नेपाली शास्त्रीय सङ्गीतका वरिष्ठ तथा चर्चा कमाउन सफल सरोदवादक पण्डित सुदर्शन राजोपाध्याय भारतको आसाम राज्यमा प्रदान गरिने प्रतिष्ठित ‘कला शिरोमणि पुरस्कार’ बाट सम्मानित हुनुहुने भएको छ।
भारतको गुवाहाटीस्थित कुमारपारामा रहेको श्री श्री राजहुवा सत्रद्वारा आयोजना हुने ‘दसौँ अन्तर्राष्ट्रिय सङ्गम महोत्सव’ का अवसरमा उहाँलाई उक्त सम्मान प्रदान गर्न लागिएको हो। आगामी साउन ४, ५ र ६ गते (जुलाई १९, २० र २१, २०२६) सम्म सञ्चालन हुने त्रिदिवसीय महोत्सवमा विभिन्न देशका कलाकारहरूको सहभागितामा नृत्य, गायन, वाद्यवादन, कविता वाचन तथा नाटकसम्बन्धी प्रतियोगिता र सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ।
महोत्सवका क्रममा पण्डित राजोपाध्यायले नेपालको प्रतिनिधित्व गर्दै सरोदवादन प्रस्तुत गर्नुका साथै प्रतिष्ठित ‘कला शिरोमणि पुरस्कार’ ग्रहण गर्नुहुने कार्यक्रम रहेको छ।
यसअघि पनि उहाँ भारतको महाराष्ट्रस्थित पुणेमा अखिल लोककला सांस्कृतिक संस्थाद्वारा आयोजित ‘भारत उत्सव–२०२६’ मा प्रतिष्ठित ‘कलाक्षेत्रम पुरस्कार’बाट सम्मानित भइसक्नुभएको छ। उक्त उत्सवमा भारतका विभिन्न राज्यबाट सहभागी तीन हजार पाँच सयभन्दा बढी कलाकारहरूको प्रस्तुति मूल्याङ्कन गर्न उहाँलाई निर्णायकका रूपमा आमन्त्रण गरिएको थियो। निर्णायकको भूमिका सफलतापूर्वक निर्वाह गरेबापत उहाँलाई सो सम्मान प्रदान गरिएको थियो।
नेपालको शास्त्रीय सङ्गीतलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न निरन्तर सक्रिय रहनुभएका पण्डित राजोपाध्यायले यसअघि ‘सुरताल अन्तर्राष्ट्रिय सम्मान पुरस्कार–२०२५’, ‘विविधतामा एकता राष्ट्रिय सम्मान–२०२०’, ‘भारतीय उत्कृष्ट पुरस्कार–२०१९’, पश्चिम बङ्गाल सरकारद्वारा प्रदान गरिएको ‘सङ्गीतमञ्जरी’ उपाधि तथा सन् २०१५ मा गुजरातमा प्रदान गरिएको ‘स्वर्णपत्र’ लगायतका अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसक्नुभएको छ।
स्वदेशमा पनि उहाँले २०५९ मा रेडियो नेपालद्वारा आयोजित जिल्लाव्यापी सङ्गीत प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुभएको थियो। त्यसयता ‘शास्त्रीय सम्मान–२०१८’, ‘राष्ट्र बचाउ पुरस्कार’लगायत विभिन्न राष्ट्रिय सम्मानबाट सम्मानित हुनुभएको छ।
सरोदवादनमा विशिष्ट पहिचान बनाउनुभएका राजोपाध्यायका नेपाली भाषामा ‘पलपल’, ‘पानीसरी’ र ‘त्यो रात’ तथा नेपाल भाषामा ‘नसला’, ‘हसना’, ‘छन्हुनिन्ह र ‘छग मतिना’ जस्ता साङ्गीतिक कृतिहरू प्रकाशित छन्। शास्त्रीय सङ्गीततर्फ ‘वान् डे रागाज्’, ‘ध्यानका लागि आत्मिक सङ्गीत’ तथा भारतबाट प्रकाशित ‘सुरिलो सङ्गीत’ लगायतका ध्वनि अभिलेखसमेत सार्वजनिक भइसकेका छन्।
विगत लामो समयदेखि शास्त्रीय वाद्यवादन र सङ्गीतको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रदान गर्न लागिएको ‘कला शिरोमणि पुरस्कार’ले पण्डित सुदर्शन राजोपाध्यायको व्यक्तिगत उपलब्धिलाई मात्र होइन, नेपाली शास्त्रीय सङ्गीतको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई समेत थप उचाइमा पुर्याउने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस्