Advertisement GIF

महासंघमा नयाँ, युवा तथा ग्रामीण महिला उद्यमीहरूको प्रतिनिधित्व कति छ भन्ने प्रश्नले संस्थाको समावेशितामाथि ध्यानाकर्षण गराउँछ। दीर्घकालीन रूपमा संस्था प्रभावकारी बन्न नेतृत्वको विविधता र खुलापन अपरिहार्य देखिन्छ। गाउँ र टोलदेखिका उद्यमी महिलाहरु सबैलाई संगठित गर्दै समान अवसर दिनु पर्ने वाध्यता पछिल्लो कार्यसमितिलाई छ । जसलाई कार्यान्वयन चरणमा लान सकेको खण्डमा उद्यमी महिलाहरु थप हौसला पाएर प्रगतिपथमा लम्किने नै छन् ।

अबको चुनौती केवल कार्यक्रम सञ्चालन होइन, तिनको प्रभावकारिता प्रमाणित गर्नु देखिन्छ । डाटा, अनुगमन र स्वतन्त्र मूल्यांकन बिना कुनै पनि उपलब्धि दिगो मान्न सकिँदैन । त्यसैले पनि महिला उद्यमीहरुलाई उत्पादनमा आधुनिक प्रविधिदेखि पछिल्लो सूचना प्रविधिसम्मको ज्ञान र सीप दिन सक्नु पर्छ ।

दुई दशक लामो यात्रामा महिला उद्यमी महासंघ नेपालले महिला उद्यमशीलताको क्षेत्रमा महत्वपूर्ण आधार तयार गरेकोमा सन्देह छैन। तर, अबको चरणमा संस्थाले पारदर्शिता, समावेशिता र मापनयोग्य प्रभावमा ध्यान केन्द्रित गर्न सकेमात्र यसको भूमिका अझ सशक्त र विश्वसनीय बन्ने देखिन्छ। यसतर्फ दर्शना श्रेष्ठको नेतृत्वमा रहेको हालको महासंघका नेतृहरुले मिहिन तरिकाले अध्ययन गर्दै आवश्यकताको पहिचान र त्यसको कार्यान्वयनमा समग्र महिला उद्यमीको हितमा आजैबाट काम थाल्नु पर्छ ।

-सुरेन्द्र सुवेदी

नेपालमा महिला उद्यमशीलताको प्रतिनिधि संस्थाका रूपमा स्थापित महिला उद्यमी महासंघ नेपालले दुई दशकभन्दा लामो समयदेखि महिला आर्थिक सशक्तीकरणको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। संस्थाले आफ्ना गतिविधिमार्फत ७७ जिल्लाकै हजारौं महिला उद्यमीलाई व्यवसायमा ल्याएको छ र योक्रम अझै पनि निरन्तर चलिरहेको पाइन्छ ।

महासंघको स्थापना सीमित स्रोतसाधन र केही अग्रसर महिलाहरूको पहलमा भएको थियो। प्रारम्भमा काठमाडौंकेन्द्रित गतिविधि विस्तारै देशभर फैलिएको छ । ग्रामीण र दुर्गम क्षेत्रका महिला उद्यमी अझै पनि संरचनागत रूपमा पछाडि रहेको विभिन्न अध्ययनहरूले देखाउने गरेका छन्। ‘कार्यक्रमहरू छन्, तर सबैसम्म समान रूपमा पुग्दैनन्,’ एक सफलताको मार्गमा चढ्दै गरेकी महिला उद्यमी भन्छिन्, ‘विशेषगरी राजधानी बाहिरका लागि पहुँच अझै चुनौतीपूर्ण छ।’ ग्रामीण विकटता, ढुवानी, सञ्चार, भण्डारण, उचित बजारजस्ता कारणले राजधानीबाहिरका उद्यमीलाई राजधानीमा जस्तो सहजता हुन सक्दैन । यो असहजता पनि राजधानी बाहिरका महिला उद्यमीका लागि चुनौति बनिरहेको छ ।

संस्थाको सबैभन्दा चर्चित कार्यक्रम अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हो, जसलाई महिला उद्यमीका लागि बजार विस्तारको महत्वपूर्ण माध्यमका रूपमा प्रस्तुत गरिन्छ। महासंघका पदाधिकारीहरूका अनुसार यस्ता मेलाले स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सहयोग गरेको छ।

महासंघले विगत २२ वर्षदेखि महिला उद्यमशीलताको क्षेत्रमा निरन्तर काम गर्दै आएको छ। देशका ७७ वटै जिल्लामा सञ्जाल विस्तार गर्दै ५ हजार ७ सय भन्दा बढी महिला उद्यमीलाई सदस्यतामा आबद्ध गरिसकेको महासंघबाट करिब १ लाखभन्दा बढीले अप्रत्यक्ष लाभ लिइरहेका छन्। यही अनुभव र नेटवर्कलाई आधार बनाएर महासंघले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला आयोजना गरिरहेको छ । यो मेलाले महिला उद्यमीको हिम्मत तथा आँट बढेर थप हौसला मिल्ने गरेको पाइन्छ ।

यो व्यापार मेला महिला उद्यमीहरूले उत्पादन गरेका वस्तु तथा सेवाहरूको प्रदर्शन, प्रवर्द्धन र बिक्री का लागि प्रभावकारी प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले आयोजना गरिन्छ । विशेषगरी ग्रामीण तथा जिल्लास्तरका महिला उद्यमीहरूले उत्पादन गरेका स्थानीय तथा मौलिक वस्तुहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसँग जोड्नु यसको प्रमुख लक्ष्य हो। यो लक्ष्यअनुसार नै बढीभन्दा बढी ग्रामीण क्षेत्रका महिला उद्यमीलाई मेलामा सहभागी गराउने रणनीति महासंघले लिने गरेको बताइन्छ ।

सीप विकास तथा तालिम कार्यक्रमहरूलाई पनि महासंघले आफ्नो प्रमुख उपलब्धिको रूपमा प्रस्तुत गर्ने गरेको छ। हस्तकला, कपडा, खाद्य प्रशोधन र डिजिटल मार्केटिङसम्बन्धी तालिमहरू सञ्चालन गरिने भएपनि तालिमपछि व्यवसाय सुरु गर्ने वा विस्तार गर्ने महिलाको संख्या कति छ भन्ने विश्वसनीय तथ्यांक संकलन गरेको पाइन्न । जानकारहरुका अनुसार तालिममात्र पर्याप्त हुँदैन, त्यसको पछिल्लो चरण वित्तीय पहुँच र बजार जोडाइ झन् महत्वपूर्ण हुन्छ। यो तर्फ पनि महासंघको नेतृत्वले ध्यान दिनु जरुरी छ ।

नीतिगत तहमा महासंघले सरकारसँग सहकार्य गर्दै महिला उद्यमीमैत्री वातावरण निर्माणमा योगदान दिँदै आएको छ । कर्जा पहुँच सहज बनाउन, करमा सहुलियत र साना उद्यम प्रवर्द्धनका विषयमा आवाज उठाउने गरेको देखिन्छ । तर, यस्ता पहलहरूको प्रत्यक्ष लाभ कति महिला उद्यमीसम्म पुगेको छ भन्ने विषयमा स्पष्टता छैन । सरकारी निकाय र निजी क्षेत्रबीच समन्वयमा अझै सक्रिय भएर काम गर्नु पर्ने देखिन्छ ।

महासंघले प्रस्तुत गर्ने उपलब्धिहरू उल्लेखनीय देखिन्छन्, हजारौं महिला उद्यमीलाई व्यवसायमा ल्याउने, घरेलु उद्योगलाई व्यवसायिक बनाउने र आयआर्जनका अवसर सिर्जना गर्ने। विशेषगरी ढाका, हस्तकला, प्राकृतिक फाइबर र खाद्य उत्पादन क्षेत्रमा महिला सहभागिता बढेको देखिन्छ। तर, यथार्थमा धेरै महिला अझै वित्तीय संस्थासम्म सहज पहुँच, प्रतिस्पर्धी बजारमा टिक्ने क्षमता र आधुनिक प्रविधिको प्रयोगमा सीमित छन्।

सरकारी स्रोत र अनुदानको वितरणमा पारदर्शिताको अभावबारे पनि प्रश्न उठ्ने गरेका छन्। सरकारी तथा स्थानीय तहबाट व्यवसायीहरु कसरी छनोट हुन्छन्, कसले कति लाभ लिन्छन्, र त्यसको अनुगमन कसरी गरिन्छ भन्ने विषयमा सार्वजनिक गरिएका सूचना पढ्न र देख्न पाइन्न । सरकार र महासंघले सहकार्य गर्दै संस्थागत पारदर्शिता बढाउन सकेमा विश्वास अझ मजबुत बन्दै जान्छ नै ।