Advertisement GIF
भारत र नेपालका सशस्त्र प्रहरीको निर्वाचन केन्द्रीत समन्वय बैठक सम्पन्न

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलका बाहीनी स्तर (डिआईजी) को समकक्षी समन्वायात्मक बैठक भारतको उत्तराखण्डस्थित चम्पावतमा सम्पन्न भएको छ ।

समन्वयात्मक वैठकमा सशस्त्र प्रहरी बलको नम्बर ७ वैद्यनाथ वाहिनी मुख्यालय अत्तरियाका निमित्त वाहिनिपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदी आफ्नो प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भारतको चम्पावत पुग्ुन भएको थियो । बैठकमा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा सीमा क्षेत्रमा हुनसक्ने अबैध घुसपैठ, चोरी निकासी, लागु औषध ओसारपसार नियन्त्रण सम्बन्धि छलफल भएको छ ।

यही फाल्गुण २१ गते हुन गैरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा हुन सक्ने निर्वाचन बिरोधी कृयाकलाप, अवैध घुसपैठ रोक्न तथा मौन अवधिभर हुने सीमानाका सिलका सन्दर्भमा समन्वयात्मक रूपमा प्रभावकारी नतिजा प्राप्त गर्ने गरि कार्य गर्ने सम्बन्धिसमेत छलफल हुनुका साथै बैठकमा सीमा क्षेत्रमा हुनसक्ने अवैध गैरकानुनी गतिविधिहरुको सुक्ष्म निगरानी गर्दै सूचना आदानप्रदान एवं त्यस्ता गतिविधिहरुलाई पूर्ण नियन्त्रण गर्ने र विपद व्यवस्थापनका सन्दर्भमा समन्वय गरी विभिन्न प्रकृतिका विपद् सिमुलेशन अभ्यासहरु संचालन गर्ने सम्बन्धी छलफल भएको छ ।

बैठकमा निर्वाचनका समयमा सम्भावित सुरक्षा चुनौतीहरुलाई सम्बोधन गर्न सयुक्त र समानान्तर सीमा गस्तीलाई सशक्त बनाउने, सुरक्षा व्यवस्थालाई चुस्त एवं दुरुस्त पार्ने सम्बन्धमा समेत छलफल भएको सशस्त्रले जनाएको छ । सीमा क्षेत्रमा हुने अबैध गतिविधि, तेस्रो देशका नागरिकहरुको अनाधिकृत प्रवेश, लागूऔषध ओसारपसार, मानव बेचबिखन, जाली नोट कारोबार, हतियार तथा नगदको तस्करी नियन्त्रणका लागि निरन्तर एवं घनिष्ठ सहकार्य गर्नका लागि आ–आफ्ना मातहतका युनिटहरुलाई निर्देशन दिने सन्दर्भमा समेत छलफल भएको बताइन्छ ।

भारतीय सिमा सुरक्षा बल सेक्टर हेडक्वाटर अल्मोरा र पिलिभितका डिआइजी द्वय सुधान्सु नौटियाल र अनिलकुमार शर्मासहित सुदूरपश्चिम प्रदेशसँग सीमा क्षेत्रमा कार्यरत रहेका भारतीय समकक्षी सशस्त्र सीमा बलका सबै रेजिमेन्ट प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

नेपाली प्रतिनिधि मण्डलका सदस्यहरुमा सशस्त्र प्रहरी बल, नेपाल कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसी, कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देल, दार्चुलाका गणपति सशस्त्र प्रहरी उपरीक्षक गुणराज न्यौपाने, बैतडी र डडेल्धुराका गुल्मपतिहरु सशस्त्र प्रहरी नायब उपरीक्षकद्वय जङ्गबहादुर कुँवर र प्रकाशचन्द्र भट्टको सहभागिता रहेको नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालयका सूचना अधिकारी सशस्त्र प्रहरी उपरिक्षक लोकेन्द्र भट्टले जानकारी दिनु भयो ।