्र देशका सबै समस्या समाधान गर्छ भन्ने विश्वास अब नेपाली समाजमा कमजोर बन्दै गएको देखिन्छ। चुनाव लोकतन्त्रको महत्वपूर्ण साधन हो । तर त्यो आफैंमा अन्तिम समाधान होइन। जब प्रणालीको जरा कमजोर हुन्छ, नीति निर्माण आयातित सोचमा आधारित हुन्छ । र नेतृत्व समाजको आत्मा र ऐतिहासिक चेतनासँग जोडिएको हुँदैन । तब निर्वाचन केवल सत्ताको अदल–बदलमा सीमित हुन्छ । समस्या यथावत् रहन्छ । कहिलेकाहिँ अझ गहिरो पनि बन्छ।
नेपालको वर्तमान संकट केवल सरकार परिवर्तनको संकट होइन । यो विश्व दृष्टिकोण, ज्ञान प्रणाली र सभ्यतागत आत्मविश्वासको संकट हो। हामीले वर्षौंदेखि बाहिरबाट आयात गरिएका ज्ञान सत्ता, राजनीतिक मोडेल, आर्थिक नीतिहरू र विकासका परिभाषाहरूलाई आँखामा पट्टीबाँधेर, कानमा ठेडी ठोकेर अनि मुखमा बुजो खाँदेर अपनाउँदै आएका छौं । ती मोडेलहरू उनीहरुको आफ्नै ऐतिहासिक, सांस्कृतिक र सामाजिक सन्दर्भमा विकसित भएका थिए।

तिनलाई जस्ताको त्यस्तै यहाँ लागू गर्दा संरचना त उभिन्छ, तर आत्मा हराउँछ। आफ्नो आत्मिक जग नै हराएपछि हामी उनीहरुको खेलौना बन्नु राजनीतिक हिसाबले स्वभाभिक हो । तसर्थ हाम्रो परिणाम संस्था छन् तर विश्वास छैन । चुनाव हुन्छ तर परिवर्तनको अनुभूति हुँदैन । अनुहार फेरिन्छ तर नयाँ आउनेहरु पुरानोको उहीँ सस्करण हुन्छन्।
निर्वाचनले समस्या समाधान नगर्ने मुख्य कारण यही होकि प्रतिस्पर्धा गर्ने शक्तिहरूको आधारभूत सोचमा ठूलो भिन्नता छैन। दल फरक देखिए पनि विकासको भाष्य, अर्थतन्त्रको दिशा, शिक्षाको ढाँचा र राज्य सञ्चालनको मनोविज्ञान उही उधारो ढाँचामा अडिएको छ। जब विकल्पहरू केवल अनुहारका स्तरमा सीमित हुन्छन्, तब जनताले कसलाई जिताए पनि जीवनमा गुणात्मक परिवर्तन देख्दैनन्। यस्तो अवस्थामा चुनाव आशा होइन अनिश्चितताको अर्को चक्र बन्छ।
अर्को गम्भीर पक्ष भनेको नीति निर्माणमा बढ्दो बाह्य निर्भरता हो । आर्थिक सहायता, वैदेशिक ऋण, दातृ एजेन्डा र अन्तर्राष्ट्रिय सल्लाहकार संरचनाले राज्यको निर्णय प्रकृयामा प्रत्यक्ष÷अप्रत्यक्ष प्रभाव पारिरहेका हुन्छन् । यसले राष्ट्रिय प्राथमिकतालाई कमजोर बनाउँछ । नीति कागजमा जनमूखी देखिएपनि व्यवहारमा दातामूखी बन्छ । जनताले मतदान गरेर सरकार बनाउँछन्, तर सरकारको नीति निर्माणमा बाहिरी सर्तहरूको प्रभाव बढी हुन्छ भने त्यो लोकतान्त्रिक स्वायत्तताको प्रश्न बन्छ । यस्ता सर्तहरूकै बीचमा हुने निर्वाचनले स्थिर समाधानभन्दा थप अनिश्चितता ल्याउने जोखिम हुन्छ।
यसको अर्को आयाम ज्ञानको प्रश्न हो। आज हाम्रो शिक्षा, प्रशासन र बौद्धिक विमर्शको ठूलो हिस्सा आयातित ज्ञान प्रणालीमा आधारित छ। आफ्नै सभ्यता, दार्शनिक परम्परा, सामुदायिक शासन अभ्यास र स्थानीय अर्थतन्त्रको ज्ञानलाई ‘पछौटे’ भनेर पन्छाइएको छ। परिणामतः नीति बनाउनेहरू आफ्नै समाजको गहिरो संरचना बुझ्न नसक्ने अवस्थामा पुग्छन्। जब राज्य सञ्चालनको ज्ञान समाजको वास्तविक जीवन जगतबाट अलग हुन्छ, तब चुनावले योग्य प्रतिनिधि छान्न सके पनि उनीहरू काम गर्ने आधार गलत हुन्छ।
