Advertisement GIF
कल्पवृक्ष
वैशाख ३० बुधबार, ८:२९ अपराह्न
मह उद्योगमा महिलाको योगदानलाई सम्मान

नेपालले उद्योग क्षेत्रमा महिलाको पहिलो अन्तर्राष्ट्रिय दिवस मनाउँदै देशको मह उद्योगमा महिलाहरूको बढ्दो नेतृत्वलाई विशेष रूपमा उजागर गरेको छ। संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठनले ‘विश्व बजार पहुँच कार्यक्रम’ परियोजनामार्फत, व्यावसायिक कीट विकास केन्द्र र महिला उद्यमी महासंघ ,नेपालसँगको सहकार्यमा काठमाडौंमा ‘मह उद्योगमा महिला : संवाद तथा प्रदर्शनी’ कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रमको अध्यक्षता व्यावसायिक कीट विकास केन्द्रको केन्द्र प्रमुख डा सावित्री बरालले गर्नु भएको थियो भने विशेष अतिथिका रूपमा राष्ट्रिय सभा सदस्य गीता देवकोटा सहभागी हुनुहुन्थ्यो। देवकोटा सफल मौरीपालन तथा मह व्यवसायी हुनुहुन्छ।

उद्योग क्षेत्रमा महिलाको अन्तर्राष्ट्रिय दिवसलाई सन् २०२५ मा युनिडोको ग्लोबल इन्डस्ट्रि समिट, रियाध, साउदी अरेबिया मा पारित ऐतिहासिक प्रस्तावमार्फत घोषणा गरिएको थियो। यसले औद्योगिक क्षेत्रमा महिलाको सहभागिता र नेतृत्व प्रवर्द्धनप्रति विश्वव्यापी प्रतिबद्धतालाई झल्काउँछ।

कार्यक्रममा देशभरका २५ महिला मह उद्यमी, सहकारी संस्था, प्राविधिक विशेषज्ञ, विकास साझेदार तथा निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका थिए। कार्यक्रममा नेपालको मह मूल्य शृंखलामा महिलाहरूले पुर्‍याइरहेको योगदानलाई सम्मान गर्दै थप सशक्त बनाउने विषयमा छलफल गरिएको थियो। मौरीपालनदेखि प्रशोधन, ब्रान्डिङ र बजार व्यवस्थापनसम्म महिलाहरूले उद्योगको विकासमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्। यसले ग्रामीण जीविकोपार्जन, जैविक विविधता संरक्षण तथा घरपरिवारको आय वृद्धिमा समेत योगदान पुर्‍याएको छ।

कार्यक्रममा आयोजकले नेपालको मह उद्योग विस्तार भइरहेको भए पनि महिला उद्यमीहरूले नेतृत्व भूमिका, बजार पहुँच, व्यवसायको पहिचान, सञ्जाल विस्तार तथा व्यवसाय वृद्धिमा अझै धेरै चुनौती भोगिरहेको बताएका छन्। यी समस्याहरू समाधान गर्न नीति संवाद, ज्ञान आदानप्रदान, व्यापारिक सञ्जाल विस्तार तथा बजार प्रवर्द्धनका लागि कार्यक्रम आयोजना गरिएको जनाइएको छ।

युनिडोकी राष्ट्रिय गुणस्तर पूर्वाधार विशेषज्ञ मञ्जु क्षेत्रीको सहजीकरणमा आयोजित विशेष प्यानल छलफलमा नेपालको मह मूल्य शृंखला सुदृढीकरण, गुणस्तर मापदण्ड, बजार पहुँच, ब्रान्डिङ तथा संस्थागत सहकार्यका विषयमा चर्चा गरिएको थियो। प्यानलिस्टको रूपमा नीति समर्थन र कार्यान्वयनसम्बन्धी छलफलमा डा सावित्री बराल, व्यापार तथा निर्यात सम्बन्धी विषयमा राजेन्द्र सिंह, खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी विषयमा डा हुमा बोख्खिम, देशभरका मौरीपालक सहकारीको नेतृत्व तथा सफल मह उद्यमी जानुका थापा तथा महिला उद्यम महासंघको तर्फबाट उपाध्यक्ष तथा सफल महा व्यवसायी महालक्ष्मी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो।

छलफलका क्रममा प्यानल सदस्यहरूले नेपाली महलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन गुणस्तरीय पूर्वाधार, निर्यात तयारी, उत्पादनको विशेषता पहिचान तथा उत्पादक र खरिदकर्ताबीच सशक्त सम्बन्ध आवश्यक रहेको बताएका थिए। कार्यक्रमको प्रमुख आकर्षणका रूपमा प्रत्येक प्रदेशबाट एक–एक जना गरी सात महिला उद्यमीलाई नेपालको मह उद्योग विकासमा पुर्‍याएको योगदानका लागि सम्मान गरिएको थियो। व्यावसायिक कीट विकास केन्द्रले प्रदेशस्तरीय निकायहरूसँगको सहकार्यमा सञ्चालन गरेको यो पहलले सफल महिला व्यवसायलाई सम्मान गर्दै अन्य महिलालाई पनि प्रेरित गर्ने उद्देश्य राखेको छ।

कार्यक्रममा देशभरका महिला नेतृत्वका सहकारी तथा उद्यमहरूले उत्पादन गरेका मह तथा महजन्य वस्तुको प्रदर्शनी पनि गरिएको थियो। कार्यक्रममा संस्थागत खरिदकर्ता, निजी क्षेत्र, विकास साझेदार तथा प्राविधिक विशेषज्ञसहित करिब ८० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा UNIDO GMAP Nepal, FWEAN तथा CIED का प्रतिनिधिहरूले समावेशी औद्योगिक विकास तथा लैङ्गिक उत्तरदायी मूल्य शृंखला विस्तारको महत्वमा जोड दिएका थिए। प्रमुख वक्ता महालक्ष्मी श्रेष्ठले महिला उद्यमशीलता, नवप्रवर्तन तथा नेपालको मह उद्योगमा बढ्दो अवसरबारे आफ्ना विचार राख्नुभयो।

UNIDO GMAP Nepal का अनुसार यस पहलमार्फत महिला उद्यमीहरूको व्यवसायिक पहुँच र पहिचान सुदृढ गर्दै नेपालको विकसित हुँदै गएको मह उद्योगमा दिगो आर्थिक अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।