नेपाल कृषिप्रधान देश भए पनि वास्तविक किसानले अझैसम्म उचित मूल्य र सम्मान पाउन नसकेको वर्तमान अवस्थामा कृषि क्षेत्रमै भविष्य खोज्दै केही युवा तथा उद्यमीहरू स्वदेशमै पसिना बगाइरहेका छन् । कृषि, स्थानीय उत्पादन प्रवर्द्धन र सामाजिक सेवामा लामो समयदेखि सक्रिय सुदूरपूर्व ताप्लेजुङका ओमप्रकाश लिम्बू तिनै उत्साही र मिहिनेती अभियान्ताहरू मध्येका एक हुन्, जसले कृषि क्षेत्रमा ठुलो लगानी र अतुलनीय परिश्रम खर्चेर उदाहरणीय काम गरिरहेका छन् ।

किसान, उपभोक्ता र बजारबीचको दूरीलाई घटाएर वास्तविक उत्पादकलाई प्रत्यक्ष लाभ दिलाउने मुख्य उद्देश्यका साथ लिम्बूले आफ्नो कृषि अभियानलाई अगाडि बढाइरहेका छन् । विगत लामो समयदेखि अर्गानिक तथा स्थानीय कृषि उत्पादनको उत्पादन, संकलन, प्रशोधन र बिक्री–वितरणमा जोड दिँदै आएका लिम्बुले किसानका उत्पादनलाई उचित बजार दिलाउन सेतुको रूपमा काम गरिरहेका छन् ।
आफ्नै गाउँ, जिल्ला र देशका किसानले उत्पादन गरेका ताजा, मौलिक तथा स्वदेशी वस्तुहरू नै देशको वास्तविक पहिचान र सम्पत्ति भएको उनको बुझाइ छ । स्थानीय उत्पादनको प्रवर्द्धन गर्न सके मात्र किसानको आयस्तर बढ्ने, परनिर्भरता र आयात घट्ने, युवाहरूका लागि स्वदेशमै रोजगारी सिर्जना हुने र अन्ततः देशको अर्थतन्त्र बलियो बन्ने दृढ विश्वासका साथ उनी यस क्षेत्रमा अहोरात्र खटिएका छन् ।
कृषिसँगै सामाजिक अभियानमा समेत उत्तिकै सक्रिय लिम्बूले नेपाली युवाहरूलाई मरुभूमिको तातो बालुवामा पसिना बगाउनुको साटो स्वदेशमै उद्यमी बन्न र माटोसँग जोडिन प्रेरित गर्दै आएका छन् । राजनीतिलाई कुनै पद वा व्यक्तिगत स्वार्थको माध्यम बनाउनुभन्दा माथि उठेर समाज, किसान र राष्ट्रको हितलाई केन्द्रमा राखी जनसरोकारका विषयमा आवाज उठाउनु उनी आफ्नो दायित्व ठान्दछन् ।
वर्तमान बजारमा स्वस्थ र गुणस्तरीय खाद्य वस्तुप्रति उपभोक्ताहरू सचेत बन्दै गएका कारण अर्गानिक र स्थानीय उत्पादनको माग निरन्तर बढिरहेको लिम्बुको अनुभव छ । यद्यपि, नेपालमा उत्पादनको प्रचुर सम्भावना भए तापनि आधुनिक प्रविधि, स्पष्ट योजना र बजार व्यवस्थापनको कमीले गर्दा अझै अपेक्षित परिणाम आउन नसकेको उनी बताउँछन् ।
हाल किसानहरूले उत्पादन गरे पनि सही मूल्य निर्धारण हुन नसक्नु, शीतभण्डार (कोल्ड स्टोर) को अभाव हुनु र बजारीकरणमा बिचौलियाको बिगबिगी हुनुले धेरै किसान निराश हुनुपर्ने अवस्था विद्यमान छ । विशेष गरी अर्गानिक उत्पादनमा बढी लागत लाग्ने, प्रमाणीकरणको झन्झटिलो प्रक्रिया रहेको, प्राविधिक ज्ञानको कमी र बजार व्यवस्थापन कमजोर हुनु मुख्य समस्याका रूपमा रहेका छन् ।
यस्ता बहुआयामिक चुनौतीहरूका बाबजुद ओमप्रकाशले कृषि क्षेत्रको सुधारका लागि स्पष्ट मार्गचित्र र आगामी योजनाहरू तय गरेका छन् । उनले किसानका उत्पादनलाई बिचौलियामुक्त बनाई प्रत्यक्ष रूपमा बजार र उपभोक्तासँग जोड्ने, अर्गानिक कृषि मार्टहरूको देशव्यापी विस्तार गर्ने, स्थानीय उत्पादनको उचित प्रशोधन र ब्रान्डिङ गर्ने तथा नेपाली उत्पादनलाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने दीर्घकालीन लक्ष्य राखेका छन् ।
कृषि क्षेत्रको यो समस्या समाधानका लागि सरकार, निजी क्षेत्र र किसानबीच त्रिपक्षीय सहकार्य अनिवार्य रहेको लिम्बूको ठम्याइ छ । अर्गानिक प्रमाणीकरण प्रक्रियालाई सहज बनाउने, किसानका लागि न्यूनतम समर्थन मूल्य सुनिश्चित गर्ने, प्रशोधन तथा बजारीकरणमा राज्यले लगानी बढाउने र उपभोक्तालाई अर्गानिक उत्पादनको महत्त्वबारे सचेत गराउन सकेमा नेपालको कृषि क्षेत्रले ठुलो फड्को मार्ने विश्वास लिम्बुले व्यक्त गरेका छन् । स्वदेशमै केही गरौँ भन्ने उनको यो उच्च मनोबल, कडा परिश्रम र बुझाइले पक्कै पनि आगामी दिनमा हजारौँ नेपाली युवाहरूलाई कृषिमार्फत समृद्ध बन्न प्रेरणा दिने निश्चित छ ।
राजधानीको मुटु मानिने घट्टेकुलोमा कृषि पसल सञ्चालन र काभ्रेको धुलिखेलमा कृषि फर्म खोलेर उनी यो अभियानलाई निरन्तरता दिइरहेका छन् । सकेसम्म अर्गानिक उत्पादन नै उपभोक्ताको चुल्होसम्म पुर्याउने उनको यो अभियानमा परिवारका सदस्यहरुको राम्रो साथ रहेको उनको भनाइ छ । कृषिमा केही गर्न खोज्ने युवाहरुलाई सरकारले विशेष योजना नै बनाएर भरपूर सहयोग गर्नु पर्ने उनी सरकार र सरोकारवाला निकायलाई आग्रह गर्छन् ।
प्रतिक्रिया दिनुहोस्