Advertisement GIF
महिला उद्यमीको सक्रिय भूमिका : प्राकृतिक रेशा क्षेत्र प्रवर्द्धनमा प्यानल छलफल

९औं अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको अवसरमा आयोजित Unlocking Nepal’s Natural Fibre Economy प्यानल छलफलमा महिला उद्यमीहरूको सक्रिय सहभागिता देखियो। महिला उद्यमी महासंघ नेपालले आयोजना गरेको यस सत्रमा प्यानलका वक्ताहरूले प्राकृतिक रेशा क्षेत्रका अवसर, चुनौती तथा बजार विस्तारका उपायबारे गहन विचारविमर्श गरे।

प्यानलमा प्रमुख वक्ताहरू राजेन्द्रसिंह राई, उपाध्यक्ष, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, रिता सिंह प्राकृतिक रेशा विज्ञ तथा महासंघकी पूर्व अध्यक्ष, पवन रिजाल एनडिएका प्रतिनिधि र प्रेमकुमारी पुन प्राकृतिक रेशाजन्य सामग्री उत्पादक तथा उद्यमी रहनु भएको थियो । यसको सहजकर्ताको भूमिकामा सुमन शाक्य रहनु भएको थियो ।

प्यानल छलफलमा विशेष गरी अल्लो, कपास, हेम्प, फेल्ट, पश्मिना, रेशम, केरा फाइबर र ढाका जस्ता प्राकृतिक रेशाजन्य उत्पादनको महत्व र प्रवर्द्धनबारे चर्चा भयो। वक्ताहरूले उत्पादन र प्रशोधनका चुनौतीहरू, जस्तै गुणस्तर सुनिश्चित गर्न कठिनाइ, आधुनिक मेसिनरी र प्राविधिक ज्ञानको अभाव, सीमित प्रशोधन क्षमता र उच्च लागतका विषयमा प्रकाश पार्नु भएको थियो ।

छलफलमा स्थानीय सीप संरक्षणको महत्वमा जोड दिइयो। प्यानलले महिला उद्यमीहरूको भूमिकालाई विशेष मान्यता दिंदै उनीहरूले परम्परागत हस्तकला र सीपहरू जगेर्ना गर्दै उत्पादनको मौलिकता र गुणस्तर कायम राख्ने काम गरेको धारणा सुनाएका थिए ।

महिला उद्यमीहरूको आय आर्जनमा योगदान पनि मुख्य विषय थियो। उनीहरूले घरेलु उत्पादनलाई बजारसम्म पुर्‍याएर परिवार र समुदायको आयमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन्। यसले स्थानीय रोजगारी सिर्जना र महिला सशक्तिकरणमा प्रत्यक्ष प्रभाव पारेको प्यानलले उल्लेख गर्यो।

महासंघले विगतदेखि नै प्राकृतिक रेशाजन्य उत्पादन प्रवर्द्धन, महिला उद्यमीहरूको सशक्तिकरण र बजार पहुँच विस्तारमा विभिन्न पहलहरू गर्दै आएको महासंघी अध्यक्ष दर्शना श्रेष्ठले बताउनु भयो । उहाँले प्यानल छलफलले उद्योगलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउने उपाय, बजारसम्म पहुँच बढाउने रणनीति, र महिला उद्यमीहरूको सहभागिता सुनिश्चित गर्ने नयाँ आयामहरू पहिचान गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नु भयो ।

प्यानलमा उठाइएका सुझाव, अनुभव र विचारहरूले नेपालमा प्राकृतिक रेशा क्षेत्रको दिगोपन, आर्थिक सम्भावना र नवप्रवर्तनमा नयाँ दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ। ९औं अन्तर्राष्ट्रिय महिला व्यापार मेला २०२६ को अवसरमा आयोजना गरिएको यो प्यानल छलफल कार्यक्रममा सहभागीलाई महासंघकी अध्यक्ष श्रेष्ठले स्वागत गर्नु भएको थियो ।

महिला उद्यमी महासंघ नेपालले विगतदेखि नै प्राकृतिक रेशाजन्य उत्पादनको प्रवर्द्धन, महिला उद्यमीहरूको सशक्तिकरण तथा बजार पहुँच विस्तारका लागि विभिन्न पहलहरू गर्दै आएको छ। प्यानल छलफलमा सहभागी वक्ताहरूबाट प्राप्त हुने विचार, अनुभव र सुझावहरूले यस क्षेत्रको विकासका लागि नयाँ दिशा प्रदान गर्ने महासंघले जनाएको छ ।