Advertisement GIF

पूर्वी नेपाल, पाँचथर जिल्ला थातथलो भएका सगुन सुन्दर लावती कर्ममा विश्वास राख्ने राजनीतिकर्मी हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीमा ३२ वर्ष अधिक क्रियाशील रहेका लावतीले, महाधिवेशनबाट तीन पटक केन्द्रीय सदस्य निर्वाचित भएर राप्रपाको प्रवक्ता, सह–महामन्त्री, कार्यसम्पादन समिति सदस्य, विदेश विभाग प्रमुख, संगठन विभागका सदस्य सचिव जस्ता महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् । विद्वान र अध्ययनशील नेताको छवी बनाएका लावती एक कुशल प्रशिक्षक पनि हुन् ।

यूवा तहबाट राजनीति आरम्भ गरेका लावतीले राप्रपानिकट यूवा संगठनको निर्वाचित सभापतिको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेको विगत छ । बुढानीलकण्ठ स्कूलमा अध्ययन गरेका लावतीले समाजशास्त्रमा एम.फिल. र स्नातकोत्तर अध्ययन पूरा गरेका छन् भने हाल विद्यावारिधीको सोध गर्दैछन् । राप्रपा परित्याग गरेर नयाँ राष्ट्रवादी दल निर्माण गर्ने क्रममा रहेका प्रस्तावित राजनीतिक दलका सचिवालय प्रमुख लावतीसँग समसामयिक राजनीतिको विषयमा गरिएको वार्तालापको संपादिन अंश :

राजतन्त्र, राष्ट्रियता र हिन्दु राज्यको अवधारणामै रहेको राप्रपामा लामो समय रहनु भयो, किन अचानक यो पार्टीबाट बाहिरिनु परेको ?
जेनजी विद्रोहपछि सम्पन्न आम चुनावमा जनताले स्पष्ट धारणा दिए । त्यस अर्थमा नयाँ आकांक्षाको युग आरम्भ भयो भनौं । नेपालीजनताले ठोस नतिजा र निकास खोजेको जनादेश प्राप्त भयो । भ्रष्टाचारमा लिप्त भएर, जनतालाई झुक्याएर खाने दिन गए भन्ने सन्देश आयो । जनता कराउँदै गर्छन्, हामी शासकहौं, हामी नेता हौं, हामीले जे गरे पनि हुन्छ भन्दै मनपरी गर्ने शासक मानसिकता जनताले पूर्ण तिरस्कार गरिदिए । दल र नेताले फटाइ गरे, ज्यादती गरे जनताले दण्डित गर्छन् भन्ने स्पष्ट सन्देश आयो ।

एवं रितले राप्रपाका ९७ प्रतिशत उम्मेदवारको जमानत जफत भयो ।अवसरवादी चरित्र, दोग्लापन,ढाँट र छललाई जनताले दण्डित गरे ।अरु पुराना दल जस्तै राप्रपा ओरालो लाग्यो, यसको नेतृत्व जनता सामु उदांगो बन्यो, पूर्ण रुपमा असफल साबित भयो ।राप्रपालाई जनताले अस्वीकार गर्दा राजा सहितको प्रजातन्त्र, हिन्दु, बौद्ध, किराँत सहित सनातन अधिराज्यको एजेण्डा समाप्त भयो भनेर भाष्य निर्माण हुन थाल्यो । जबकि जनताको अविश्वास एजेण्डाप्रति नभएर, केवल राप्रपाप्रति हो । यही यथार्थ मनन् गर्दै विश्वासिलो र भरपर्दो राष्ट्रवादी दलनिर्माण गर्ने हामीले निश्चय ग¥यौं । एजेण्डा बचाउन र राष्ट्रवादी धारका जनताले निर्धक्क भोट हाल्न सक्ने गरी नयाँ सिर्जनामा लाग्यौं ।

डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईँको नेतृत्वमा तपाईँसमेत भएर गठन हुन लागेको नयाँ पार्टी किन खोल्नै परेको हो ?
राप्रपाको इन्जिन नचल्ने भयो, ड्राइभर र मोटर काम नलाग्ने भयो । खटारा गाडी लिएर गन्तव्यमा नपुग्ने अवस्था जनमतबाटै स्पष्ट भएको कारण राष्ट्रियताको सम्वद्र्धन गर्न हामीले नयाँ राष्ट्रवादी दल बनाउने निर्णय ग¥यौं, राप्रपा परित्याग ग¥यौं । यही क्रममाडा. धवलशम्सेर राणा र दुर्गा प्रसाईँ लगायत तमाम राष्ट्रवादी धारका दल, अभियान र व्यक्ति विशेषहरुको मिलन भयो । फलस्वरुप सबै मिलेर विश्वसनीय राष्ट्रवादी दल निर्माण गर्न हामी अग्रसर भयौं ।

अब बन्ने दलमा, समयको गति र माग आत्मसात गर्दै केन्द्रीय कार्यसमितिमा ६० प्रतिशत यूवा, महिला निर्वाचित हुने व्यवस्था हामी कायम गर्नेछौं । काम गर्ने व्यक्तिनिर्वाचित हुने, जिम्मेवारी पाउनेआधार हामी निर्माण गर्नेछौं । पूर्ण रुपमा प्रजातान्त्रिक पार्टी निर्माण गर्न हामी कटीबद्ध छौं ।

