Advertisement GIF
निजी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण अझै फेरिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रले पुर्‍याएको योगदानलाई राज्य र समाजले अझै पनि पूर्ण रूपमा स्वीकार गर्न नसकेको गुनासो गर्नुभएको छ। बुधबार (आज) महासंघद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्रप्रतिको परम्परागत सोच र दृष्टिकोणमा अपेक्षित सुधार नआउँदा व्यवसायीहरूले अझै पनि अपमानित महसुस गर्नुपरेको बताउनुभयो।

पछिल्लो तीन वर्षमा महासंघको सक्रियताका कारण नीतिगत र कानुनी तहमा धेरै उल्झनहरू सुल्झिएको उल्लेख गर्दै उहाँले प्रक्रियागत सुधार भए पनि नियत र दृष्टिकोणमा परिवर्तन आउन ढिलाइ भएको टिप्पणी गर्नुभयो। ‘हामीले पुराना कानुन र नीतिहरूमा सुधार ल्याउन ठूलो पहल गर्यौं, जसमा हामी धेरै हदसम्म सफल पनि भएका छौं,अध्यक्ष ढकालले भन्नुभयो, तर निजी क्षेत्रलाई केवल नाफा कमाउने समूहका रूपमा मात्रै हेर्ने जुन पुरानो चश्मा छ, त्यो अझै फेरिन सकेको छैन।’

राज्य र निजी क्षेत्रबीचको सम्बन्ध पछिल्लो समय पक्ष(प्रतिपक्षको जस्तो मात्र नभई एउटा संवादको तहमा आइपुगेको उहाँले बताउनुभयो। महासंघको आगामी नेतृत्व चयनका सन्दर्भमा बोल्दै अध्यक्ष ढकालले आफूले सर्वसम्मतिको अधिकतम प्रयास गरे पनि त्यो सम्भव हुन नसकेको जानकारी दिनुभयो। यद्यपि, नयाँ आउने नेतृत्वले निजी क्षेत्रका अधुरा कामहरूलाई पूर्णता दिने र उद्योगी(व्यवसायीका मुद्दालाई अझ सशक्त रूपमा उठाउनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ थियो।

अन्तमा, निजी क्षेत्रलाई राष्ट्रको आर्थिक समृद्धिको वास्तविक साझेदारका रूपमा स्वीकार गर्दै लगानीमैत्री वातावरण बनाउन सरकार र सरोकारवाला निकायहरू जिम्मेवार हुनुपर्नेमा उहाँले विशेष जोड दिनुभयो।