यहीँ ‘स्वदेशीय सनातन प्रज्ञा’ को प्रश्न उठ्छ। यसको अर्थ कुनै एक धार्मिक वा परम्परागत संरचनालाई राज्यमा थोपर्ने होइन, यसको अर्थ आफ्नै भूमि, इतिहास, समाज र संस्कृतिबाट विकसित ज्ञान प्रणालीलाई पुनः केन्द्रमा ल्याउनु हो। नेपालमा सामुदायिक सहकार्य, स्थानीय न्याय परम्परा, प्रकृतिसँग सन्तुलित जीवनशैली, श्रमको सम्मान र नैतिक नेतृत्वको अवधारणा गहिरो जरा गाडेर बसेको छ। यी मूल्यहरूलाई आधुनिक शासन प्रणालीसँग जोडेर नयाँ राजनीतिक दृष्टि बनाउन सकिन्छ।
स्वदेशीय प्रज्ञामा आधारित निर्वाचन भनेको केवल मतदान प्रक्रिया होइन । यो उम्मेदवार चयनदेखि नीति प्राथमिकता तय गर्ने प्रक्रियासम्म समाजको वास्तविक संरचनासँग जोडिएको हुनुपर्छ। स्थानीय उत्पादन, आत्मनिर्भर अर्थतन्त्र, मातृभाषामा शिक्षा, नैतिक नेतृत्व प्रशिक्षण र समुदायमा आधारित निर्णय प्रक्रियालाई राजनीतिक एजेन्डाको केन्द्रमा राख्ने चुनावमात्र रूपान्तरणकारी हुन सक्छ। अन्यथा चुनाव केवल नाराको प्रतिस्पर्धा र स्रोतको खेल बन्छ।
आजको आवश्यकता चुनाव बहिष्कार होइन, चुनावको पुनर्परिभाषा हो। मतदाताले पनि प्रश्न बदल्नुपर्छ, कसले जित्छ ? कसको दृष्टिकोण हाम्रो समाजको आत्मासँग मिल्छ ? यसरी प्रश्न सोध्नु सक्नुपर्छ ।
दलहरूले पनि कार्यक्रम बदल्नुपर्छ । विदेशी प्रतिवेदनको भाषा होइन, स्थानीय जीवनको यथार्थबाट नीति बनाउनु पर्छ। शिक्षित वर्गले पनि आयातित सिद्धान्तको उद्धरण मात्र होइन, आफ्नै समाजको अनुभवबाट सिद्धान्त निर्माण गर्ने साहस देखाउनुपर्छ। निर्वाचन तबमात्र निकासको बाटो बन्छ जब त्यो सभ्यतागत आत्मविश्वाससँग जोडिन्छ। जब देशले आफूलाई समस्या भएको वस्तु होइन, समाधान भएको स्रोतको रूपमा देख्न थाल्छ। जब नेतृत्वले बाहिर हेरेर नक्कल गर्ने होइन, भित्र हेरेर निर्माण गर्ने मार्ग रोज्छ। स्वदेशीय ज्ञान, नैतिकता र सामुदायिक चेतनाको जगमा उभिएको राजनीतिक प्रतिस्पर्धाले मात्र दीर्घकालीन स्थिरता दिन सक्छ।
अन्ततः प्रश्न निर्वाचनको होइन, आधारको हो। जगको हो । आधार अथवा ज्ञान सत्ता आयातित रहेसम्म परिणाम उधारो नै हुन्छ। आधार आफ्नै स्वदेशीय प्रज्ञामा उभियो भने परिणाम दीगो हुन्छ। अबको बहस सत्ताको परिवर्तनभन्दा सोचको परिवर्तनतर्फ मोडिनुपर्छ। त्यहीँबाटमात्र देशको वास्तविक निकास सम्भव छ। नेपाल राजनीतिक हिसाबले संकटकालीन अबस्थामा रहेको हुनाले सर्बपक्षीय स्वदेशीय नागरिक सरकार बनाएर स्वदेशी सनातन प्रज्ञाको जगमा गराइने निर्वाचनले मात्र निकाश दिन सक्दछ । अन्यथा देश लम्पटहरुको हातमा जानेछ ।
(लेखक स्वदेशवादी अभियानको अभियान्ता हुनुहुन्छ ।)