नेपालको राष्ट्रिय हित, राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धका समसामयिक विषयमा तथ्यपरक तथा समाधानमुखी बहसलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘मिसन–राष्ट्रसेवा’ रणनीतिक संवाद शृङ्खला–१ को पहिलो कार्यक्रम सम्पन्न भएको छ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ र ईगल थिङ्क ट्याङ्कको संयुक्त आयोजनामा पुल्चोकस्थित संघको सभाहलमा सम्पन्न कार्यक्रममा बदलिँदो विश्वव्यवस्था, नेपालको परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा, रणनीतिक स्वायत्तता तथा राष्ट्रिय हितको संरक्षणलगायत विषयमा गहन छलफल गरिएको थियो। कार्यक्रममा दलीय आग्रहभन्दा माथि उठेर राष्ट्रिय एकता, व्यावसायिक अनुशासन, प्राज्ञिक निष्ठा र रचनात्मक संवादलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ।
कार्यक्रमको उद्घाटन सत्रमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका केन्द्रीय सभापति सहायक रथी डा। केशरबहादुर भण्डारी ९अवकाशप्राप्त० ले राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा गैरदलीय तथा तथ्यपरक संवादको आवश्यकता औँल्याउँदै पूर्वराष्ट्रसेवकहरूको अनुभव, अनुशासन र संस्थागत ज्ञानलाई राष्ट्र निर्माण तथा नीतिगत बहसमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमका प्रमुख वक्ता पूर्वपरराष्ट्र सचिव तथा पूर्वराजदूत मधुरमण आचार्यले ‘बदलिँदो विश्वव्यवस्थामा राष्ट्रिय हितको संरक्षणका लागि नेपालको परराष्ट्र नीति’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै क्षेत्रीय तथा विश्व शक्ति सन्तुलनका बीच नेपालले राष्ट्रिय प्राथमिकतामा आधारित, सन्तुलित, विश्वसनीय र व्यावहारिक कूटनीति अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
त्यसैगरी सहायक रथी डा। केशरबहादुर भण्डारी ९अवकाशप्राप्त० ले ‘समसामयिक सन्दर्भमा राष्ट्रिय सुरक्षा नीति’ विषयमा धारणा राख्दै राष्ट्रिय सुरक्षा सैनिक वा प्रतिरक्षामा मात्र सीमित नभई कूटनीतिक, आर्थिक, सामाजिक, प्रविधिगत, वातावरणीय, संवैधानिक तथा मानव सुरक्षासँग जोडिएको व्यापक अवधारणा भएको बताउनुभयो।

संवादका क्रममा राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धलाई सरकार वा सुरक्षा निकायको मात्र जिम्मेवारीका रूपमा नहेरी ‘सम्पूर्ण राष्ट्रको समन्वयात्मक दृष्टिकोण’ अवलम्बन गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो। यसका लागि राज्यका निकाय, कूटनीतिक क्षेत्र, सुरक्षा संयन्त्र, विश्वविद्यालय, निजी क्षेत्र, नागरिक समाज र जिम्मेवार नागरिकबीच निरन्तर सहकार्य आवश्यक रहेको सहभागीहरूको निष्कर्ष थियो।
कार्यक्रममा लामो समय राष्ट्र सेवामा रहेका पूर्वसैनिक तथा पूर्वराष्ट्रसेवकहरूको अनुभव, नेतृत्व क्षमता र संस्थागत ज्ञानलाई नीति निर्माण, अनुसन्धान, प्रशिक्षण तथा राष्ट्रिय संवादमा प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा पनि जोड दिइएको थियो।

ईगल थिङ्क ट्याङ्कले सुरक्षा, कूटनीति, वातावरण, नेतृत्व र मानव संसाधन व्यवस्थापनका क्षेत्रमा अनुसन्धानलाई निरन्तरता दिँदै नेपालको भूराजनीतिक अवस्थालाई अवसरमा रूपान्तरण गर्न विभिन्न क्षेत्रबीच समन्वय आवश्यक रहेको उल्लेख गरेको छ। कार्यक्रममा भएका निष्कर्ष, सिकाइ र भावी सुधारका क्षेत्र समेटिएको ‘आफ्टर एक्सन रिभ्यु’ तथा तस्बिरहरू दुवै संस्थाका आधिकारिक वेबसाइटमा प्रकाशन गरिने जनाइएको छ।
पूर्वसैनिक, पूर्वकूटनीतिज्ञ, सुरक्षा तथा रणनीतिक मामिलाका विज्ञ, प्राज्ञ, अनुसन्धानकर्ता, सञ्चारकर्मी र नागरिक समाजका प्रतिनिधिसहित करिब २०० जनाको सहभागिता रहेको कार्यक्रममा दुईजना वक्तालाई संघका वरिष्ठ उपसभापति मानार्थ उपरथी उद्धव बिष्ट (अवकाशप्राप्त) ले कदरपत्र प्रदान गर्नुभएको थियो।

आयोजक संस्थाले ‘मिसन–राष्ट्रसेवा’ रणनीतिक संवादलाई नियमित संस्थागत कार्यक्रमका रूपमा निरन्तर सञ्चालन गर्ने घोषणा गर्दै आगामी संवाद भदौ महिनाको दोस्रो शुक्रबार सोही स्थानमा आयोजना गरिने जानकारी दिएको छ। कार्यक्रमका प्रमुख योजनाकार तथा ईगल थिङ्क ट्याङ्कका प्रबन्ध निर्देशक पूर्वसैनिक सहचारी सहायक रथी रामचन्द्र खत्री (अवकाशप्राप्त) का अनुसार आगामी संवादमा राष्ट्रिय हितसँग सम्बन्धित समसामयिक विषयमा थप गहन बहस गरिनेछ।
प्रतिक्रिया दिनुहोस्