Advertisement GIF
सशस्त्रका वरिष्ठ हवलदार कुँवरले ल्याए ‘फौजी जीवनको माला’ कविता संग्रह

नेपाली साहित्यिक आकाशमा फौजी जीवनका यथार्थपरक भोगाइ, सिमाना रक्षाको कडा सङ्कल्प र देशप्रेमको भावनाले भरिएको एउटा नयाँ र शक्तिशाली कृति थपिएको छ। सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत वरिष्ठ हवलदार दोर्णबहादुर कुँवरद्वारा रचित कविता सङ्ग्रह ‘फौजी जीवनको माला’ नेपाली कम्ब्याट साहित्यको एउटा बलियो र जीवन्त उदाहरणका रूपमा बजारमा आएको हो।

सुदूरपश्चिमको बैतडी जिल्लास्थित पुर्चौँडी, भटखेत पुर्ख्यौली घर भई हाल कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७,

जब्दामा स्थायी बसोबास गर्ने कुँवरले हलचोकस्थित सशस्त्र मुख्यालयमा सेवा गरिरहँदा आफ्ना ड्युटी र कार्यक्षेत्रका जीवन्त अनुभवहरूलाई शब्दमा उनेर यो सङ्ग्रह तयार पार्नुभएको हो। ५०० प्रतिको पहिलो संस्करणका रूपमा हाम्रो छापाखाना, स्वयम्भूबाट मुद्रण भएर बजारमा आएको १५५ रुपैयाँ मूल्यको यस कृतिले फौजी पोशाकभित्र लुकेको एउटा कोमल र संवेदनशील कवि हृदयलाई पाठकमाझ निकै गम्भीरतापूर्वक प्रस्तुत गरेको छ।

यस सङ्ग्रहभित्र समग्र फौजी जीवनको प्रतिनिधित्व गर्ने १६ वटा अत्यन्तै मार्मिक र ओजपूर्ण कविताहरू संकलित छन्, जसमा आमाको अभाव, म हुँ राष्ट्र सेवक छोरो, मेरो देश मेरो सगरमाथा मुटु भन्दा प्यारो छ, उद्धारमा आयो सशस्त्र प्रहरी, विपद् उद्धारमा खटिने सशस्त्र प्रहरी म, प्रहरी हाम्रो साथी र देश बाँचे हामी बाँच्नेछौँजस्ता शीर्षकहरू समावेस गरिएका छन्।

पुस्तकभित्र रहेको उद्धारमा आयो सशस्त्र प्रहरी शीर्षकको कविताले देशमा बाढीपहिरो, भूकम्प वा अन्य प्राकृतिक विपत्ति आइपर्दा नागरिकहरूको अमूल्य जीवन बचाउन आफ्नो ज्यानको समेत प्रवाह नगरी अहोरात्र खटिने सशस्त्र प्रहरीको अदम्य साहस र योगदानको वास्तविक तस्बिर खिचेको पाइन्छ। मध्यरातमा नदीको बहावमा फसेका वा पहिरोमा पुरिएका सर्वसाधारणलाई उद्धार गर्दाको कहालीलाग्दो क्षण र त्यसपछि पाइने आत्मसन्तुष्टिलाई कविले कविताका पंक्तिहरूमा निकै न्यायपूर्वक उतारेका छन्।

स्वर्गीय रणबहादुर र कलावतीदेवी कुँवरका कान्छा छोरा तथा कमला बिष्टका पति सर्जक कुँवरले आफ्ना दिवंगत पिता, ममतामयी माता र धर्मपत्नीप्रति यो कृति समर्पण गर्दै व्यक्तिगत सुख र पारिवारिक सामीप्यताभन्दा माथि उठेर राष्ट्र सेवामा समर्पित हुँदाको आन्तरिक वेदना र गौरव दुवैलाई साहित्यको कसीमा ढाल्ने प्रशंसनीय प्रयास गर्नुभएको छ।

कृतिमा सशस्त्र प्रहरीका निवर्तमान महानिरीक्षक राजु अर्यालले विशेष शुभकामना सन्देश दिँदै राष्ट्र र राष्ट्रभक्तिमा समर्पित रही आफ्नो अन्तरमनको पवित्र भावनालाई आम पाठकमाझ पुर्‍याउने उद्देश्यले प्रकाशित यस कविता सङ्ग्रहले सशस्त्र प्रहरी बल नेपाल जस्तो जुझारु सङ्गठनको छवि, देशभक्ति र अटुट सेवाभावलाई समाजमा अझ परिष्कृत रूपमा उजागर गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

लेखक कुँवरका अनुसार सङ्गठनभित्र रहेर अहोरात्र ड्युटी गर्दा संकलन भएका अनुभूति, देशका ७७ वटै जिल्लाका युनिटहरूबाट आउने सूचना, र विपद्का बेला नागरिकहरूको आँखामा देखिने भरोसालाई रचनात्मक माध्यमबाट जनमानसमा सम्प्रेषण गर्ने पवित्र उद्देश्यका साथ यो कृति तयार पारिएको हो। देशको सिमानामा चौकिदारी गर्ने सिपाहीको बन्दुकसँगै कलम पनि उत्तिकै बलियोसँग चल्छ भन्ने सन्देश दिने यो सङ्ग्रह नेपाली साहित्य जगत्मा एउटा नितान्त फरक, यथार्थपरक र कदरयोग्य दस्तावेज सावित भएको छ, जसले हरेक पाठकको मनमा राष्ट्रियताको नयाँ तरंग पैदा गर्नेछ।