–सुरेन्द्र सुवेदी
राजनीतिक पद र शक्ति पाएपछि कानुनभन्दा माथि ठान्ने प्रवृत्ति नेपाली राजनीतिमा नयाँ भने होइन। तर, नयाँ र वैकल्पिक राजनीतिको नारा दिएर सत्ता र सदनमा पुगेका प्रतिनिधिहरूबाटै जब मर्यादा विपरीतका व्यवहार दोहोरिन्छन्, तब आम नागरिकमा निराशा छाउनु स्वाभाविक हुन्छ। हालै काठमाडौँ क्षेत्र नं। ३ का सांसद राजु पाण्डे र नेपाली सेनाका कप्तान अनुपमान श्रेष्ठबीच गोकर्ण वनको पर्खाल भत्काउने क्रममा भएको विवाद र त्यसपछिको घटनाक्रमले फेरि एकपटक जनप्रतिनिधिको आचरण र जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको छ।
नेपाली सेनाजस्तो संवेदनशील र अनुशासित संस्थाका अधिकृतमाथि गैरजिम्मेवार शैलीमा प्रस्तुत हुनु र राजनीतिक पहुँचको धाक देखाउन खोज्नु कुनै पनि दृष्टिकोणबाट शोभनीय मान्न सकिँदैन। यो घटना सार्वजनिक भएपछि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सांसद पाण्डेलाई प्रधानमन्त्री कार्यालयमै बोलाएर ‘मेरो नाम लिएर कतै पनि लफडा नगर्नू’ भन्दै चेतावनी दिनु र स्पष्टीकरण दिन लगाउनु सकारात्मक र स्वागतयोग्य कदम हो। बालेनको यो दृढ अडानले सत्ताको दुरुपयोग गर्नेहरूलाई राजनीतिक संरक्षण मिल्दैन भन्ने प्रस्ट सन्देश दिएको छ।
तर, समस्या राजु पाण्डेमा मात्र सीमित छैन। पछिल्लो समय घण्टी चिन्ह (रास्वपा) बाट निर्वाचित कतिपय सांसद तथा नेताहरूमा देखिएको अपरिपक्वता, उन्माद प्रवृत्तिले जनताको विश्वासमाथि चोट पुर्याइरहेको छ। सार्वजनिक निकाय, राष्ट्रिय सुरक्षा अङ्ग र प्रशासनमाथि धाकधम्की दिने, व्यक्तिगत प्रचारका लागि नियम तथा कानुन मिच्ने आशिका तामाङजस्ता विभिन्न विवादित अभिव्यक्ति वा गैरजिम्मेवार व्यवहारमा संलग्न नेता(सांसदहरूलाई पनि समयमै लगाम लगाउनु अपरिहार्य भइसकेको छ।
जनताले परिवर्तनका लागि नयाँ अनुहार र नयाँ दललाई चुनेका हुन्, पुरानै दलका नेताहरूको जस्तो धम्कीपूर्ण र स्तरहीन रवैया दोहोर्याउनका लागि होइन। पदमा पुगेपछि शक्ति र पहुँचको मातमा मात्तिएका यस्ता सांसद तथा नेताहरूलाई सही बाटोमा ल्याउन प्रधानमन्त्री बालेन शाहले पाण्डेलाई जस्तै अन्य सबैलाई पनि कडा निर्देशन दिनुपर्छ।
विधि, कानुन र अनुशासित व्यवहार नै नयाँ राजनीतिको मूल आधार हुनुपर्छ। यदि बालेनले यस्ता गलत प्रवृत्ति र स्तरहीन रवैया अपनाउनेहरूलाई यसरी नै ठेगानमा ल्याउँदै गए भने मात्रै देशमा सुशासन र विधिको शासनको अनुभूति हुन सक्छ। जनताको अपेक्षा पनि यही हो—गल्ती गर्ने जोकोही भए पनि उसले कानुन र मर्यादाको दायराभित्रै रहेर काम गरोस्।
प्रतिक्रिया दिनुहोस्