कास्की जिल्लाको पोखरा–३३, लामगादीमा रहेको ‘लामगादी मौरीपालन केन्द्र’ यतिबेला एक सफल र उदाहरणीय व्यावसायिक केन्द्रको रूपमा स्थापित हुँदै गएको छ। यो केन्द्रको सफलताको पछाडि एक शिक्षित र जोसिलो युवा उद्यमी शिरिषा भण्डारीको अथक मिहिनेत र दूरगामी सोच लुकेको छ। आफ्ना बुबा शिवराज भण्डारीले सुरु गरेको यो व्यवसायलाई शिरिषाले उहाँकै मार्गदर्शनमा नयाँ उचाइमा पुर्याउने जिम्मेवारी सम्हालेकी छन्। व्यवस्थापन संकायकी विद्यार्थी शिरिषाले आफ्नो शैक्षिक ज्ञानलाई परम्परागत मौरीपालनमा मिसाएर यसलाई केवल मह उत्पादनमा मात्र सीमित नराखी एक पूर्ण व्यावसायिक फर्मको रूपमा विकास गरेकी छिन्।
लामगादी मौरीपालन केन्द्रले अहिले नेपालको रैथाने सेरेना मौरीबाट उत्पादित शुद्ध ‘लामगादी बी प्रिमियम हनी’ ब्रान्डको महमात्र बजारमा ल्याएको छैन, बरु मौरी पालनका लागि अति आवश्यक पर्ने ‘हनी कोम्ब फाउन्डेसन’ समेत आफैँ उत्पादन गरिरहेको छ। गुणस्तरीय फाउन्डेसन सिट तयार गर्ने प्राविधिक दख्खल राख्ने शिरिषाले आफ्नो व्यवसायलाई बहुआयामिक बनाउँदै आएकी छिन्।

आफ्नो व्यवसायलाई प्राविधिक रूपमा सबल बनाउन शिरिषाले विभिन्न नेतृत्वदायी भूमिका र तालिमहरूमा समेत आफूलाई अब्बल साबित गरेकी छिन्। पोखरा महानगरपालिका र जीएमएपीको आयोजनामा सम्पन्न भएको प्रशिक्षक प्रशिक्षण तालिममा उनले आफ्नो व्यावसायिक सफलताको केस स्टडी प्रस्तुत गर्दै सहजीकरण गरेकी थिइन् भने बागवानी अनुसन्धान केन्द्र, मालेपाटनमा आयोजित कार्यक्रममा ३० जनाभन्दा बढी व्यावसायिक किसानहरूमाझ आफ्ना अनुभव र चुनौतीहरू साटेकी थिइन्। उनको अबको प्रमुख लक्ष्य भनेको यो शुद्ध नेपाली उत्पादनलाई विश्वव्यापी बजारसम्म पुर्याउनु हो।
महको अन्तर्राष्ट्रिय निर्यात गर्ने र नेपाली ब्रान्डलाई विश्वभर चिनाउने ठूलो सपनाका साथ उनी अहिले घार विस्तार र गुणस्तर प्रमाणीकरणको प्रक्रियामा लागिपरेकी छिन्। बुबाको लामो अनुभव र अहिलेको बजारमा अर्गानिक उत्पादनको बढ्दो मागलाई उनले ठूलो अवसरको रूपमा लिएकी छिन्। यद्यपि बजारमा व्याप्त अस्वस्थ प्रतिस्पर्धा, मिसावट र निर्यातका लागि झन्झटिलो सरकारी प्रक्रियाले केही चुनौती थपेको उनको अनुभव छ।
स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने नीति र सरल निर्यात प्रक्रिया भएमा आफू जस्ता युवा उद्यमीहरूले देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान दिन सक्ने शिरिषाको विश्वास छ। बाबुको मार्गदर्शन र छोरीको व्यवस्थापकीय कुशलताको यो अनुपम संगमले लामगादी मौरीपालन केन्द्रलाई नेपाली कृषि उद्यमशीलताको क्षेत्रमा एक प्रेरणाको स्रोत बनाएको छ।
प्रतिक्रिया दिनुहोस्