Advertisement GIF

नेपाल हस्तकला महासंघका जिल्ला तथा प्रदेश परिषदको संयोजनमा यही जेष्ठ ८ देखि १० गतेसम्म काठमाडौंको बालुवाटारस्थित अम्रपाली बेन्कुवेटमा ‘नेपाल हस्तकला एक्स्पो एण्ड कल्चरल शो– २०२६’ आयोजना हुँदैछ। कृषिजन्य उद्योगपछि मुलुकभर विस्तारको ठूलो सम्भावना बोकेको हस्तकला क्षेत्रले लाखौंलाई स्वरोजगार दिएको छ भने वार्षिक २८ अर्ब बराबरको निर्यात गर्दै देशको कला र संस्कृतिको प्रतिनिधित्व गरिरहेको छ।

काठमाडौंको सितापाइलामा बस्ने मल्लिका श्रेष्ठ यो मेला आयोजक समिति संयोजक हुनुहुन्छ । विशेषगरी नेचुरल फाइबर (प्राकृतिक रेशा) सम्बन्धी कामहरू गर्दै आउनु भएकी श्रेष्ठ नेपाल हस्तकला महासङ्घमा उपाध्यक्ष पदमा रहेर जिल्ला तथा प्रदेश परिषद्को नेतृत्व सम्हाल्दै आउनु भएको छ । यो मेला आयोजना र यसले दिने समग्र प्रतिफलको सन्दर्भमा केन्द्रित रहेर महासंघकी उपाध्यक्ष एवं मेला आयोजक समितिकी मुख्य संयोजक मल्लिका श्रेष्ठसँग गरिएको कुराकानीको संपादित अंश ।

राजधानीमा यही जेष्ठ ८ गतेदेखि ‘नेपाल हस्तकला एक्स्पो एण्ड कल्चरल शो– २०२६’ सुरु हुँदैछ, मेला आयोजना गर्नुको मुख्य उद्देश्य के हो?
यो मेला आयोजना गर्नुको मूलभूत उद्देश्य हाम्रा विभिन्न प्रदेश तथा जिल्ला स्तरमा उत्पादित हस्तकला वस्तुहरूको प्रदर्शनी एवं व्यापक प्रचार प्रसार गर्नु हो। देशका दुर्गम र कुनाकाप्चामा रहेका स्थानीय हस्तकला उद्यमीहरूलाई बजारको पहुँचमा सिधा सहयोग पुर्‍याउनु र हस्तकला उत्पादनको व्यवसायिक विकासमा टेवा पुर्‍याउनु यसको मुख्य लक्ष्य हो। मेरो जिम्मेवारी जिल्ला तथा प्रदेश परिषद् हेर्ने भएकाले यस मेलाको विशेष उद्देश्य नै जिल्ला तथा प्रदेशहरूलाई आर्थिक रूपमा सबल, सक्षम र आत्मनिर्भर तुल्याउनु हो। हामीले यसपटक केवल उत्पादन मात्र होइन, त्यहाँको मौलिक कल्चरल डान्सहरू र परम्परागत स्वादिष्ट परिकारहरू पनि एउटै छानामुनि देखाउँदैछौं, जसले गर्दा उद्यमीहरूको प्रोडक्टको प्रवर्द्धन हुनुको साथै उनीहरूको जिल्लाको पहिचान र संस्कृतिको पनि राम्रो प्रमोसन हुनेछ।

मेलाबाट महासंघले कस्तो उपलब्धि हासिल हुने विश्वास राखेको छ?

हामीले ठूलो उपलब्धिको अपेक्षा गरेका छौं। यस कार्यक्रमबाट स्थानीय हस्तकला उत्पादनको बजार व्यापक रूपमा विस्तार हुनेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा, उत्पादक र उपभोक्ता बीच प्रत्यक्ष सम्पर्क स्थापित हुनेछ। यसले गर्दा हाम्रा स्थानीय उद्योगी, कलाकार र कालिगढहरूको सीप, क्षमता तथा मनोबल निकै अभिवृद्धि हुनेछ। हाम्रो देशको मूर्त तथा अमूर्त कला संस्कृति र लोपोन्मुख परम्परागत परिकारहरूको संरक्षणमा यो मेला कोसेढुङ्गा सावित हुने हामीले विश्वास लिएका छौं।

हस्तकला क्षेत्रमा आबद्ध देशैभरिका उद्यमीहरूले यस मेलाबाट के सिक्ने र कस्तो अवसर पाउने अपेक्षा गरिएको छ ?

