रैथाने जनबोलीका गीतलाई जस्ताको तस्तै गाउन सक्ने संगीतकी अध्येता झुमा लिम्बू पुरस्कृत हुनु भएको छ । नेपाली कला साहित्य प्रतिष्ठानले कलाकर्मी लिम्बूलाई आज (सोमबार) राजधानी काठमाडौंमा पुरस्कृत गरेको हो । कलाकार लिम्बूलाई ‘पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार’ प्रदान गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष कवि तथा निबन्धकार मोमिला जोशी तथा रङ्गकर्मी किरण मानन्धरले लिम्बूलाई ताम्रपत्रसहित ५० हजार रुपैयाँ राशिसमेतले पुरस्कृत गर्नुभयो ।

संगीतकार तथा गायिका झुमा लिम्बू
कार्यक्रममा साहित्यकार महेश पौडेलले अहिले संगीतले अर्कै खालको कर्मठ लिइरहेको बेला यसरी संस्कृति, माटो र चिन्तनसँग जोडिएर अनुसन्धानसहित आउने संगीतकर्मीहरू संख्या दिनदिनै घट्दै गइरहेको समयमा झुमा लिम्बू वैकल्पिक दृष्टिकोणको रुपमा आएकी बताउनु भयो ।
लिम्बू २१ बर्षदेखि नेपाली लोक तथा रैथाने गीतसंगीतको अनुसन्धानमा सक्रिय हुनुहुन्छ । ‘भञ्ज्याङ् कुर्नु’ बाट चर्चामा आउनु भएकी झुमाले ‘माया दौतरी’, ‘ए साइला’, ‘खासाम’, ‘साउन्ड् अफ मुन्धुम’ लगायतका सोलो एल्बमहरू स्रोतामाझ ल्याइसक्नु भएको छ । उहाँले जारी, उनको स्वीटर, डिग्री माइला, जारलगायतका चलचित्रमा संगीत पनि भर्नु भएको छ । लिम्बूका ७ सयबढी गीत रेकर्ड भइसकेका छन् ।
प्रतिस्ठानले वरिष्ठ नाटककार तथा गीतकार मनबहादुर मुखियालाई ‘अमूल्य राष्ट्रिय कलाश्री सम्मान’ र प्रतिभाशाली कवि, निबन्धकार, सम्पादक तथा साहित्यिक अभियन्ता श्रीओम श्रेष्ठ ‘रोदन’ लाई प्रदान गरेको छ। यसै गरी स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि तथा अनुवादक निमेष निखिललाई, बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार पत्रकार तथा सर्जक राजेश खनाललाई, थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार मिथिला कलाका साधक चित्रकार एससी सुमनलाई प्रदान गरिएको छ ।
लिम्बू पुरस्कृत भएको दिन आज उहाँको जन्मदिन पनि हो ।
प्रतिक्रिया दिनुहोस्