नेपाल प्रहरीमा एआई र यसको विश्लेषण गर्ने अलग्गै शाखा अर्थात सेन गठन भएको छ । सोमबार (आज) गृहमन्त्री ओमप्रकाश अर्यालले कृत्रिम बुद्धिमत्ता तथा उन्नत विश्लेषण सेलको उद्घाटन गर्नु भयो
गृहमन्त्री अर्यालले सेलको अवलोकन गर्नुका साथै त्यसबाट सम्पादन हुने काम, प्रयोग र उपयोगिताबारे विस्तृत जानकारी लिनुभएको थियो। उद्घाटन समारोहमा गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका पदाधिकारी तथा प्रहरी नायव महानिरीक्षकहरूको उपस्थिति रहेको थियो।
वर्तमान समयमा बढ्दै गइरहेको साइबर अपराध, गलत सूचना प्रसारण, संगठित आपराधिक सञ्जाल, वित्तीय अपराध तथा सामाजिक अस्थिरता सिर्जना गर्ने डिजिटल अभियान जस्ता गतिविधिले राष्ट्रिय सुरक्षा, अपराध अनुसन्धान, रोकथाम र नियन्त्रणमा थप चुनौती सिर्जना गरिरहेका छन्। यस्तो अवस्थामा आधुनिक प्रविधिमा आधारित विश्लेषण प्रणालीको प्रयोग अपरिहार्य बनेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
जनरेटिभ एआई, विशाल भाषा मोडेल, मेसिन लर्निङ, पूर्वानुमान विश्लेषण तथा स्वचालन प्रविधिमा आधारित विश्लेषण प्रणालीमार्फत सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउने उद्देश्यले उक्त उच्च प्रविधियुक्त, रणनीतिक तथा भविष्य उन्मुख संरचनाको स्थापना गरिएको हो।
प्रहरीका अनुसार एआई–एएसी स्थापनाका मुख्य उद्देश्यहरूमा कृत्रिम बुद्धिमत्ताको संस्थागत अवलम्बन र सुदृढीकरण, पूर्वसूचना तथा प्रारम्भिक चेतावनी प्रणाली विकास, सूचना–हेरफेर नियन्त्रण, साइबर तथा डिजिटल अपराध अनुसन्धान सुदृढीकरण, एआई–सहायता प्राप्त अनुसन्धान तथा डिजिटल प्रमाण प्रणाली विकास, एआईको दुरुपयोग पहिचान र प्रतिरक्षात्मक क्षमता विकास, साथै वर्णनात्मक, निदानात्मक, पूर्वानुमानात्मक र विश्लेषणात्मक प्रणालीको विस्तार रहेका छन्।
नेपाल प्रहरीले एआई सेलको प्रयोगमार्फत गलत तथा मिथ्या सूचना प्रसारणका पाँच वटा घटनामा संलग्न व्यक्तिहरूलाई बाँके, कञ्चनपुर, सुनसरी, सल्यान र दाङबाट नियन्त्रणमा लिई कानुनी कारबाही अघि बढाइसकेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्