सामाजिक क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका कमल सुवेदीले दाङ–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै शक्तिशाली राजनीतिक प्रतिस्पर्धीहरूलाई पछि पार्दै ऐतिहासिक जित हासिल गरेका छन् ।
३८ वर्षीय सुवेदीले पूर्वसिँचाइ मन्त्री दीपक गिरी, लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री धनबहादुर मास्की र तुलसीपुर उपमहानगरपालिकाका पूर्वप्रमुख तथा एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डेलाई पराजित गर्दै पहिलोपटक संसदीय यात्रा तय गरेका हुन् । पश्चिम दाङको प्रतिनिधित्व गर्दै उनले जिल्लाका स्थापित राजनीतिक शक्तिहरूलाई पछि पार्दै अप्रत्याशित जित निकालेका हुन् ।
उनका मुख्य प्रतिस्पर्धी दीपक गिरी २०७९ मा सुवेदीलाई पराजित गरेका नेता हुन् । गिरी २०५१, २०६४ र २०७४ मा यही क्षेत्रमा पराजित भए पनि २०७० मा विजयी भई सिँचाइ मन्त्रीसम्म भएका थिए । यसपटक सुवेदीले २०७९ को हारको बदला लिँदै गिरीलाई पराजित गरेका छन् ।
एमाले नेता घनश्याम पाण्डे २०५४ मा तुलसीपुर नगर उपप्रमुख, २०७४ मा तुलसीपुर उपमहानगर प्रमुख निर्वाचित भएका थिए । उनी २०७९ मा प्रदेशसभा सदस्य निर्वाचनमा पराजित भएका थिए भने यसपटक संघीय संसद प्रवेश गर्ने अवसर सुवेदीसँग हारेका छन् ।
यस्तै नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्की प्रदेशसभा सदस्यबाट राजीनामा दिएर संघीय निर्वाचनमा होमिएका थिए । उनी २०७९ मा प्रदेशसभा सदस्यमा २२ हजार ३ सय ६२ मत प्राप्त गरी निर्वाचित भएका थिए र लुम्बिनी प्रदेशको अर्थमन्त्री समेत बनेका थिए । तर यसपटक संघीय संसदको दौडमा उनी सफल हुन सकेनन् ।

दाङको दङ्गीशरण–४, मौलीमा २०४४ मंसिर १६ गते सामान्य किसान परिवारमा जन्मिएका सुवेदीको बाल्यकाल संघर्षपूर्ण रह्यो । आमाको सानै उमेरमा निधन भएपछि उनले जीवनका कठिन अनुभवलाई नै प्रेरणाको स्रोत बनाएको बताइन्छ ।
लक्ष्मीनारायण प्राथमिक विद्यालय र वीरेन्द्र माध्यमिक विद्यालय, हेकुलीबाट प्रारम्भिक शिक्षा हासिल गरेका सुवेदीले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् । त्यसपछि क्यानडा सरकारको पूर्ण छात्रवृत्तिमा सेन्ट फ्रान्सिस जेभियर विश्वविद्यालयबाट डेभलपमेन्ट लिडरसिपमा डिप्लोमा गरेका उनले ४५ भन्दा बढी देशको विकास अभ्यास नजिकबाट अध्ययन गरेका छन् ।
सामाजिक अभियानमा लामो समय सक्रिय सुवेदीले युवा सशक्तिकरण, सुशासन र नीतिगत सुधारका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन् । एक दशकभन्दा बढी समय युवा गैरसरकारी संस्था महासंघको नेतृत्व गरेका उनले हजारौँ युवालाई स्वदेशमै अवसर खोज्न प्रेरित गरेका छन् ।
उनी युवा मन्त्रालय, युवा परिषद र ‘युथ भिजन २०२५’ निर्माणमा समेत सक्रिय भूमिका खेलेका व्यक्ति हुन् । जलवायु परिवर्तन र वातावरण संरक्षणका विषयमा नीति निर्माण तहमा समेत निरन्तर संवाद गर्दै आएका सुवेदी राजनीति सेवाको माध्यम भएको बताउँछन् ।
उनले आफ्नी दिवंगत आमाको स्मृतिमा स्थापना गरेको ‘विष्णुदेवी फाउन्डेसन’ मार्फत निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएका छन् । २०७२ को भूकम्प र कोभिड–१९ महामारीका समयमा उनी प्रत्यक्ष रूपमा राहत तथा उद्धार कार्यमा सक्रिय रहेका थिए ।

पश्चिम दाङमा सामुदायिक रेडियो हापुरे स्थापना गरेर सूचना प्रवाहमा योगदान दिएका सुवेदी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेका थिए र १५ हजार ३ सय २६ मत प्राप्त गरेका थिए । रास्वपाको स्थापनाकालदेखि नै केन्द्रीय प्रशिक्षण विभाग सचिवका रूपमा सक्रिय रहेका सुवेदी अन्ततः दोस्रो प्रयासमा संसद प्रवेश गर्न सफल भएका छन् । उनले राजनीतिलाई सेवा गर्ने माध्यमका रूपमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
-सुरेन्द्र सुवेदी/काठमाडौं
प्रतिक्रिया दिनुहोस्