Advertisement GIF
कल्पवृक्ष
वैशाख ३१ बिहीबार, ८:४८ अपराह्न
रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न

नेपाली सेनाको जङ्गी अड्डामा चार दिनदेखि सञ्चालन भएको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम बिहीबार समापन भएको छ। समापन समारोहमा जनसम्पर्क तथा सूचना निर्देशक सहायक रथी राजाराम बस्नेतले अभिमुखीकरण कार्यक्रममा सहभागी भएका २९ जना सञ्चारकर्मीलाई प्रमाणपत्र वितरण गर्नुका साथै विगत लामो समयदेखि काठमाडौँ तथा आसपासका जिल्लाहरूमा नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्दै आएका ५ वटा एफएम रेडियो स्टेशनलाई कदर पत्र प्रदान गरी सम्मान गर्नुभएको थियो।

चार दिनसम्म चलेको यस कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूलाई नेपाली सेनाको विविध सांगठनिक पक्षहरूका बारेमा जानकारी गराउनुका साथै विपद् प्रतिकार्य एवं समसामयिक विषयहरूमा गहन अन्तरक्रिया समेत गराइएको थियो। यस किसिमको अभिमुखीकरण कार्यक्रमबाट देशका विभिन्न स्थानमा कार्यरत सञ्चारकर्मीहरूलाई आगामी दिनमा नेपाली सेना सम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषणमा थप सहजता, स्पष्टता र प्रभावकारिता आउने विश्वास लिएको सेनाले उल्लेख गरेको छ ।