सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा एक युवकको मृत्यु भएको घटनाबारे सत्यतथ्य पत्ता लगाउन नेपाल प्रहरीले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेसकुमार आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो।
जबरजस्ती करणी मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका सिन्धुली सुनकोशी गाउँपालिका–३ का २३ वर्षीय दलबहादुर विक यही वैशाख ७ गते बिहान मृत फेला परेका थिए। हिरासत कक्षको शौचालयमा आफ्नै सर्टको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएका विकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको यथार्थ र वस्तुनिष्ठ छानबिनका लागि गठित समितिमा प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्रनाथ पौडेल, प्रहरी वरिष्ठ उपरीक्षक इन्द्रजित सुनार, प्रहरी उपरीक्षक प्रेम रेग्मी र प्रहरी नायब उपरीक्षक राजेन्द्र सापकोटा सदस्य रहेका छन्। प्रहरी प्रधान कार्यालयले उक्त समितिलाई घटनाको सूक्ष्म अध्ययन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।
प्रतिक्रिया दिनुहोस्