Advertisement GIF
तिनजुरेमा गुराँस अवलोकन : सानिमा रिलायन्सको टोली उत्साहित

चेतन घिमिरे/तेह्रथुम

सुनसरीको इटहरीकी शिखा कट्वाललाई धेरै अघिदेखि गुराँस हेर्ने इच्छा थियो। पाँचथरको सदरमुकाम फिदिमबाट टाढा भएकाले उनले यसअघि गुराँस अवलोकन गर्ने अवसर पाएकी थिइनन्। तर ‘गुराँसको राजधानी’ मानिने तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले भ्रमणको व्यवस्था गरेपछि उनी उत्साहित हुँदै सहभागी भइन्। उनका अनुसार, सोचेभन्दा धेरै सुन्दर रहेछ तिनजुरे।

कम्पनीसँग आबद्ध कोशी प्रदेशका अभिकर्ता तथा कर्मचारीहरूलाई यही वैशाख १२ र १३ गते दुईदिने भ्रमणमा तिनजुरे, मिल्के र जलजले क्षेत्रमा लगिएको थियो। बीमाको कामले थकित र तराईको गर्मीले हैरान भएका बेला यस्तो भ्रमणले नयाँ ऊर्जा अर्थात स्फूर्ति दिएको झापाकी इन्दु सुवेदीको अनुभव छ ।

तिनजुरे क्षेत्रमा चिसो हावा चलिरहेको थियो। चर्को गर्मीबाट राहत खोज्दै पुगेका सहभागीहरू प्रकृतिसँग रमाइरहेका देखिन्थे। गुराँस अवलोकनकै लागि पानबारीकी रुविना श्रेष्ठ आफ्नी ९ महिनाकी शिशुसहित पुगेकी थिइन्।

असिना, पानी र चिसोको प्रवाह नगरी ४५ जनाको टोलीले तिनजुरे क्षेत्रको गुराँस र प्राकृतिक सौन्दर्यको भरपूर आनन्द लियो। भ्रमणका क्रममा पाथिभरा मन्दिर, आरआर गार्डेन, चोलुङ पार्क, टुटे देउराली लगायतका स्थानहरू अवलोकन गरिएको थियो। दमकका चन्द्रमणी दुलालका अनुसार, यी गुरासे वन र पर्यटकीय स्थानहरूको भ्रमणले मनमा शान्ति मिल्यो।

यस क्षेत्रमा गुराँस टिप्न निषेध गरिएको छ। सहभागीहरूले झरेका फूलहरू संकलन गरेर फोटो, भिडियो र सामाजिक सञ्जालका लागि सामग्री बनाइरहेका थिए। ढकमक्क फुलेका गुराँसले डाँडाहरू राताम्मे बनेका थिए।

नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये यो टिएमजे क्षेत्रमा २८ प्रजातिका पाइन्छन्। पूर्वी नेपालको तेह्रथुम, संखुवासभा र धनकुटाको सिमानामा फैलिएको यो क्षेत्र वसन्त ऋतुमा रातो, गुलाबी र सेतो गुराँसले ढाकिन्छ, जसले प्रकृतिलाई झनै आकर्षक बनाउँछ।

समुद्री सतहदेखि करिब १ हजार ७ सय मिटरदेखि ५ हजार मिटरसम्म फैलिएको तिनजुरे–मिल्के–जलजले क्षेत्र ‘गुराँसको राजधानी’ का रूपमा परिचित छ। हरेक वर्ष वसन्त सुरु भएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरूको बाक्लो उपस्थिति रहने गर्दछ। कम्पनीका कोशी प्रदेश प्रमुख कर्मराज पौडेलका अनुसार, यस्ता भ्रमणले गुराँसप्रतिको आकर्षण बढाउनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने छ । उनका अनुसार यो समूहलाई कम्पनीले कोशी प्रदेशका अन्य पर्यटकीय क्षेत्रको पनि भ्रमण गराउने योजना रहेको छ ।