दिव्यज्योति हाइड्रोपावर लिमिटेडले लमजुङ जिल्लाको बेंसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिका भएर बहने मर्स्याङ्दी नदीमा निर्माण गरिरहेको ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन कार्य सम्पन्न भएको छ।
होटल एभरेष्टमा बुधबार (आज) आयोजित एक कार्यक्रमकाबीच कम्पनी र ऋण लगानी गर्ने वित्तीय संस्थाका प्रतिनिधिहरूले ऋण लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। कुल ११ अर्ब ३० करोड रुपैयाँ अनुमानित लागत रहेको यस आयोजनामा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अगुवाइमा ७ अर्ब ५० करोड रुपैयाँ सह–वित्तीयकरण कर्जामार्फत व्यवस्थापन गरिने भएको छ भने बाँकी ३ अर्ब ८० करोड रुपैयाँ कम्पनीले स्वपूँजीमार्फत जुटाउने छ।
आयोजना निर्माणको अवधि ४ वर्ष तोकिएको भए तापनि आगामी ३० महिनाभित्रै काम सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्रता दिइएको छ। यस आयोजनाबाट उत्पादित बिजुली करिब ८ किलोमिटर टाढा रहेको नेपाल विद्युत प्राधिकरणको उदिपुर सब–स्टेशनमार्फत राष्ट्रिय ग्रिडमा जडान गरिनेछ। कम्पनीले यसअघि नै नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद–बिक्री सम्झौता गरिसकेको छ भने ऊर्जा मन्त्रालयको विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र समेत प्राप्त गरिसकेको छ।
कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्की, देशमा निजी क्षेत्रबाट विद्युत आयोजना सुरु गर्ने अग्रज गुरुप्रसाद न्यौपाने, सिटिजन्स बैंकका कार्यकारी अधिकृत गणेशराज पोख्रेल, दिव्यज्योति हाइड्रोपावरका प्रवन्ध निर्देशक इन्द्रमणि त्रिताल, दपिज्योतिका अध्यक्ष सन्जब न्यौपानेले आयोजना निर्माणका विविध पक्षमा मन्तव्य राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्