काठमाडौंमा पश्मिनामा ढाका डिजाइन बुनाइको ३० जनाले व्यवहारिक सीपका लागि तालिम लिन थालेका छन् । नेपाल पश्मिना उद्योग संघद्वारा आयोजना गरिएको ‘पश्मिनामा ढाका डिजाइन बुनाइ तालिम’ राजधानीको हाँडीगाउँ, गहना पोखरीमा सुरु भएको हो । यो तालिमको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवीनराज शर्माले उद्घाटन गरे ।
कार्यक्रममा, जेनेभा, स्विट्जरल्याण्डबाट सुश्री Camila Villas को विशेष उपस्थिति रहेको थियो। साथै International Trade Centre Nepal का Program Coordinator डा विदुर घिमिरे, घरेलु तथा साना उद्योग संघ काठमाडौं शाखाकी अध्यक्ष डोल्मा शेर्पा तथा नेपाल पश्मिना उद्योग संघका पदाधिकारी एवं कार्यसमिति सदस्यहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सभापतित्व नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेले गरेका थिए । मन्तव्यका क्रममा अध्यक्ष लामिछानेले पश्मिनामा ढाका डिजाइनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वबारे विस्तृत चर्चा गरेका थिए ।
उनले ढाका नेपालको मौलिक पहिचान बोकेको परम्परागत डिजाइन भएको उल्लेख गर्दै सुरुवाती समयमा नेपालीहरूले ढाका टोपीका रूपमा यसको प्रयोग गर्ने गरेको जानकारी दिए । विशेषगरी तेह्रथुम जिल्लामा यसको उत्पादन हुने गरे पनि पछिल्लो समय पाल्पामा यसको उत्पादन विशेष रूपमा विकास भएपछि “पाल्पाली ढाका” नामबाट समेत चर्चित भएको उनले बताए ।
अध्यक्ष लामिछानेका अनुसार धेरै वर्षअघि ढाकाबाट आउने कपडासँग नाम जोडिएकाले यसको सम्बन्ध बंगलादेशको राजधानी ढाकासँग जोडिए पनि हाल नेपालीहरूले आफ्नै परम्परा, ज्यामितीय डिजाइन तथा आकर्षक रङ संयोजनमार्फत विकास गरेको विशिष्ट नेपाली कला नै ढाका भएको उल्लेख गरे ।
उनले पछिल्लो समयमा ढाका डिजाइनको प्रयोग चोली, सारी, कोट, टोपी, शल तथा स्वागत–सत्कारका सामग्रीहरूमा व्यापक रूपमा हुन थालेको चर्चा गरे । साथै भारतको कश्मीर क्षेत्रमा ढाकासँग मिल्दोजुल्दो तर अझ जटिल तथा उच्चस्तरीय “कानी” डिजाइन पश्मिनामा बुनिने गरिएको र विगतमा राजा–महाराजा तथा सुल्तानहरूले प्रयोग गर्ने उक्त सामग्रीको मूल्य लाखौँ पर्ने गरेको प्रसंग समेत उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्