२०८३ सालको तिथिमिति र काठमाडौँ उपत्यकाका चाडपर्वका विषयमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य सचिव एवं कार्यकारी निर्देशक लक्ष्मण पन्थी, सदस्य रतिदेवी जोशी श्रेष्ठसहित पदाधिकारीबीच छलफल भएको छ । तिथिमितिका कारण पर्वहरु अघिल्लो दिन मनाउने कि पछिल्लो दिन मनाउने भन्ने विगत वर्षहरुका द्विविधा यस वर्ष दोहोरिन नदिन गरिएका प्रयत्न, महानगरपालिका र समितिबीचको सहकार्य छलफलका मुख्य विषय थिए ।
छलफलमा कार्यवाहक प्रमुख डंगोलले व्यवहारिक अभ्यासको दृष्टान्त दिँदै भन्नुभयो, ‘नेवार समुदायमा काठमाडौँ, भक्तपुर र ललितपुर एक ठाउँबाट विवाह भएर अर्को ठाउँ गएकी छोरीको घरमा पर्व सुरु हुँदा माइतीमा सकिने वा माइतीमा सुरु हुँदा घरमा सकिने अवस्थाले समस्या भोग्नु परेको अनुभव छ । पर्वले पारिवारिक र सामाजिक सद्भाव जोड्नु पर्नेमा यहाँ र त्यहाँ भन्ने भाव उत्पन्न भएको पाइएको छ । यस्ता विषयहरुमा पञ्चाङ्ग निर्णायक समितिले व्यवहारिक समाधान दिनुपर्छ ।’ चाडपर्वले परिवार र समुदायलाई विभाजन नगरोस् भन्ने उहाँको भनाइ छ।
समितिले विगतमा अनुभूति गरिएका समस्याको समाधानका लागि यस वर्ष समुदाय र पर्वको निर्णय दिने व्यक्तित्वहरुसँग पर्व परम्पराका विषयमा छलफल चलाएको छ । कुराकानीका क्रममा समितिका सदस्य सचिव एवं कार्यकारी निर्देशक पन्थीले भन्नुभयो, ‘पर्व परम्परालाई एकरुपता दिन विगत वर्षहरुमा नसमेटिएका देशभरिका करिब २५ वटा पर्व यस वर्ष समेटेका छौँ । विगतमा विवाद देखिएका अवस्थाका विषयमा छलफल चलाएका छौँ ।’
समितिका सदस्य जोशी श्रेष्ठले, काठमाडौँ उपत्यकाभित्रका पर्व र तिथिमितिका विषयमा विभिन्न समुदायबिच अन्तरक्रिया गरिएको जानकारी दिनुभयो ।
इस्वी संवत् अर्थात् ग्रेगोरियन क्यालेन्डर सौर्य चक्रमा आधारित हुन्छ । यसमा ३६५ दशमलव २५ दिनको एक वर्ष हुन्छ । फेब्रुअरी बाहेकका महिना ३० वा ३१ दिनका हुन्छन् ।
विक्रम संवत् चन्द्रमास र सौर्य चक्र दुवैको संयोजनमा आधारित लुनी सोलर क्यालेण्डरमा आधारित छ । नेपाल संवत चन्द्रमासको प्रतिपदा तिथिमा आधारित हुन्छ । यसका महिनाहरु चन्द्रमाको गतिका आधारमा २९ देखि ३२ दिनसम्मका हुन्छन् । हरेक वर्षमा एउटा अधिकमास थपेर सौर्य चक्रसँग तालमेल गराउने गरिन्छ ।
नेपालको मौलिक संवत् नेपाल संवत्, राजा राघवदेवको राज्यकालमा सुरु भएको लिच्छवी संवत् ८०२ समाप्त भएपछि अर्थात लिच्छवी संवत् ८०३ हुनुपर्ने ठाउँमा त्यसो नभई पुनः १ बाट नयाँ संवत् नै सुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस्