Advertisement GIF
कल्पवृक्ष
वैशाख १९ शनिबार, ३:५७ अपराह्न
काठमाडौंमा सुकुम्बासी बस्ती हटाउने अभियान तीव्र

काठमाडौं उपत्यकाका नदी किनार तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत बस्ती हटाउने सरकारी अभियानले पछिल्लो समय व्यापकता पाएको छ।

सहरी विकास मन्त्रालय, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिकाको संयुक्त पहलमा वैशाख महिनाको सुरुदेखि नै डोजर परिचालन गरी सुकुम्बासी बस्तीहरू खाली गराउन थालिएको हो। विशेष गरी थापाथली, गैरीगाउँ, बल्खु र मनोहरा क्षेत्रमा रहेका अनधिकृत संरचनाहरू भत्काउने कार्यलाई प्राथमिकता दिइएको छ।

हालसम्मको तथ्याङ्क अनुसार उपत्यकाका विभिन्न स्थानमा गरी करिब १ हजार २ सय ७२ वटा घर तथा टहराहरू भत्काइएका छन्। यो अभियान अन्तर्गत थापाथलीको विवादित बस्तीलाई शान्तिपूर्ण रूपमा खाली गराइएको छ भने बल्खु र मनोहरा क्षेत्रमा डोजर चलाउँदा केही स्थानमा सामान्य तनाव समेत सिर्जना भएको थियो।

बस्ती हटाउने क्रममा प्रभावित भएका परिवारहरूको व्यवस्थापन र तथ्याङ्क संकलन कार्य पनि सँगसँगै अगाडि बढाइएको छ। अहिलेसम्म ५ सय ७८ परिवार सरकारको प्रत्यक्ष सम्पर्कमा आएका छन् भने थापाथली क्षेत्रबाट मात्रै ६८ परिवारले आफ्नो विवरण दर्ता गराएका छन्।

सम्पर्कमा आएका व्यक्तिहरूलाई तत्कालका लागि दशरथ रंगशाला र विभिन्न होल्डिङ सेन्टरहरूमा राखेर उनीहरूको पहिचान खुलाउने काम भइरहेको छ।

सरकारले सम्पर्कमा आएकाहरू मध्येबाट वास्तविक सुकुम्बासी पहिचान गर्न छानबिन प्रक्रिया सुरु गरेको छ। प्रारम्भिक छानबिनका क्रममा ४ सय ५० जनाभन्दा बढी व्यक्तिको आफ्नै नाममा अन्यत्र जग्गा जमिन रहेको पाइएको छ, जसले गर्दा नक्कली सुकुम्बासीको संख्या ठूलो रहेको सरकारी दाबीलाई बल पुगेको छ। वास्तविक सुकुम्बासी ठहरिने परिवारलाई नागार्जुन नगरपालिका– १ मा रहेको सरकारी अपार्टमेन्टमा स्थानान्तरण गर्ने योजना बनाइएको छ।

उपत्यकाका नदी किनारमा अझै पनि ठूलो संख्यामा अनधिकृत संरचनाहरू भत्काउन बाँकी नै छन्। अधिकारसम्पन्न बागमती समितिको विगतको प्रतिवेदन अनुसार उपत्यकाका नदी किनारमा ३ हजार ४ सय ९६ घरधुरी अव्यवस्थित रूपमा बसोबास गरिरहेका थिए, जसको संख्या हाल बढेर करिब ४ हजार पुगेको अनुमान गरिएको छ।

काठमाडौं महानगरभित्र मात्रै २ हजार २ सयभन्दा बढी घरधुरी हटाउन बाँकी रहेको देखिन्छ। कागेश्वरी मनोहरा, बुढानीलकण्ठ, ललितपुर र भक्तपुरका नदी किनारमा रहेका बाँकी टहराहरू हटाउन दोस्रो चरणको अभियान सुरु गरिएको छ। सरकारले बागमती र यसका सहायक नदीहरूलाई ढलमुक्त र स्वच्छ बनाउने उद्देश्यका साथ यो सर्च अपरेसनलाई निर्णायक बिन्दुमा पुर्‍याउने लक्ष्य राखेको छ। वास्तविक भूमिहीनलाई उचित आवासको व्यवस्था गर्ने र हुकुम्बासीलाई कानुनी कारबाही गर्ने नीति अनुरुप देशभरका अन्य सहरी क्षेत्रमा पनि यस्तै अभियान चलाउने तयारी भइरहेको छ।