Advertisement GIF
निर्वाचनलाई शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको निर्देशन

महाशिवरात्रि तथा २६३औँ सेना दिवसको अवसरमा जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गर्नु भएको छ ।

कार्यक्रममा उहाँले नेपाली सेनाका बहालवाला तथा अवकाशप्राप्त सकलदर्जा, सेनामा कार्यरत निजामती कर्मचारी एवं परिवारजनमा शुभकामना पनि व्यक्त गर्नु भयो । सम्बोधनका क्रममा प्रधान सेनापतिले नेपालको गौरवपूर्ण गाथा, परम्परा र संस्कृतिलाई चित्र, गौरव गर्न र इतिहासका पाठहरूबाट सिक्दै सबै सैनिक तालिमहरूमा नेपाल र नेपालीको इतिहासको अध्ययन, अध्यापन गराउन निर्देशन दिनु भयो । साथै, नेपाली सेनाले विभिन्न क्षेत्रमा निर्वाह गर्दै आएका जिम्मेवारीहरू उत्कृष्ट ढंगले पूरा गर्ने क्रममा आसन्न निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउनसमेत विशेष निर्देशन दिनु भएको छ ।

यसअघि आयोजित कार्यक्रमहरूमा कर्तव्यपालनका क्रममा जीवन उत्सर्ग गर्ने सैनिकहरूको सम्मानमा प्रधान सेनापतिले छाउनीस्थित वीर स्मारक तथा सैनिक मञ्च टुँडिखेलमा रहेको शहीद स्मारकमा श्रद्धासुमन अर्पण गर्नु भएको थियो । त्यसैगरी छाउनीस्थित वीर स्मारकमा आयोजित कार्यक्रममा वीरगति प्राप्त सैनिकका परिवारजनलाई सम्मान गरिएको थियो।

नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिको अवसरमा सेना दिवस मनाउँदै आएको छ।