यो मेला हाम्रा उद्यमीहरूका लागि एउटा उत्कृष्ट लर्निङ र नेटवर्किङ प्लेटफर्म हो। मेलामा काठमाडौं उपत्यकाका अतिरिक्त संखुवासभा, मकवानपुर, दाङ्ग, बाजुरा, ताप्लेजुङ्ग, चितवन, बर्दिया, काभ्रेपलान्चोक, कास्की, झापा, धनुषा, सुनसरी, धादिङ्ग, तनहुँ, पाल्पा र बागलुङ लगायतका जिल्ला संघहरूको सक्रिय सहभागिता रहँदैछ। यसरी देशभरिका सबै जिल्लाहरू एकैसाथ एकै थलोमा सहभागी हुँदा उद्यमीहरूले एकले अर्काको उत्पादन, फिनिसिङ र डिजाइन हेर्ने तथा सिक्ने ऐतिहासिक मौका पाउँछन्। आफूले सिकेका परम्परागत सीपको संरक्षण गर्दै आफ्नो उत्पादनलाई कसरी आधुनिक बजार सुहाउँदो बनाएर बजारीकरण गर्ने भन्ने अवसर उनीहरूले पाउनेछन्।

मेलामा अवलोकनकर्ताको उपस्थिति कस्तो रहने अनुमान छ र कतिसम्मको आर्थिक कारोबार हुने विश्वास गर्नुभएको छ ?

यो मेला ३ दिनसम्म बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म चल्नेछ र हामीले आम सर्वसाधारणका लागि प्रवेश पूर्ण रूपमा निःशुल्क गरेका छौं। त्यसैले यस मेलामा ३० देखि ४० हजार जनाले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा हामीले राखेका छौं। आर्थिक कारोबारको कुरा गर्दा मेला अवधिभर करिब ६० लाखदेखि १ करोड रुपैयाँसम्मको हस्तकला र मौलिक परिकारहरूको व्यापार हुन्छ भन्ने हाम्रो अनुमान र विश्वास छ।

विगतका मेलाहरूभन्दा यो मेलामा के–कस्ता फरक विशेषता वा नयाँपन पाउन सक्छन् अवलोकनकर्ताहरूले ?

यसपटकको मेला साँच्चिकै विशेष र फरक छ। यसमा हामीले मेक इन नेपाल र मेड इन नेपालको मूल अवधारणालाई आत्मसाथ गरेका छौं। मेलामा हस्तकला लगायत अन्य नेपाली निकासी सम्भाव्यता भएका वस्तु तथा सेवा प्रदर्शनका लागि करिब ७० वटा जति आकर्षक स्टलहरू रहनेछन्। यो केवल व्यापारिक मेला मात्र होइन, यहाँ स्थानीय उद्योगी र कालिगढहरूले प्रत्यक्ष रूपमा आफ्नो सीप प्रदर्शन गर्नेछन्। साथै, विविध साँस्कृतिक कार्यक्रमहरूको प्रस्तुति र स्थानीय उत्पादनका साथै परम्परागत परिकारहरूको स्वाद पस्कने व्यवस्था मिलाइएकाले अवलोकनकर्ताले एउटै ठाउँमा नेपालको सिंगो कला, संस्कृति र स्वादको उत्सव अनुभव गर्न पाउनुहुनेछ, जुन विगतका मेलाहरू भन्दा विल्कुलै नयाँ पन हो।

मेलालाई सफल बनाउन कुनकुन संस्थाहरूले सहकार्य वा सहयोग गरिरहेका छन् ?

मेलालाई भव्य रूपमा सम्पन्न गर्न धेरै प्रतिष्ठित संस्थाहरूले हामीलाई साथ दिएका छन्। प्रचार प्रसारका लागि हामीले डिजिटल माध्यम, सामाजिक सञ्जाल र प्रत्यक्ष पत्राचारको व्यापक प्रयोग गरेका छौं। साझेदार संस्थाहरूको कुरा गर्दा प्रमोटेड पार्टनरका रूपमा हेल्भेटास नेपाल, लजिष्टिक पार्टनरमा एभरेष्ट डि कार्गो, ट्राभल पार्टनरमा लक्की ट्राभल, प्रिन्टिङ्ग पार्टनरमा विजय अफसेट, इन्स्योरेन्स पार्टनरमा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र मिडिया पार्टनरको रूपमा अभियान आर्थिक राष्ट्रिय दैनिक रहेका छन्। त्यसैगरी सहयोगी संस्थाहरूमा नेपाल टेलिकम, एनएमवि बैंकसमेत रहेका छन् । मेलाको सम्पूर्ण व्यवस्थापन इभेन्ट म्यानेजरको रूपमा इभेन्ट संसार डटकमले सम्हालिरहेको छ।

मेलाको विषयमा अरु के हो?

नेपाली हस्तकला हाम्रो पहिचान र स्वाभिमान हो। हाम्रै देशका कालिगढहरूको रगत र पसिनाले बनेका मौलिक उत्पादनहरूलाई माया गर्नु र प्रवर्द्धन गर्नु हामी सबैको दायित्व हो। यही जेष्ठ ८ देखि १० गतेसम्म बालुवाटारको अम्रपाली बेन्कुवेटमा आयोजना हुने यस ऐतिहासिक मेलामा सम्पूर्ण कला, संस्कृति र नेपाली उत्पादन प्रेमी महानुभावहरूलाई सभ्य उपस्थितिका लागि म हार्दिक निमन्त्रणा गर्दछु। प्रवेश निःशुल्क छ, अवश्य आएर नेपाली कालिगढहरूको सीपको हौसला बढाइ दिनुहोला।