नेपाली वाङ्मय, राजनीति र निजामती प्रशासनको क्षेत्रमा निरन्तर क्रियाशील समाजसेवी, प्रखर राजनीतिज्ञ एवं कुशल वित्तीय व्यवस्थापन विज्ञ मोहनबहादुर केसीको नवीनतम लघुसङ्ग्रह ‘धूर्त नेताको नाटक’ बजारमा आएको छ। जुना केसीद्वारा अत्यन्तै श्रद्धापूर्वक प्रकाशन गरिएको यस अभूतपूर्व कृतिले नेपाली समाजमा व्याप्त राजनीतिक विकृति, विसङ्गति, कुशासन, भ्रष्टाचार र सामाजिक विभेदमाथि खरो एवं निर्मम प्रहार गरेको छ।
विशिष्ट साहित्यकार प्राडा हेमनाथ पौडेलको ओजपूर्ण भूमिकाका साथ पाठकमाझ आएको यस पुस्तकले ७९ वर्षको परिपक्व उमेर पार गरिसक्नुभएका केसीको अदम्य सिर्जनात्मक ऊर्जा, समाजप्रतिको अटुट निष्ठा र दुरदर्शी चेतलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। नेपाली लघुविधाको क्षेत्रमा एउटा दरिलो र मार्गदर्शक उपस्थितिका रूपमा यो कृति स्थापित भएको छ।

लेखक केसीको जन्म २००३ साल माघ २४ गते स्याङ्जा जिल्लाको पवैगौंडे, कपिलथुम्कामा माता भीमाकुमारी केसी र पिता प्रेमबहादुर केसी (खत्री) को कोखबाट भएको हो। उहाँको जन्मको पृष्ठभूमि निकै सङ्घर्षपूर्ण र रोचक छ। आमाले डोकोको भारी बिसाएर घरको पिँढीमा समेत पुग्न नपाउँदै घरकै आँगनमा उहाँलाई जन्म दिनुभएको पारिवारिक स्मरण छ।
लेखकको पुर्ख्यौली पृष्ठभूमि गौरवमय एवं ऐतिहासिक सैन्य इतिहाससँग जोडिएको छ। उहाँको सातौँ पुस्ताका हजुरबुबा सनकसिंह नेपाली सेनामा बडाकप्तान हुनुहुन्थ्यो, जसको नाम १९१० मा नेपालको पहिलो मुलुकी ऐन जारी हुँदा उक्त ऐन निकाल्न राजी हुने विशिष्ट र ऐतिहासिक व्यक्तित्वहरूको सूचीमा अग्रपङ्क्तिमा उल्लेख गरिएको छ।
लेखक केसीको शैक्षिक यात्रा र व्यक्तित्व विकास उत्तिकै बहुआयामिक छ। उहाँले गाउँमै सामान्य अक्षरारम्भ गरी हजुरबुबासँगै नुवाकोटको कफलेनीस्थित कक्षा आठसम्म अध्ययन गर्नुभयो। १३ वर्षको उमेरमा कक्षा आठ उत्तीर्ण गरेपछि २०१७ सालको मङ्सिर महिनामा उहाँ पोखराको मल्टिपर्पोज नेसनल हाई स्कुलमा कक्षा नौमा भर्ना हुनुभयो। विद्यालयमा उहाँ बहुप्रतिभाशाली विद्यार्थीका रूपमा चिनिनुहुन्थ्यो। घरायसी र व्यावहारिक कामहरू जस्तै डोका, थुन्से, स्याखु बुन्ने, दाम्ला–नाम्ला बाट्ने, कुचो बनाउने, खेतीपाती गर्नेदेखि लिएर खाना पकाउने, गीत गाउने, नाच्ने र हँसाउने जस्ता हरेक कार्यमा उहाँ उत्तिकै निपुण हुनुहुन्थ्यो।