यो पार्टीले के के मुद्दा लिएर जनतासम्म जाने छ ?
संवैधानिक राजसंस्था, बहुदलीय प्रजातन्त्र, सनातन धर्म, सँस्कृति, परम्परा राष्ट्रियताका आधार हुन् । यसका अतिरिक्त आर्थिक विकास र समृद्धीको मुद्दा, भुर्इँ मान्छेको चिन्ता, गरिब निमुखा र आम नागरिकका दैनिकीसँग जोडिएका सरोकारहरु लिएर हामी जनतासम्म जानेछौं । मूलतः नेपालको एकता, अखण्डता, शान्ति र आर्थिक विकासको मुद्दा हाम्रो प्राथमिकता हुनेछ ।

पछिल्लो समय एमाले, कांग्रेस, माओवादीसमेत जनतासम्म पुग्न असहज महसुस गरिरहेका छन् र जनता पनि उनीहरुबाट दिक्क छन् । यो अवस्थामा तपाईँहरुले गठन गर्न लागेको पार्टीले कसरी राम्रो जनाधार तय गर्ला ?
परम्परा, कुल धर्म, इतिहास, विरासत, राष्ट्रिय स्वाभिमान र गौरवका पक्षपाति जनता विश्वको कुनै पनि समाजमा हुन्छन्, नेपालमा पनि त्यस्तो विचार र आस्था राख्ने जनता यथेष्ट छन् । यस किसीमको वैचारिक आधार नेपालको समुन्नतिमा अत्यन्तै आवश्यक र महत्वपूर्ण छ । कुरा यति हो, परम्परागत मान्यता राख्ने जनताले भोट हाल्ने विश्वासिलो दल र प्लेटफर्म पाएका छैनन् ।

त्यसकारण भनाइ र गराइबीच एकरुपता राखेर जनताको मन जित्ने हाम्रो प्रयास र लक्ष्य हो ।पुराना दलहरु यसै पनि जनताबाट बडारिएको अवस्थामा, आधुनिकता र परम्पराबीच पुल बनेर, प्रविधि र परम्परागत विवेकको संयोजन गरेर, आशा र विकासको नारा बोकेर हामी नयाँ सिर्जनामा लागेका हौं । सत्कर्म, सत्यवादिता र सकारात्मक सोँच नै जनताको साथ पाउने, जनताको मन जित्ने आधार बन्नेछ भन्ने हाम्रो ढृद विश्वास हो ।

जेनजी विद्रोहपछि देशमा नयाँ सरकार आएको छ, देश अब सही बाटोमा आउँछ त ? यसमा तपाईँको के राय छ ?
कुनै पनि समाज र देशसँग जोडिएको आधारभूत तथ्य र मान्यता हुन्छन् । हामीबीच पनि नेपाल निर्माणको गौरवशाली इतिहास र विरासत छ । बालेन्द्र सरकारलाई जनताले पूर्ण विश्वास दिएका छन् । तर, देश र जनताको सबै पिडा यो सरकारले निर्मूल गर्छ र सबै इच्छा, आकांक्षा पूर्ति गर्छ भनेर विश्वस्त भइहाल्ने अवस्था निर्माण भएको छैन । तथापि आम नेपाली जनताले जस्तै म पनि यो सरकारले देश र जनताको समस्या समाधान गरोस्, देशमा शान्ति, सुव्यवस्था कायम गरोस् भन्ने कामना गर्दछु ।

तथापि केही आधारभूत तथ्य, आवश्यकता र धरातलीय यथार्थ सम्बोधन नगरेसम्म देशमा अस्थिरता जारी रहनसक्छ भन्ने मलाई लागेको छ । सारभूत रुपमा कसलाई राष्ट्रिय एकताको प्रतीक मान्ने, कुन संस्थालाई देशको साझा अभिभावक मान्ने भन्ने सवाल अझै अनुत्तरित छ, यो रिक्तता कायमै छ । मलाई सोध्नुहुन्छ भने, न त बालेन्द्र शाह, न त रामचन्द्र पौडेल वा अरु कोही नेता वा व्यक्ति राष्ट्रिय एकताको प्रतीक बन्न सक्छन् नेपालमा ।

त्यसैले राष्ट्र निर्माणका अन्य आधार जस्तै, राष्ट्रिय ध्वजा र राष्ट्रिय गान जस्तै, राष्ट्र निर्माता पृथ्वीनारायण शाहको इतिहास र विरासत आत्मसात गर्दैराष्ट्रिय एकताको साझा प्रतीक स्थापित गर्न हामीले विलम्ब गर्न हुन्न । किनकी यो रिक्तता कायम रहुन्जेल समाजमा स्थीरता र स्थायित्व प्राप्त नहुन सक्छ । त्यसैलेराष्ट्रियताको सवाल र एकतालाई केन्द्रमा राखेर शाह वंशीय परम्पराको आधार निरन्तर राख्न मनासिब हुनेछ । यसबाट आन्तरिक व्यवस्था र वाह्य सम्बन्धमा सन्तुलन र स्थीरता राख्न दर्बिलो आधार प्राप्त हुनेछ ।