राजधानी काठमाडौंको पशुपतिनाथ मन्दिरनजिकै यस्तो एक विद्यालय छ, जहाँ बस्न, खानदेखि निःशुल्क पाठ्यपुस्तक र पठनपाठन गराइन्छ । जसको स्रोत भनेको मनकारी मानिसहरुका मन नै हुन् ।
यस्तो विद्यालयको नाम हो, बाल सारथी । यो विद्यालयमा अहिलेसम्म सयौैले पठनपाठन गरेर आफ्नो गन्तव्य बनाइसकेका छन् । २०६१ देखि पढ्न थालेका बालबालिकाहरु अहिले स्नातक तह उतीर्ण भइसकेका छन् । यो विद्यायमा पशुपतिनाथ मन्दिर र आसपासको क्षेत्रमा रहने सडक बालबालिकादेखि गरिव, माग्ने र अति बिपन्नहरु पढ्छन् । बस्ने स्थान नभएकाहरु यही विद्यालमा बस्ने पनि गरेका छन् ।
सडक बालबालिकाको बिषयमा जानकार डा माला खरेलको सपनामा यो विद्यालय स्थापना भएको हो । सुरुमा बाल सारथी गैरसरकारी संस्थाको रुपमा स्थापना भएको यो विद्यालय अहिले बाल सारथी एकेडेमिको रुपमा परिचित छ ।

विद्यालयकी संस्थापक अध्यक्ष डा माला खरेल
अहिले यहाँ करिव १ सय जना बिद्यार्थीले पूर्वप्राथमिकदेखि कक्षा ५ सम्म पठनपाठन गरिरहेका छन् ।कक्षा ५ उतीर्ण गरेपछि भने यी विद्यार्थीलाई नजिकको विद्यालयमा लगेर भर्ना गरिँदै आएको विद्यालयकी संस्थापक अध्यक्ष डा माला खरेल बताउनु हुन्छ ।
यहाँ यी बालबालिकाको रेखदेख गर्नेदेखि पठनपाठन गराउने ९ जनाको समूह छ । प्रिन्सिपल र दुई जना सहयोगीसमेत यी ९ जनामध्ये अधिकांश स्वयम्सेवी छन् ।‘केहीलाई भने अति न्यून पारिश्रमिक दिएका छौं ।’–डा खरेलले भन्नु भयो ।
सुरुमा यो विद्यालयमा गौशालादेखि पठनपाठन थालिएको थियो । त्यसपछि भवन र पठनपाठनका लागि उपयुक्त स्थान खोज्दैजाँदा तिलगंगा, गुहेश्वरी, जयबागेश्वरीमा पनि पठनपाठन गराएको डा खरेलको भनाइ छ । अहिले काठमाडौं–८, पञ्चकन्या टोेलमा विद्यालय सञ्चालित छ ।

यहाँ जन्मोत्सवका दिन, आफन्तहरुको पूण्यतिथि र शुभ अवसरहरुमा मनकारीहरुले दिने दान नै यो विद्यालय सञ्चालनको मुख्य आधार हो । यस्तै केही व्यापारिक घराना र प्रतिष्ठानहरुले सामाजिक दायित्वअन्तर्गत केही सहयोग गर्छन् । जसबाट विद्यालयका विद्यार्थीले खान, बस्नदेखि पठनपाठनको सुविधा पाइरहेका छन् ।
अस्मिता सुमार्गी हाल बाल सारथी संस्थाको अध्यक्ष हुनुहुन्छ । उहाँले विद्यालयका लागि भवन निः शुल्क उपलब्ध गराउनु भएको छ । जसका कारण घर भाडा तिर्नु पर्दैन ।यसले पनि विद्यालय सञ्चालनमा ठूलो सहयोग मिलेको डा खरेल बताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्