निर्माण व्यवसायको क्षेत्रमा दीर्घ अनुभव र सफलताको उदाहरण प्रस्तुत गर्दै आउनु भएका रमेशप्रसाद सुवेदी एक प्रतिष्ठित व्यवसायी तथा समाजसेवी व्यक्तित्वका रूपमा स्थापित हुनुहुन्छ। म्याग्दी जिल्लाको बेनी नगरपालिका–९, तिनमान्य (तिनमाने नाम भउकोमा हाल तिनमान्य) मा २०१० साल कार्तिक २९ गते शनिबार जन्मिनु भएका सुवेदी स्वर्गीय प्रमानन्द सुवेदी र स्वर्गीय जयन्तीदेवी सुवेदीका सुपुत्र हुनुहुन्छ।
शैक्षिक रूपमा व्यवस्थापन विषयमा अध्ययन गर्नुभएको सुवेदीले त्रिभुवन विश्वविद्यालयअन्तर्गत शंकरदेव क्याम्पसबाट सन् १९७६– १९७७ मा स्नातक अध्ययन पूरा गर्नुभएको छ। २०२६ सालमा काठमाडौं आउनु भएका उहाँ हाल काठमाडौं महानगरपालिका–१३, गाइाबच्छापाटी, ताहाचलमा बसोबास गर्दै आउनु भएको छ।
पढाइपछि २०३१ सालमा शर्मा एण्ड कम्पन मा प्रवेश गर्नु भएका सुवेदीले विभिन्न जिम्मेवारीसँगै अनुभवहरु सँगाल्नुभएको छ। हाल सोही कम्पनीका निर्देशकका रूपमा कार्यरत रहँदै निर्माण क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको छ।
निर्माण व्यवसायमा देखिएका समस्याबारे सुवेदी स्पष्ट धारणा राख्नुहुन्छ। उहाँका अनुसार सरकारी तहबाट नीतिगत निर्णय समयमै नहुनु, मूल्यवृद्धिका कारण बढ्दो आर्थिक भार, निर्माण सामग्रीको अभाव, प्रशासनिक झन्झट, प्राविधिक कर्मचारी तथा दक्ष कामदारको कमी, साथै आयोजनाबाट समयमा बिल भुक्तानी नहुनुजस्ता समस्याले निर्माण व्यवसायलाई प्रभावित बनाइरहेको छ। यी सबै कमजोरी सुधार हुनु अत्यन्त आवश्यक रहेको उहाँको भनाइ छ।

व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि सुवेदीको सक्रियता उल्लेखनीय रहेको छ। म्याग्दी क्याम्पस बेनीमा स्थापना क्रममा काठमाडौंमा चन्दा संकलन समितिमा रही योगदान दिनुभएका सुवेदी गलेश्वर विराट महोत्सव– २०६५ को मूल समिति तथा काठमाडौं आर्थिक संकलन समितिमा समेत सक्रिय रहनु भएको थियो।
तिनमान्यमा निर्मित कपिलाश्रम मन्दिरको निर्माण कार्यमा संलग्न रहँदै उहाँले उल्लेखनीय आर्थिक सहयोग गर्नुभएको छ। हाल सोही मन्दिरका संरक्षकका रूपमा पनि सक्रिय रहनु भएको छ। अन्तर्राष्ट्रिय सामाजिक सेवामा पनि सुवेदीको संलग्नता दीर्घकालीन रहेको छ। लायन्स क्लव अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे अन्तर्गत पर्ने लाइन्स क्लब अफ बालाजु हाइटसँग विगत २० वर्षदेखि आवद्ध रहँदै उहाँ सामाजिक सेवामा योगदान दिँदै आउनु भएको छ। साथै, गलेश्वर शिवालय क्षेत्र विकास कोषको कार्यसमिति सदस्यका रूपमा पनि सक्रिय रहनु भएको छ।
सुवेदी कल्याण प्रतिष्ठान नेपालसँग २०५४ सालदेखि आवद्ध रहनु भएका सुवेदीले विभिन्न तहमा रही काम गर्दै आउनु भएको छ। यही चैत ६ र ७ गते विराटनगरमा सम्पन्न महाधिवेशनबाट उहाँ कुलपति पदमा निर्वाचित हुनु भएको छ। अन्तर्राष्ट्रिय अनुभवसमेत सँगाल्नु भएका सुवेदीले भारत, चीन, अष्ट्रेलिया, जापान, अमेरिका, सिंगापुर, मलेसिया, माल्दिभ्स लगायत युरोपका केही देशहरूको भ्रमण गर्नुभएको छ। उहाँ भन्नु हुन्छ, ‘समयले साथ दिएसम्म व्यापारका साथसाथै सामाजिक काममा पनि सक्रिय रहने छु । सामाजिक कामबाट आत्मसन्तुष्टिसँगै समस्यामा परेका नागरिकलाई सहयोग गर्न पाउनु नै सच्चा सामाजिक काम हो ।

निर्माण व्यवसायमा निरन्तर सक्रियता र समाजसेवामा समर्पणमार्फत रमेश प्रसाद सुवेदी आज एक सफल व्यवसायी मात्र नभई समाजमा सम्मानित र प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित हुनुहुन्छ। व्यवसायिक उत्कृष्टता र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउने उहाँको यात्राले नयाँ पुस्तालाई सकारात्मक सन्देश प्रदान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्