Advertisement GIF
नाइमा एक्स्पो उत्साहजनक, १ लाख ८० हजार बढीले गरे अवलोकनः कार्यकारी निर्देशक दुलाल

भृकुटीमण्डपमा आयोजना गरिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ अपेक्षा गरेभन्दा पनि निकै उत्साहजनक र भव्य रूपमा सम्पन्न भएको भएको छ । भदौ २६ देखि ३१ गते (आज) सम्म चलेको एक्स्पो अवधिभर १ लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको उपस्थिति रहनु नै यसको ठूलो सफलता भएको नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले बताउनु भयो ।

उहाँका अनुसार अवलोकनकर्ताको संख्या मात्र नभई यस पटकको एक्स्पोमा प्रस्तुत गरिएका नवीन प्रविधिहरू, ईभी, हाइब्रिड, दुईपाङ्ग्रे, चारपाङ्ग्रे तथा कमर्सियल मोबिलिटीका सवारी साधनहरू प्रमुख आकर्षण बनेका थिए। यसका साथै एक्स्पोका क्रममा सञ्चालित लर्निङ सेसनहरूमार्फत नेपालको मोबिलिटीको भावी दिशा र प्रविधिको भविष्यबारे सार्थक तथा गहन छलफलसमेत सम्पन्न भएकोछ।

एक्स्पोलाई भव्य रूपमा सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण प्रदर्शक, सदस्य कम्पनीहरू, प्रायोजक, पार्टनरहरू, सरकारी निकायहरू, सञ्चालक समिति, सचिवालय टिम र विशेष गरी सञ्चारकर्मीहरूलाई उहाँले धन्यवाद दिनु भएकोछ ।

‘समग्रमा यस एक्स्पोले नेपालको मोबिलिटी क्षेत्रमा सर्वसाधारण तथा व्यवसायीहरूको ठूलो रुचि र यस क्षेत्रको उच्च सम्भावनालाई प्रस्ट पारेको छ। एक्स्पो अवधिभर प्राप्त भएका प्रतिक्रिया र सुझावहरूलाई आत्मसात गर्दै आगामी संस्करणलाई अझ ठूलो, व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दछौं ।’ कार्यकारी निर्देशक दुलालले भन्नुभयो ।