सशस्त्र प्रहरी बल, नेपालका आईजीपी नारायणदत्त पौडेलले सशस्त्र प्रहरी कर्मचारीहरुलाई उच्च अनुशासन र व्यावसायिकतासाथ राष्ट्र र आम नागरिकहरुको सेवा र सुरक्षामा कटिवद्ध भएर लाग्न निर्देशन दिनुभएको छ ।
प्रहरी बलको प्रधान कार्यालयमा संचालन भएको कमाण्ड अनुशिक्षण तालिमको समापन कार्यक्रममा महानिरीक्षक पौडेलले परिवर्तीत सन्दर्भमा सरकार र जनताको चाहना र अपेक्षा अनुसार कार्य गर्नुपर्ने बताउनुभयो ।
उहाँले सीमित श्रोतसाधनका बीच प्राप्त जिम्मेवारीहरु पुरा गर्नुपर्ने र सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरु आर्थिक पारदर्शीता, मानव अधिकारको पूर्ण पालना गरी कार्यक्षेत्रमा परिचालित हुनुपर्नेमा जोड दिनुहुँदै गैह्र कानूनी कामकारवाहीमा संलग्न तथा गलत काम गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरु कारवाहीको भागिदार हुने समेत बताउनुभयो ।
महानिरीक्षक पौडेलले मुलुक र जनताको हितमा संगठनको मर्यादा र नीति नियममा रहेर कार्य गर्नुपर्ने बताउनुहुँदै कर्तव्य पालनाको सिलसिलामा कार्यक्षेत्रमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरु सरोकारवाला निकायसगँको समन्वय र सहकार्यमा परिचालित हुन निर्देशन दिनुभयो ।
उहाँले हरेक दिन राम्रो काम गर्छु र अघि बढ्छु भन्ने सकारात्मक सोचसाथ सशस्त्र प्रहरी कर्मचारीहरु उच्च मनोवलसहित कार्यक्षेत्रमा खटिनुपर्ने उल्लेख गर्नुहुँदै बढ्दो सुरक्षा चुनौती अनुसार परिचालित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा विभागीय प्रमुखहरु सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहाल, गणे बहादुर ठाडा मगर र अञ्जनीकुमार पोखरेलले कमाण्डमा जान लागेका अधिकृतहरुलाई त्रुटिरहित ढंगले सीमा सुरक्षा, अप्रेशनल तथा प्रशासनिक कामकारवाही गर्न निर्देशन दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्