मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै देशभर मौसममा उल्लेख्य बदली आउने र वर्षा, हिमपातसहित हुरी–बतासको जोखिम बढेको जनाएको छ।
महाशाखाका अनुसार अहिले सुदूरपश्चिमसहित पहाडी र हिमाली क्षेत्रमा बदली छ भने केही स्थानमा वर्षा र हिमपात सुरु भइसकेको छ। विशेषगरी बागमती, गण्डकी र कोशी प्रदेशका उच्च भू–भागमा मेघगर्जन तथा चट्याङसहित वर्षा भइरहेको छ।
आज (शुक्रबार) दिउँसोदेखि मौसम थप सक्रिय हुने अनुमान गरिएको छ। हिमाली क्षेत्रमा व्यापक बदली रहनेछ भने पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा हुने सम्भावना छ। यसको असर तराई क्षेत्रमा समेत पर्ने र केही स्थानमा पानी पर्ने महाशाखाले जनाएको छ।
रातिको समयमा पनि मौसम पूर्ण रूपमा सुधार नहुने देखिएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा जारी रहने सम्भावना छ भने कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा पनि मौसम प्रतिकूल रहनेछ।
महाशाखाले विशेषगरी पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्ने, कृषि कार्य गर्ने तथा खुला स्थानमा रहने सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। चट्याङ, हुरी तथा असिनाबाट क्षति हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन समेत सुझाव दिइएको छ।
प्रतिक्रिया दिनुहोस्