– सुरेन्द्र सुवेदी
(एजेन्सीहरुको सहयोगमा)
आजदेखि विश्वकै ठूलो र प्रतिक्षित खेल उत्सव, फिफा विश्वकप फुटबल औपचारिक रूपमा सुरु भएको छ। यस पटक अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यस विश्वकप खेलका हिसाबले मात्र नभई आर्थिक र पहुँचको दृष्टिकोणले पनि इतिहासकै सबैभन्दा ठूलो र व्यावसायिक रूपमा आकर्षक महाकुम्भ बन्ने निश्चित भएको छ। यस पटक सहभागी टोलीहरूको संख्या ३२ बाट बढाएर ४८ पुर्याइएको छ भने खेलहरूको संख्या पनि ६४ बाट बढेर १०४ पुगेको छ, जसले गर्दा यस खेलको आर्थिक कारोबार र दर्शक संख्याले विगतका सबै कीर्तिमानहरू तोड्दै नयाँ उचाइ लिने प्रक्षेपण गरिएको छ।
अन्तर्राष्ट्रिय फुटबल महासंघको आधिकारिक वित्तीय प्रतिवेदन र बजार विश्लेषकहरूका अनुसार चालू चार वर्षको व्यापारिक चक्र ९२०२३–२०२६० मा फिफाले कुल १३ अर्ब अमेरिकी डलर आर्जन गर्ने लक्ष्य राखेको छ, जसमध्ये करिब ९ अर्ब अमेरिकी डलर अर्थात नेपाली रुपैयाँमा हिसाब गर्दा करिब १२ खर्ब रुपैयाँ भन्दा बढीको कारोबार त केवल यसै विश्वकपको अवधिमा मात्र हुनेछ। यो रकम विगतको कतार विश्वकपको तुलनामा ५० प्रतिशतभन्दा बढीको विशाल वृद्धि हो। खेल सङ्ख्यामा भएको वृद्धि, उत्तर अमेरिकी बजारको ठूलो आयतन र फराकिलो प्रसारण सञ्जाल नै यो ऐतिहासिक आर्थिक कारोबार र अभूतपूर्व दर्शक पहुँचको मुख्य आधार बनेको हो।
यो विशाल आर्थिक साम्राज्यको मुख्य आम्दानीको स्रोतलाई नियाल्ने हो भने सबैभन्दा ठूलो हिस्सा टेलिभिजन तथा डिजिटल मिडिया प्रसारण अधिकारको रहेको छ, जसबाट मात्रै करिब ३.९ अर्ब अमेरिकी डलर संकलन हुने अनुमान छ। यसैगरी, विश्वभरका चर्चित ब्रान्डहरू र बहुराष्ट्र कम्पनीहरूको प्रयोजन तथा मार्केटिङ अधिकारबाट करिब २.८ अर्ब डलर आम्दानी हुने देखिएको छ। यस पटक फिफाले टिकट बिक्री र हस्पिटालिटीमा अपनाएको गतिशील मूल्य निर्धारण प्रणालीका कारण स्टेडियम र म्याच–डेबाट हुने आम्दानीमा अप्रत्याशित वृद्धि भई ३ अर्ब डलर पुग्ने अनुमान गरिएको छ, जुन कतार विश्वकपको तुलनामा २०० प्रतिशतभन्दा बढी हो। बाँकी रकम विभिन्न अनुमतिपत्र तथा व्यापारिक सामान बिक्रीबाट प्राप्त हुनेछ।
आम्दानीसँगै यो प्रतियोगिता सञ्चालन गर्नका लागि खर्चको बजेट पनि उत्तिकै भव्य र खर्चिलो बनाइएको छ। यो विश्वकप सम्पन्न गर्नका लागि फिफाले प्रत्यक्ष रूपमा ३.८ अर्ब अमेरिकी डलर करिब ५ खर्ब नेपाली रुपैयाँ खर्च गर्दैछ, जुन इतिहासकै महँगो सञ्चालन बजेट हो। यस खर्चको ठूलो हिस्सा प्रतियोगिताको व्यवस्थापन, सुरक्षा, प्रविधि, यातायात र खेल सञ्चालनका लागि आवश्यक पूर्वाधारमा खर्च हुनेछ। खर्चको अर्को प्रमुख आकर्षण यस पटकको कीर्तिमानी पुरस्कार राशि हो, जसका लागि कुल ८७ करोड १० लाख अमेरिकी डलर छुट्याइएको छ।
प्रतियोगितामा सहभागी हुने प्रत्येक राष्ट्रले न्यूनतम १ करोड २५ लाख डलर पाउनेछन् भने यस पटकको विश्वकप विजेता टोलीले मात्रै ५ करोड ३५ लाख अमेरिकी डलर करिब ७ अर्ब नेपाली रुपैयाँको ठूलो पुरस्कार राशिसहित सुनौलो ट्रफी चुम्नेछ। फिफाले आफ्नो आम्दानीको ठूलो हिस्सा विश्वभर फुटबलको विकासका लागि आफ्ना २११ सदस्य राष्ट्रहरूमा पुनः लगानी गर्ने नीति समेत लिएको छ।
मैदानमा सुरु भएको यो महासंग्रामलाई संसारभरबाट कति मानिसले हेर्नेछन् भन्ने उत्सुकता पनि उत्तिकै रोचक छ। फिफा र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको अनुमान अनुसार यस पटक विश्वभरका करिब ६ अर्ब दर्शकले टेलिभिजन र डिजिटल प्लेटफर्ममार्फत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा खेलहरू नियाल्नेछन्। यो संख्या अघिल्लो कतार विश्वकपको ५ अर्बको रेकर्डभन्दा निकै माथि हो। विश्वको कुल जनसंख्याको झन्डै ७० प्रतिशत हिस्सा यस पटक कुनै न कुनै रूपमा विश्वकपको प्रसारणसँग जोडिने देखिएको छ।
अमेरिका, क्यानडा र मेक्सिकोका अत्याधुनिक रंगशालाहरूमा मात्रै कुल ६० लाखभन्दा बढी दर्शकले प्रत्यक्ष बसेर खेल हेर्ने अनुमान गरिएको छ। जुन सन् १९९४ को अमेरिकी विश्वकपको ३६ लाखको रेकर्डभन्दा धेरै बढी हो। तर, त्योभन्दा ठूलो क्रान्ति मोबाइल एप, ओटिटी प्लेटफर्म र सामाजिक सञ्जालमा हुने लाइभ स्ट्रिमिङले ल्याउँदैछ। विशेष गरी एसिया र अफ्रिकी महादेशका करोडौँ युवाहरूले यस पटक आफ्नो हातमा रहेको स्मार्टफोनमार्फत खेलहरू प्रत्यक्ष हेरिरहेका छन्, जसले गर्दा फाइनल खेल खेलिँदा एकातिर मात्रै १ अर्ब ५० करोडभन्दा बढी मानिस स्क्रिनमा एकैसाथ जोडिने अनुमान गरिएको छ।
फिफाको यो प्रत्यक्ष आर्थिक चक्र र प्रसारण पहुँचबाहेक आयोजक देशहरूको स्थानीय अर्थतन्त्रमा यसले ल्याउने अदृश्य तरंग झन् वृहत छ। विश्व व्यापार संगठन र आर्थिक विश्लेषकहरूका अनुसार विश्वभरबाट आउने लाखौँ खेलप्रेमी पर्यटक, होटल व्यवसाय, यातायात र स्थानीय मनोरञ्जन क्षेत्रको चहलपहलका कारण यस विश्वकपले विश्वव्यापी कुल गार्हस्थ्य उत्पादनमा ४० अर्ब डलरभन्दा बढीको सकारात्मक योगदान दिनेछ। खेलप्रेमीहरूका लागि यो केवल ९० मिनेटको रोमाञ्चक प्रतिस्पर्धा मात्र होइन। बरु विश्व बजार र खेलप्रेमीहरूलाई एउटै मैदानमा जोड्ने डलर, रुपैयाँ र अभूतपूर्व मानवीय भावनाको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली माध्यम पनि हो।
प्रतिक्रिया दिनुहोस्