Advertisement GIF
आइएमईको सांगीतिक एम्बेसेडरमा  गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त हुनुभएको छ। आइएमई लिमिटेडले  सपुतलाई आफ्नो सांगीतिक एम्बेसेडरका रूपमा आधिकारिक रूपमा सार्वजनिक गरेको हो। रेमिट्यान्स सेवालाई थप प्रभावकारी बनाउँदै ग्राहकहरूसँगको व्यावसायिक सम्बन्धलाई अझ बलियो र आत्मीय बनाउने उद्देश्यले सपुतलाई संस्थामा आबद्ध गरिएको कम्पनीले जनाएको छ।

आफ्ना मौलिक लोक सिर्जना र सामाजिक चेतनामूलक गीतहरूका कारण सपुत नेपाली समाजमा निकै लोकप्रिय हुनुहुन्छ र गाउँदेखि सहरसम्म अनि दूरदराजदेखि विदेशमा रहेका नेपालीहरूमाझ उहाँका गीतहरू उत्तिकै रुचाइएका छन्।

रोजगारीका लागि विश्व श्रम बजारमा पुगेका आम नेपालीहरूको वास्तविक भावना र भोगाइलाई प्रकाश सपुतले आफ्ना गीत संगीत मार्फत सशक्त रूपमा बोल्दै आउनुभएको छ। देशको अर्थतन्त्र र समाजलाई समृद्ध बनाउन रेमिट्यान्सले खेलेको बहुआयामिक भूमिकालाई आम मानिससम्म सरल ढङ्गले बुझाउन सपुतको आगमनले थप मद्दत पुग्ने विश्वास आइएमईले लिएको छ।

सम्झौता कार्यक्रममा बोल्दै आइएमई लिमिटेडका महाप्रबन्धक बद्री कटवालले प्रकाश सपुतका सिर्जनाले समाजको यथार्थ बोल्ने र नेपालीको मन छुने भएकाले यो सहकार्यले कम्पनीको सामाजिक अभियानमा एउटा छुट्टै आफ्नोपन थप्ने उल्लेख गर्नुभयो। साथै, उहाँले स्वदेश र विदेशको भौतिक दूरीलाई कम गर्न संगीत सबैभन्दा बलियो माध्यम भएको र यसले प्रवासी नेपाली श्रमिकहरूका लागि एउटा भरपर्दो सारथीको काम गर्ने स्पष्ट पार्नुभयो।

त्यस्तै, नवनियुक्त सांगीतिक दूत एवं गायक प्रकाश सपुतले आइएमई जस्तो देशकै अग्रणी र प्रतिष्ठित संस्थासँग जोडिन पाउँदा आफू निकै उत्साहित भएको बताउनुभएको छ। उहाँले यो सहकार्यमार्फत विश्वभर छरिएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई संगीतको माध्यमबाट आफ्नो माटो र संस्कृतिसँग सधैँ जोडीराख्ने प्रतिबद्धता समेत जनाउनुभयो। यो सहकार्यले रेमिट्यान्स क्षेत्रमा ब्रान्डको साख बढाउन र कला संस्कृति मार्फत उपभोक्तालाई जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। थप जानकारीका लागि पानीपोखरी, काठमाडौँमा रहेको आइएमई ग्रुपको केन्द्रीय कार्यालयको फोन नम्बर ०१-४४३०६००, एक्सटेन्सन २५७ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।