सैनिक कल्याणकारी निर्देशनालयले सैनिक कल्याणकारी कोषको मुख्य ‘चार स’ अर्थात शिक्षा, स्वास्थ्य, सुविधा तथा सहुलियत र सीप तथा स्वरोजगारको कल्याणकारी अवधारणा अघिसार्दै स्वरोजगारतर्फ हितकारीलाई अवसर दिइहरेको छ । निर्देशनालयले सीप र स्वरोजगारको क्षेत्रलाई विशेष स्तरोन्नति गर्दै व्यापक रूपमा विभिन्न लक्षित कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
नेपाली सेनामा कार्यरत पदिक तथा अन्य दर्जाका बहालवाला सैनिकहरूलाई आफ्नो सेवा अवधि सकेर निवृत्तिभरण, अवकाश वा राजीनामा गरेर गए पश्चात् पनि समाजमा मर्यादित र आत्मनिर्भर जीवनयापन गर्न तथा स्व-आयआर्जनका क्षेत्रमा सक्षम बनाउने विशेष उद्देश्य राखिएको छ। यसै लक्ष्यलाई मूर्तरूप दिन अवकाश जाने क्रममा रहेका सकलदर्जाहरूका लागि नेपाली सेना व्यावसायिक तालिम केन्द्र, त्रिपुरेश्वरमा पूर्णतः व्यावहारिक र प्राविधिक विधाका विभिन्न महत्त्वपूर्ण तालिमहरू निरन्तर रूपमा प्रदान गरिँदै आइएको छ।

त्रिपुरेश्वरस्थित व्यावसायिक केन्द्रबाट अवकाशोन्मुख सैनिकहरूले समाजमा अत्यधिक माग भएका र बजारमुखी सीपहरू जस्तै जनरल कुक, प्लम्बर, पेन्टर, इलेक्ट्रिसियन, कार्पेन्टर, इँटा गाह्रो लगाउने र वेल्डर जस्ता प्राविधिक विषयहरूमा गहन तालिम प्राप्त गर्ने अवसर पाइरहेका छन्। सैनिक कल्याणकारी कोषको प्रत्यक्ष लगानीमा सञ्चालित यस केन्द्रको प्रभावकारिता उच्च देखिएको छ । यहाँबाट हालसम्म ४ हजार ७ सय १५ जना सैनिकले सफलतापूर्वक विभिन्न ट्रेडका तालिमहरू प्राप्त गरिसकेका छन् भने यो शैक्षिक सत्रमा २ सय ७९ जना प्रशिक्षार्थी सक्रिय रूपमा तालिमरत रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
सैनिक परिवारका महिलाहरू तथा आश्रित सन्ततिको आर्थिक सशक्तीकरण र क्षमता विकासका लागि पनि निर्देशनालयले सैनिक श्रीमती संघको विशेष पहल र सक्रियतामा छुट्टै बृहत् तालिम संरचना खडा गरेको छ। सैनिक कल्याणकारी कोषको बलियो आर्थिक सहयोगमा नेपाली सेना व्यावसायिक तालिम केन्द्र, छाउनी, काठमाडौँ र काठमाडौँ उपत्यका बाहिर रहेका सेनाका विभिन्न सञ्चालित युनिटहरूमा बहालवाला एवं भूतपूर्व सैनिकका श्रीमती, एकल महिला, ४५ वर्षको उमेर हद ननाघेका आमा र अविवाहित छोरीलाई लक्षित गरी आत्मनिर्भरताका विविध कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
छाउनी र बाह्य युनिटहरूमा महिलाहरूलाई घरेलु तथा साना उद्योगतर्फ आकर्षित गराउन र तुरुन्तै स्वरोजगार बन्न सक्ने वातावरण सिर्जना गर्नका लागि सिलाई(कटाई, एड्भान्स फेसन डिजाइनिङ, ब्युटिसियन, कुक, मन्टेश्वरी शिक्षा, लाइट ड्राइभिङ, कम्प्युटर बेसिक र बेकरी तथा अचार बनाउने जस्ता आयआर्जनमुखी सीपहरू सिकाइने व्यवस्था गरिएको छ। यो कार्यक्रम १८ वर्ष पूरा भई २५ वर्ष ननाघेका अविवाहित छोरा तथा छोरीहरूका लागिसमेत व्यावसायिक ढोका खोल्ने माध्यम बनेको छ। छाउनीस्थित यस विशिष्ट केन्द्रको तथ्याङ्क अनुसार हालसम्म २ हजार ६ सय १४ जनाले सफलताका साथ यी सीपहरू आफ्नो व्यावसायिक जीवनमा उतारिसकेका छन् र हाल २ सय ८० जना नयाँ प्रशिक्षार्थीहरू दक्षता हासिल गर्ने क्रममा तालिम लिइरहेको सेनाले जनाएको छ।

सैनिक सेवाबाट पूर्ण रूपमा निवृत्त भइसकेका भूतपूर्व सैनिकका लागि भने निर्देशनालयलेुनेपाली सेना कल्याणकारी बोर्डमार्फत देशका विभिन्न भौगोलिक क्षेत्र र समुदाय अनुकूल हुने गरी कृषि तथा उत्पादनमूलक क्षेत्रमा व्यापक तालिम कार्यक्रमहरू विस्तार गरेको छ। महाराजगञ्जस्थित बोर्डको केन्द्रीय कार्यालय तथा देशका कुना(काप्चामा रहेका विभिन्न क्षेत्रीय निकायहरू र भूतपूर्व सैनिक सम्मेलनहरूबाट प्राप्त पृष्ठपोषणका आधारमा आधुनिक कृषि प्रणाली र स्थानीय उद्यमशीलतालाई जोड्ने प्रयास गरिएको छ।
भूपू सैनिकहरूलाई स्वरोजगार बनाउने क्रममा मौरी पालन, आधुनिक पशुपालन, उन्नत माछा पालन, व्यावसायिक तरकारी तथा फलफूल खेती, रैथाने सीपमा आधारित अचार बनाउने प्रविधि, जडिबुटी खेती तथा त्यसको प्रशोधन, सहरी क्षेत्रका लागि कौसी खेती, व्यावसायिक च्याउ खेती, प्राङ्गारिक एवं अर्गानिक मल बनाउने विशेष तालिम र स्थानीय स्तरमा दुध डेरी सञ्चालन गर्ने जस्ता व्यावसायिक एवं बजार(उन्मुख तालिमहरू निरन्तर प्रदान गरिँदै आइएको छ।
कोषले आफ्नै आन्तरिक स्रोत र पारदर्शी लेखा परीक्षण प्रणालीको जगमा उभिएर सञ्चालित यी प्राविधिक, व्यावसायिक तथा कृषिजन्य तालिमहरूले अवकाशप्राप्त सैनिक र तिनका परिवारको जीवनस्तरमा गुणात्मक सुधार मात्र ल्याएका छैनन्, बरु देशको अर्थतन्त्रका लागि ठूलो सङ्ख्यामा दक्ष प्राविधिक जनशक्ति उत्पादन गरी नेपाल सरकारको राष्ट्रिय रोजगार नीति र मुलुकको समग्र समावेशी आर्थिक विकासको कार्यक्रममा समेत प्रत्यक्ष र अतुलनीय योगदान पुर्याइरहेको देखिन्छ।
प्रतिक्रिया दिनुहोस्