Advertisement GIF

गणतन्त्रले तोरीबारीलाई फुलबारीमा रूपान्तरण गरेको छ। यही नै गणतन्त्रको वास्तविक सार हो। जसले हिजो राज्यबाट बहिष्कृत नागरिकलाई आज बोल्ने अधिकार दिएको छ, पहिचानविहीन समुदायलाई अस्तित्वको अनुभूति गराएको छ, र सत्ताको ढोका बन्द गरिएका वर्गलाई निर्णय प्रक्रियासम्म पुर्‍याएको छ। अहिले राज्यसत्तामा देखिएका विविध अनुहार स्वयं गणतन्त्रको सुन्दर उपलब्धि हो। यो परिवर्तन कुनै संयोग होइन, जनआन्दोलन र समावेशी चेतनाको प्रतिफल हो।

तर, गणतन्त्र केवल प्राप्त गर्ने विषय होइन, यसलाई सुदृढ गर्दै जनताको जीवनसँग जोड्ने जिम्मेवारी अझ ठूलो छ। व्यवस्था परिवर्तन भए पनि जनताको दैनिक जीवनमा परिवर्तनको अनुभूति पर्याप्त हुन नसकेको गुनासो अझै बाँकी छ। बेरोजगारी, भ्रष्टाचार, राजनीतिक अस्थिरता, आर्थिक असमानता र अवसरमाथिको पहुँचको विभेदले गणतन्त्रमाथि नै प्रश्न उठाउने वातावरण सिर्जना गरिरहेको छ। यही कमजोरीलाई टेकेर प्रतिगामी सोचहरू फेरि टाउको उठाउन खोजिरहेका छन्।

–लाजेहाङ

नेपालको राजनीतिक इतिहास केवल शासन परिवर्तनको कथा होइन, यो जनताको पसिना, आँसु, रगत र अदम्य साहसले लेखिएको परिवर्तनको महागाथा हो। हजारौँ ज्ञात–अज्ञात वीर शहीदहरूको बलिदान, बेपत्ता योद्धाहरूको पीडा, घाइते संघर्षशील योद्धाहरूको साहस र करोडौँ नेपाली जनताको लामो, कठोर तथा वीरतापूर्ण आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र आज आफ्नो १९औँ वर्षमा प्रवेश गरेको छ।

यस ऐतिहासिक अवसरमा सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै, बेपत्ता तथा घाइते योद्धाहरूमाथि उच्च सम्मान प्रकट गर्नु केवल औपचारिकता होइन, यो हाम्रो राजनीतिक चेतनाको नैतिक दायित्व हो। किनकि गणतन्त्र कुनै दरबारको उपहार होइन, यो जनताको संघर्षबाट जन्मिएको व्यवस्था हो।

नेपालमा गणतन्त्र स्थापना हुनु भनेको केवल राजसंस्थाको अन्त्य हुनु मात्र थिएन। यो नेपाली समाजभित्र शताब्दीऔँदेखि जरा गाडेर बसेको एकात्मक सोच, विभेदकारी संरचना र सीमित वर्गको वर्चस्वमाथिको ऐतिहासिक प्रहार थियो। गणतन्त्रले राज्यलाई दरबारको चौघेराबाट निकालेर जनताको आँगनमा ल्यायो। यही कारण आज सिंहदरबारको अधिकार गाउँसम्म पुगेको छ। पहिला राज्यको अनुहार केही सीमित समुदाय र शक्तिकेन्द्रभित्र मात्र देखिन्थ्यो, आज त्यो बिस्तारै बहुल समाजको प्रतिनिधित्वतर्फ उन्मुख हुँदैछ।

गणतन्त्रले तोरीबारीलाई फुलबारीमा रूपान्तरण गरेको छ। यही नै गणतन्त्रको वास्तविक सार हो। जसले हिजो राज्यबाट बहिष्कृत नागरिकलाई आज बोल्ने अधिकार दिएको छ, पहिचानविहीन समुदायलाई अस्तित्वको अनुभूति गराएको छ, र सत्ताको ढोका बन्द गरिएका वर्गलाई निर्णय प्रक्रियासम्म पुर्‍याएको छ। अहिले राज्यसत्तामा देखिएका विविध अनुहार स्वयं गणतन्त्रको सुन्दर उपलब्धि हो। यो परिवर्तन कुनै संयोग होइन, जनआन्दोलन र समावेशी चेतनाको प्रतिफल हो।