२०१८ सालमा सोही विद्यालयमा पढ्दा प्रत्येक शुक्रबार हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत पहिलोपटक गद्य कविता वाचन गर्दा कार्यक्रम सञ्चालक शिक्षकले उहाँको कविताको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो, जसले उहाँमा साहित्यप्रति स्थायी रुचि जगाउने बुटीको काम गर्यो। उहाँले पोखरा, बनारस, गोरखपुर, दरभंगा र काठमाडौँका विभिन्न ख्यातिप्राप्त शैक्षिक संस्थाहरूबाट प्राइभेट परीक्षार्थीका रूपमा समेत अध्ययन गर्दै विश्वविद्यालय तहसम्म एमए, बीएल र एमविएस (होमियोप्याथी) जस्ता उच्च र विविध विषयहरूमा डिग्री हासिल गर्नुभयो।
शिक्षा प्राप्तिको समानान्तर रूपमै केसी बाल्यकालदेखि नै देशका ऐतिहासिक राजनीतिक आन्दोलनहरूमा निरन्तर होमिनुभयो। २००७ सालको प्रजातान्त्रिक आन्दोलनको बालसाक्षी रहनुभएका उहाँले २०२१ सालमा बनारसमा अध्ययन गर्दा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिवको प्रत्यक्ष संसर्गमा रही २०२१ साल असार २० गते नेकपाको सदस्यता लिनुभयो। सिद्धान्तनिष्ठ भई समाजवादप्रतिको इमानदारिता कायम राख्दै उहाँले देशमा प्रजातन्त्र र लोकतन्त्र पुनर्बहालीका लागि भएका २०३६, २०४६ र २०६२÷०६३ का सम्पूर्ण राजनीतिक आन्दोलनहरूमा भूमिगत भई नेतृत्वदायी र साहसिक भूमिका निर्वाह गर्नुभयो।
यस निष्ठाको राजनीति गर्ने क्रममा उहाँले पाँच पटकभन्दा बढी जेल र हिरासतको कष्टकर जीवन व्यतित गर्नुभयो। पद, शक्ति र पैसाको दुरूपयोग नगर्ने, चाकडी, चाप्लुसी र कसैको निगाहको अपेक्षा नगर्ने तथा राजनीतिक जीवनलाई खुला किताब जस्तै राख्ने केसी हाल नेकपा (एकीकृत समाजवादी) को सल्लाहकार परिषद् अध्यक्ष तथा केन्द्रीय स्थायी कमिटी सदस्यका रूपमा रहेर काम गर्नु भयो ।
राजनीतिसँगै केसीको प्रशासनिक, वित्तीय र ट्रेड युनियन आन्दोलनमा रहेको योगदान नेपालको इतिहासमा स्वर्ण अक्षरले लेखिने खालको छ। २०३२ सालमा संवैधानिक अङ्ग महालेखा परीक्षकको विभागमा अधिकृतस्तरबाट निजामती सेवामा प्रवेश गर्नुभएका उहाँले वि।सं। २०५२ सालमा निवृत्तभरणसहित सेवाबाट अवकाश लिनुभयो। उहाँ २०४६ सालमा स्थापित नेपाल निजामती कर्मचारी सङ्गठनको ऐतिहासिक संस्थापक अध्यक्ष हुनुहुन्छ। यसका साथै उहाँले २०५३ सालमा सेवानिवृत्त राष्ट्रसेवक सङ्घ, २०५५ सालमा पेसागत महासङ्घ नेपाल र २०७१ सालदेखि लगातार ज्येष्ठ नागरिक सेवा समाज नेपाल जस्ता प्रतिष्ठित र राष्ट्रव्यापी संस्थाहरूको संस्थापक अध्यक्ष तथा उपाध्यक्ष भई समाजको तल्लो तहसम्म सेवा पुर्याउनुभएको छ। उहाँको अनुभव र नेतृत्व राष्ट्रिय दायरामा मात्र सीमित रहेन।
२०६८ सालमा उहाँ विश्व ट्रेड युनियन सङ्घ (रिटायर्ड तथा पेन्सनर) को संस्थापक सदस्य बन्नुभयो र लगातार दुई कार्यकालसम्म अन्तर्राष्ट्रिय उपाध्यक्ष तथा एसिया प्यासिफिक क्षेत्रको इन्चार्ज भई कुशलतापूर्वक विश्वमञ्चमा नेपालको प्रतिनिधित्व गर्नुभयो। अमेरिका, ब्रिटेन, चीन, जर्मनी, फ्रान्स, दक्षिण अफ्रिका, भेनेजुएला, अष्ट्रेलिया, लक्जेम्बर्ग, स्पेन, ग्रीस, भारत, सिङ्गापुर, थाइल्यान्ड, हङकङ, डेनमार्क, स्वीडेन, फिनल्यान्ड, नर्वे, इस्टोनिया लगायत विश्वका दर्जनौँ मुलुकहरूको व्यापक भ्रमण गरिसक्नुभएका केसीसँग प्राध्यापन, लेखापरीक्षण, सर्वोच्च अदालतमा चार वर्ष वकालत गरेको अनुभव (अधिवक्ता) र वित्तीय व्यवस्थापनको अत्यन्तै गहन विशेषज्ञता छ।
साहित्यिक यात्रातर्फ केसीले २०२१ सालमा बनारसबाट प्रकाशित हुने ुहिमचुलीु पत्रिकामा आफ्नो पहिलो कविता प्रकाशन गरेर औपचारिक रूपमा कलम चलाउनुएको थियो। त्यसयता उहाँले नेपाल र भारतबाट प्रकाशन हुने विभिन्न पत्रपत्रिकाहरू तथा साहित्यिक सँगालोहरूमा कथा, कविता, निबन्ध र समसामयिक वैचारिक लेखहरू गरी १३० भन्दा बढी उत्कृष्ट रचनाहरू प्रकाशित गरिसक्नुभएको छ। उहाँको साहित्यिक ओज विगतमै प्रमाणित भइसकेको थियो, जतिबेला उहाँले ुताजा खबरु कथा प्रतियोगितामा दोस्रो पुरस्कार, २०३३ को राप्ती अञ्चल स्तरीय कथा प्रतियोगितामा नगदसहित प्रथम पुरस्कार र २०३६ सालमा डोटीमा प्रजातन्त्र दिवसका अवसरमा आयोजित प्रतियोगितामा ूप्रजातन्त्रको राँकोू कविताका लागि तृतीय पुरस्कार प्राप्त गर्नुभएको थियो। यसअघि उहाँका नेपालमा कर्मचारी सङ्गठन–२०४७ र भिटामिन र स्वास्थ्य–२०७९ जस्ता विचारोत्तेजक एवं सूचनामूलक कृतिहरू प्रकाशित भइसकेका छन्।
वर्तमान लघुसङ्ग्रह धूर्त नेताको नाटकभित्र लेखकले ७९ वटा छोटा तर अत्यन्तै मर्मस्पर्शी लघुथाहरू समावेश गर्नुभएको छ। सङ्ग्रहभित्र आँसुको आवाज, वृद्ध रुख, आदर्श आवाज, आमाको सपना, प्रतियोगिता, काजी हजुरबा, बोझिलो पर्वु, गरिबीको नासो, स्वतन्त्रताको श्वास, परिवर्तनको संवाहक, जीवनको घुम्ती, सम्मान, विभेद, नृत्यबोधु, सृजना र सिर्जकु, निम्ता, सही नेतृत्व, प्रतिज्ञा, सकारात्मक सोच,अपजस र बिछोडको फल, मन्थन, झिँगाको खेती, न्यायको खोजी, सहारा, अव्यक्त प्रेमु, धूर्त नेताको नाटक, दमन र दिशानिर्देश, पहिचान र अजम्बरी मायाजस्ता बहुचर्चित कथाहरू रहेका छन्।
लेखकले संसारभरि नै चलिरहेको हुँदा खाने र हुने खाने वर्गबीचको गम्भीर अन्तर्विरोध र श्रमजीवी जनताको मुक्तिको सवाललाई यस पुस्तकले मुख्य विषय बनाएको छ। राजनीतिले जनताको सामाजिक, आर्थिक र सांस्कृतिक जीवनलाई सुख र समृद्धितर्फ लैजानुपर्नेमा वर्तमानका राजनीतिक कर्मीहरू अत्यधिक सङ्कीर्ण, स्वार्थी र भ्रष्ट भएका छन्। देशमा जेन्जी पुस्ताका नाममा मौलाएको भ्रष्टाचार, कुशासन, बेथिति र विसङ्गतिका विरुद्ध जनस्तरबाट विद्रोह त भयो, तर गलत तत्वहरूको घुसपैठका कारण देशले ठुलो क्षति बेहोर्नुपर्यो।
नेपालको राजनीतिमा केही पुराना र अनुदार नेताहरू नमरेसम्म नेतृत्वको बागडोर आफ्नो हातमा राखिराख्न चाहन्छन् र परिवर्तनका पक्षधर क्षमतावान् युवा नेतृत्वलाई अगाडि बढ्न दिइरहेका छैनन्। राज्यका तीनै अङ्ग र संविधानको मर्मबमोजिम शक्तिसन्तुलन कायम गर्ने संवैधानिक निकायहरू समेत नेताहरूको प्रत्यक्ष कब्जामा परेका कारण जनतामा व्यापक विभेद, निराशा र स्वतन्त्र भएर बाँच्नै नसकिने भयावह अवस्था सिर्जना भएको कुरा केसीले आफ्ना कथाहरूमा सशक्त ढङ्गले उतार्नुभएको छ। देश र जनताको हित गर्ने पद्धति बसाल्न छोडेर, अहम् भाव र चाकडी–चाप्लुसीलाई प्रश्रय दिँदै शासक बन्न खोज्ने राजनीतिक दलका नेतृत्वलाई यस पुस्तकका लघुथाहरूले आख्यानका माध्यमबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा कडा चुनौती दिएका छन्।
समीक्षक प्राडा हेमनाथ पौडेलका अनुसार, मोहनबहादुर केसीका यी लघुथाहरूमा समसामयिकता, विषयगत गम्भीरता, आयामगत सङ्क्षिप्तता तर व्यापक आख्यानात्मकता र वर्णनात्मकता स्पष्ट रूपमा देखिन्छ। लेखक कथा किन लेख्ने, कथाको विषयवस्तु के हुने र यसको सामाजिक उद्देश्य के हो भन्ने कुरामा पूर्ण रूपमा सचेत देखिनुहुन्छ। यद्यपि पहिलो लघुथासङ्ग्रह भएकाले शिल्प र कथाकौशलका हिसाबले केही आभ्यासिक पाटाहरू रहे तापनि भाव, विचार र जनपक्षीय दृष्टिकोणका हिसाबले यी कथाहरू अत्यन्तै उत्कृष्ट, सरल र सुबोध छन्।
यस पुस्तकको शुद्धता र शुद्धि हेर्नमा रञ्जन घिमिरेले सहयोग गर्नुभएको छ भने मुद्रणको कार्य आवृत्ति छापाखाना प्रा।लि। ले गरेको छ। यो पुस्तक नेपाली वाङ्मय, राजनीति र निजामती कर्मचारी आन्दोलनको इतिहासलाई बुझ्न चाहने हरेक पाठक, अनुसन्धाता र नागरिकका लागि एउटा अमूल्य, ऐतिहासिक र सङ्ग्रहणीय दस्तावेज बनेको छ।
–सुरेन्द्र सुवेदी/काठमाडौं
प्रतिक्रिया दिनुहोस्