रसुवा जिल्लामा रहेको श्रीनाथ गणले आसन्न निर्वाचन लक्षित सुरक्षामा कडाई गरिरहेको पाइएको छ । यही फाल्गुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष तथा भयरहीत वातावरणमा सम्पन्न गराउन जिल्लाभर सुरक्षा व्यवस्थामा विशेष कडाइ गरिएको श्रीनाथ गणले जनाएको छ ।
निर्वाचन सुरक्षाको समग्र व्यवस्थापनका लागि जिल्लाका संवेदनशील तथा अतिसंवेदनशील क्षेत्रहरूको पहिचान गरी आवश्यकतानुसार सुरक्षा जनशक्ति परिचालन गरिएको छ भने मुख्य बजार क्षेत्र, सदरमुकाम तथा घना बस्तीहरूका अतिरिक्त दुर्गम तथा विकट क्षेत्रहरुका गाउँबस्तीहरूमा समेत स्थानीय नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले नियमित पट्रोल सञ्चालन भइरहेको छ।
गणले पैदल, मोटरसाइकल तथा सवारी साधनमार्फत दिन तथा रात दुवै समयमा सुरक्षा कारबाहीलाई निरन्तरता दिएको छ। माघ २१ देखि जिल्लाका विभिन्न स्थानहरूमा निर्वाचन सुरक्षाका लागि व्यापक रूपमा परिचालन भई निगरानी तथा समन्वयात्मक गतिविधि सञ्चालन भइरहेको छ।

जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलसँग समन्वय गर्दै कुनै पनि प्रकारका अवाञ्छित गतिविधि हुन नदिन उच्च सतर्कता अपनाएको छ। आवश्यक परेमा तत्काल प्रतिकार्य गर्न सक्ने गरी तयारी अवस्थामा क्वीआरटीसहित सम्पूर्ण फौज तयारीअवस्थामा रहेको गणले जनाएको छ।
सेनाले सबै मतदातालाई निर्धक्क र उत्साहका साथ मतदान प्रक्रियामा सहभागी हुन अनुरोध गर्दै शान्ति, सुरक्षा तथा सद्भाव कायम राख्न सबै सरोकारवालाहरूलार्इ अनुरोध पनि गरेको छ।
प्रतिक्रिया दिनुहोस्