तर, गणतन्त्र केवल प्राप्त गर्ने विषय होइन, यसलाई सुदृढ गर्दै जनताको जीवनसँग जोड्ने जिम्मेवारी अझ ठूलो छ। व्यवस्था परिवर्तन भए पनि जनताको दैनिक जीवनमा परिवर्तनको अनुभूति पर्याप्त हुन नसकेको गुनासो अझै बाँकी छ। बेरोजगारी, भ्रष्टाचार, राजनीतिक अस्थिरता, आर्थिक असमानता र अवसरमाथिको पहुँचको विभेदले गणतन्त्रमाथि नै प्रश्न उठाउने वातावरण सिर्जना गरिरहेको छ। यही कमजोरीलाई टेकेर प्रतिगामी सोचहरू फेरि टाउको उठाउन खोजिरहेका छन्।

तर इतिहासले प्रमाणित गरिसकेको छ कि जनताको चेतनाभन्दा ठूलो कुनै शक्ति हुँदैन। गणतन्त्रको विकल्प अझ बढी लोकतन्त्र, अझ बढी समावेशिता र अझ बढी जनउत्तरदायी शासन व्यवस्था हो। त्यसैले अबको मुख्य कार्यभार संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ संस्थागत र जनमुखी बनाउँदै अघि बढ्नु हो।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समुदायहरूको साझा फूलबारी हो। यही विविधता नेपालको शक्ति हो, कमजोरी होइन। अबको राजनीतिक बहस केवल सत्ता परिवर्तनमा सीमित हुनु हुँदैन; राज्यको चरित्रलाई साँच्चिकै बहुल राष्ट्रिय लोकतन्त्रमा रूपान्तरण गर्ने दिशामा केन्द्रित हुनुपर्छ। समावेशी लोकतन्त्रबाट बहुल राष्ट्रिय लोकतन्त्रतर्फको यात्रा अबको ऐतिहासिक आवश्यकता हो।

बहुल राष्ट्रिय लोकतन्त्र भनेको कसैलाई विभाजन गर्ने अवधारणा होइन, बरु सबै समुदायको सम्मानजनक सहअस्तित्व सुनिश्चित गर्ने राजनीतिक दर्शन हो। जहाँ कुनै भाषा सानो हुँदैन, कुनै संस्कृति कमजोर हुँदैन, कुनै समुदाय दोस्रो दर्जाको नागरिक हुँदैन। राज्यले सबैको पहिचान, इतिहास, संस्कृति र अस्तित्वलाई समान सम्मानका साथ स्वीकार गर्ने व्यवस्था नै वास्तविक लोकतन्त्रको उच्चतम रूप हो।

नेपाललाई स्वदेशीय प्रज्ञाको केन्द्र बनाउने सपना पनि यही बहुल राष्ट्रिय सोचभित्र सम्भव छ। हाम्रो मौलिक सभ्यता, आदिवासी ज्ञान, स्थानीय संस्कार, भाषा र सांस्कृतिक चेतनालाई राज्यको मूलधारसँग जोड्न सकियो भने नेपाल विश्वसामु एउटा अद्वितीय उदाहरण बन्न सक्छ। विदेशी मोडेलको अन्धानुकरण होइन, आफ्नै माटो, आफ्नै इतिहास र आफ्नै सभ्यतामाथि उभिएको राजनीतिक दर्शनले मात्र राष्ट्रलाई दीर्घकालीन दिशा दिन सक्छ।

आज गणतन्त्र दिवस मनाइरहँदा सबैभन्दा महत्त्वपूर्ण प्रश्न यही हो– के हामीले शहीदहरूको सपना पूरा गरिरहेका छौँ? यदि गणतन्त्र केवल सत्ता परिवर्तनमा सीमित भयो भने त्यो अधुरो हुनेछ। गणतन्त्रको सफलता तब मात्र प्रमाणित हुन्छ, जब देशको कुनाकाप्चामा बसेको नागरिकले राज्य आफ्नो भएको अनुभूति गर्छ।

त्यसैले आजको आवश्यकता गणतन्त्रको रक्षा मात्र होइन, यसको गहिराइलाई अझ व्यापक बनाउनु हो। लोकतन्त्रलाई अझ समावेशी, न्यायपूर्ण र बहुल राष्ट्रिय चरित्रयुक्त बनाउँदै नेपाली समाजलाई नयाँ उचाइमा पुर्‍याउनु नै अबको राजनीतिक कार्यभार हो।

जनताको बलिदानबाट जन्मिएको गणतन्त्रलाई जनताकै सपना अनुसार अगाडि बढाउनु नै शहीदहरूप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ।