जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विद्रोह र आन्दोलनबाट आएको राजनीतिक परिवर्तनलाई सामाजिक र आर्थिक परिवर्तनसँग जोड्न नसक्दा मुलुक अझै पछाडि परेको बताएका छन्। राष्ट्रिय प्रेस क्लब, अनामनगरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिक परिवर्तनमात्रले देशको समग्र विकास सम्भव नहुने स्पष्ट पारे। उनले नेपाल हिजो र आज पनि कम विकसित नै रहेको उल्लेख गर्दै सुशासनको प्रत्याभूति जनताले महसुस गर्न नसकेको आरोप लगाए।
उनले आन्दोलनपछि प्राप्त उपलब्धिको जिम्मेवारी सरकारले लिनुपर्ने भए पनि वर्तमान सरकारले त्यो जिम्मेवारी पूरा गर्न नसकेको बताए। मुलुक अहिले पनि संक्रमणकालीन अवस्थामै रहेको उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना, शिक्षा र स्वास्थ्यमा सहज पहुँच सुनिश्चित गर्न सरकार असफल भएको टिप्पणी गरे। उनले शिक्षा र उपचारका लागि जनताले आफ्नो सम्पत्ति बेच्नुपर्ने अवस्था अत्यन्त दुःखद रहेको बताए।
अध्यक्ष यादवले वर्तमान निर्वाचन प्रणाली महँगो र विकृत भएको आरोप लगाउँदै यसले जनताको वास्तविक प्रतिनिधित्व कमजोर बनाएको बताए। उनले देशको आर्थिक अवस्था अझै कमजोर रहेको, लगानीका दृष्टिले नेपाल असुरक्षित राष्ट्रको रूपमा चिनिएको र रेमिट्यान्स स्थायी समाधान नभएको धारणा सुनाए । कृषि क्षेत्रलाई प्राथमिकता दिएमा देश समृद्ध बन्न सक्ने उल्लेख गर्दै उनले भने, ‘कृषिमा प्राथमिकता दिए जनताले सुन फलाउन सक्छन् ।’ यादवले युवाहरूलाई रोजगारीको अवसर उपलब्ध गराउन र वैदेशिक रोजगारीमा जानेहरूलाई भिसा र टिकटको पैसा लिनु नहुने धारणा सुनाए ।
कार्यक्रममा बोल्दै अध्यक्ष यादवले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नीति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए। उनले नेपालको कूटनीतिक अवस्था कमजोर रहेको र नेतृत्वले राष्ट्रिय स्वाभिमान र सुरक्षालाई सुदृढ बनाउन नसकेको आरोप लगाए। संघीयता आफ्नो लागि प्राणभन्दा प्यारो भएको उल्लेख गर्दै उनले यसलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनी दिए। साथै, समसामयिक राजनीतिक सन्दर्भमा टिप्पणी गर्दै केही नेताहरूप्रति कडा आलोचनासमेत गरे र लोकतन्त्रका लागि आफूले गरेको संघर्षलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस्