Advertisement GIF
श्री ३ जङ्गबहादुर राणाको २०९ औं जन्मजयन्ती : राष्ट्रिय विभूति बनाउनु पर्ने माग

श्री ३ महाराज जङ्गबहादुर राणाको २०९ औं जन्मजयन्तीको अवसरमा आयोजित ‘नेपाली राष्ट्रियता र श्री ३ महाराज जङ्गबहादुर राणा’ विषयक विशेष प्रवचन कार्यक्रममा उहाँलाई राष्ट्रिय विभूति बनाउनु पर्ने माग उठेको छ । आज असार ७ गते नेपाली सेनाको जङ्गीअड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डपमा भएको यो कार्यक्रममा देशमा विभिन्न क्षेत्रमाा योगदान दिएका विशिष्ट व्यक्तिहरुको बाक्लो उपस्थिति थियो ।

श्री ३ जङ्ग संस्था, नेपाल तथा श्री ३ जङ्ग २०९ औं जन्मजयन्ती समारोह समितिको संयुक्त आयोजनामा सञ्चालन भएको यस विशेष समारोहमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष एवं अवकाशप्राप्त रथी सरोज प्रताप राणाले गर्नु भएको थियो भने क्याप्टेन विकास जबराले उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई शब्दमार्फत स्वागत गर्नु भएको थियो ।

उक्त समारोहमा नेपालका प्रतिष्ठित विद्वान, प्राज्ञ तथा वरिष्ठ पत्रकारहरूले जङ्गबहादुर राणाको शासनकाल, इतिहास, कूटनीति र देशका लागि पुर्‍याएको योगदानका विभिन्न आयाममाथि केन्द्रित रहेर आफ्ना गहन प्रवचनहरू प्रस्तुत गरेका थिए। प्राडा रामप्रसाद उपाध्यायले श्री ३ महाराज जङ्गबहादुर राणाको कूटनीति र वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले श्री ३ महाराज जङ्गबहादुर राणाको योगदान विषयमा आफ्नो प्रस्तुति दिँदै इतिहासका कतिपय अनुद्घाटित पक्षहरूमाथि प्रकाश पार्नु भएको थियो ।

त्यसैगरी, पूर्व उपकुलपति डा जगमान गुरुङले धर्म र संस्कृतिको संरक्षणमा श्री ३ महाराज जङ्गबहादुर राणाको भूमिका र अर्का पूर्व उपकुलपति प्राडा रमेशकुमार ढुङ्गेलले बेलायती दृष्टिमा श्री ३ महाराज जङ्गबहादुर राणा विषयक महत्वपूर्ण कार्यपत्र प्रस्तुत गर्नु भयो । सोही अवसरमा जङ्गबहादुर राणाको प्रधानमन्त्रित्वकालमा भएका केही प्रमुख ऐतिहासिक कर्मा र देशको सीमा रक्षा तथा कानुनी सुधारका कार्यहरूलाई समेटेर तयार पारिएको विशेष वृत्तचित्र भिडियोसमेत प्रदर्शन गरिएको थियो।

प्रमुख अतिथि पूर्व राष्ट्रपति भण्डारीले विशेष सम्बोधन गर्दै जंगबहादुरका योगदानको चर्चा गर्नु भयो ।

आयोजक समितिका तर्फबाट धन्यवाद मन्तव्यका क्रममा संस्थाका अध्यक्ष एवं अवकाशप्राप्त रथी सरोजप्रताप राणाले श्री ३ महाराज जङ्गबहादुर राणाको शासनकालको अध्ययनलाई भावनात्मक, राजनीतिक वा पूर्वाग्रही दृष्टिकोणबाट नभई तथ्य, प्रमाण र ऐतिहासिक सन्दर्भका आधारमा पुनर्मूल्यांकन गर्नु आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । उहाँले अब नेपालको इतिहासलाई नयाँ दृष्टिकोण, नवीन स्रोतहरू र समालोचनात्मक विश्लेषणका आधारमा पुनः अध्ययन तथा लेखन गर्नु समयको आवश्यकता रहेको कुरामा विशेष जोड दिनुभयो।