काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) निर्वाचनमा बलराम खतिवडा समूहको घोषणा स् ‘सहभागितामूलक र प्रतिनिधिमूलक नेतृत्वमार्फत संस्थागत सुधार’ को आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार बलराम खतिवडाको नेतृत्वमा रहेको समूहले विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। समूहले संस्थागत सुधार, सुशासन, व्यापक सहभागिता तथा ऊर्जा क्षेत्रको समग्र विकासलाई केन्द्रमा राखेर उम्मेदवारी घोषणा गरेको हो।
समूहले हालको नेतृत्वले साधारणसभाबाट पारित भएका संस्थागत पुनर्संरचना तथा विधान संशोधनसम्बन्धी निर्णयहरू कार्यान्वयन नगरेको आरोप लगाएको छ। आईपीप्यानलाई थप सहभागितामूलक, प्रतिनिधिमूलक र उच्च मर्यादायुक्त संस्था बनाउने उद्देश्यसहित आफूहरू निर्वाचन मैदानमा उत्रिएको समूहको दाबी छ।
बलराम खतिवडाले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा आईपीप्यानलाई सम्पूर्ण ऊर्जा उत्पादकहरूको साझा छाता संगठनका रूपमा सुदृढ बनाउने, सबै प्रवर्द्धक कम्पनीलाई संस्थामा आबद्ध गराउने तथा सदस्यहरूको समस्या समाधानका लागि ‘हेल्प डेस्क’ स्थापना गर्ने योजना अघि सारिएको छ। साथै संस्थालाई थप प्रभावकारी बनाउन विभिन्न विषयगत समिति गठन, अन्तर्राष्ट्रिय सेमिनार तथा सम्मेलन आयोजना, ऊर्जा क्षेत्रका नीति–नियमबारे अध्ययन तथा अनुसन्धानलाई प्राथमिकता दिने उल्लेख गरिएको छ।
समूहले तीन वर्षभित्र आईपीप्यानको आफ्नै भवन निर्माण वा खरिद गर्ने लक्ष्यसमेत राखेको छ। ऊर्जा पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि तालिम तथा सेमिनार आयोजना गर्ने प्रतिबद्धता पनि जनाएको छ।
सरकारसँग सहकार्यका लागि १६ बुँदे एजेन्डा
समूहले सरकारसँग सम्बन्धित विभिन्न नीतिगत सुधारका लागि १६ बुँदे कार्यक्रम सार्वजनिक गरेको छ। जसमा आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादनको सरकारी लक्ष्य पूरा गर्न सहकार्य गर्ने, ऊर्जा क्षेत्रसँग सम्बन्धित मन्त्रालय तथा निकायहरूसँग संस्थागत सम्बन्ध विस्तार गर्ने, ऊर्जा नीति तथा कानुन सुधारका लागि सरकारलाई सुझाव दिने तथा विद्युत खरिद–बिक्री सम्झौता ९एएब्० का समस्याहरू समाधान गर्न पहल गर्ने उल्लेख छ।
त्यस्तै, १६ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजना लागि तत्काल पीपीए खुलाउन दबाब दिने, निजी क्षेत्रलाई प्रसारण लाइन तथा सबस्टेसन निर्माणमा सहभागी गराउने वातावरण बनाउन पहल गर्ने, विद्युत व्यापारको अनुमति निजी क्षेत्रलाई दिन सरकारसँग समन्वय गर्ने तथा आयोजनाहरूको व्यावसायिक जोखिम न्यूनीकरणका लागि आवश्यक कानुनी र नीतिगत सुधारको माग गर्ने प्रतिबद्धता जनाएको छ।
बैंकिङ, वित्त र बीमामा विशेष जोड
प्रतिबद्धतापत्रमा ऊर्जा क्षेत्रमा न्यूनतम २० प्रतिशत कर्जा प्रवाहको व्यवस्था कायम राख्न पहल गर्ने, हरित ऊर्जाका लागि विशेष सहुलियतपूर्ण कर्जा तथा अनुदान व्यवस्था गर्न सरकार र नेपाल राष्ट्र बैंकसँग समन्वय गर्ने तथा विदेशी लगानी र सहुलियतपूर्ण वित्तीय स्रोत भित्र्याउन पहल गर्ने उल्लेख छ।
ऊर्जा आयोजनाहरूको बीमा तथा पुनर्बीमा व्यवस्थालाई सहज बनाउन बीमा कम्पनीहरूसँग समन्वय गर्ने, आईपीओ प्रक्रियामा रहेका जलविद्युत कम्पनीहरूको सूचीकरण प्रक्रिया छिटो गराउन पहल गर्ने तथा आयोजना सम्पन्न भएपछि व्यक्तिगत जमानत स्वतः फिर्ता हुने व्यवस्था मिलाउन प्रयास गर्ने कार्यक्रम पनि समावेश गरिएको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार
समूहले ऊर्जा क्षेत्रका लगानीकर्ता, नीति निर्माता तथा सरोकारवालाबीच सहकार्य बढाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने, सदस्य कम्पनीलाई अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागी गराउने तथा छिमेकी मुलुकहरूसँग विद्युत व्यापार विस्तारका लागि नीतिगत पहल गर्ने जनाएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायत निजी क्षेत्रका संस्थासँग सहकार्य विस्तार गर्ने तथा ऊर्जा विकाससम्बन्धी विषयमा राजनीतिक दलहरूसँग संवाद अघि बढाउने प्रतिबद्धता पनि समूहले व्यक्त गरेको छ।
उम्मेदवारहरूको सूची
बलराम खतिवडा नेतृत्वको समूहबाट वरिष्ठ उपाध्यक्षमा बलराम खतिवडा उम्मेदवार रहेका छन्। उपाध्यक्ष पदमा भरतबहादुर खत्री, भरतप्रसाद नेपाल, कुमार खरेल, इ दीपक पौडेल र सिर्जना खड्का उम्मेदवार छन्।
त्यस्तै महासचिवमा प्रकाशचन्द्र दुलाल, सचिवमा कृष्णप्रसाद घिमिरे, ताराबहादुर इश्बु लिम्बु, इ वीरेन्द्रबहादुर मल्ल, संगीता धमला तथा ईशा श्रेष्ठ उम्मेदवार छन्। कोषाध्यक्षमा इ मिथुन पौडेल उम्मेदवार रहेका छन्।
सदस्य पदका उम्मेदवारहरूमा सोमनाथ कडेल, डा भुषण गुरागाईं, सन्तोषराज नेपाल, मिलन खड्का, जगदीश शिवाकोटी, सीए नारायण कडेल, सुकुन्द ओझा, ज्योति गैरे, इन्दिरा पन्त तथा प्रदीप ओली रहेका छन्।
समूहले ‘परिवर्तनका लागि सहभागितामूलक तथा प्रतिनिधिमूलक नेतृत्व’ भन्ने नारासहित आईपीप्यानलाई सबै ऊर्जा उद्यमीहरूको साझा, सशक्त र प्रभावकारी संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस्