-डा. आश बहादुर तामाङ
हिजो,
पिउने पानी सलल बग्ने खोला
आज,
त्यै जमेर बनेको नाला जङ्घारतर्दा
ऐया नि!
शिसाले पैतला खर्लप्पै काट्यो,
घाँस दाउरा गर्ने बनपाखामा
युद्ध र द्बन्द्बको अवशेष “माइन” फाट्यो,
त्यै चउर र गह्रामा खेल्दा
किला स्वात्तै गढ्यो,
वायुप्रदूषणले दिउँसै रात पर्दा
बेइजिङ, दिल्ली, लाहौर र काठमाण्डौले बिदा दिँदा
सुत्दापनि “मास्क” लगाउनु पर्यो,
आँखा पोल्यो
घ्यार्र घ्यार्र छाति बोल्यो ।
साइबेरियाबाट पंक्षी बसाई झर्दा
बिजुलीको तारको धरापमा पर्यो,
जरुवा मूल र शिमसार मात्र कहाँ हो र ?
“एरियल सी” सुक्यो
बाँध र साँध बनाउँदा
कठै !
असला, ट्राउट, सालमन र डल्फिनको भाग्य फुट्यो,
अण्टार्कटिक त के सगरमाथा हिमाल पग्लिएर झुक्यो
यो दुर्गति हुँदा पनि,
“पेरिस सम्झौता”, क्वेटो प्रोटोकल”र मानव प्रतिबद्धता
खै कहाँ लुक्यो?
उता,
समुद्रमा तेल पोखिएर र फोहर केमिकल मिसिएर
जलचरको महाप्रलय भयो ।
यता,
बेमौसमी हावाहुरी,वर्षा, सुनामीले
डुबान,बाढी पैह्रो खोला
शहर बस्तीमाछिर्यो कि ?
बस्ती,”प्लट”
खोला,बगरमा छिर्यो,
अनि,
जंगली जीवजन्तु,
जंगल फाँडेको आवादीमा छिर्यो कि?
कन्क्रीटको जङ्गलले
तिनको चरन निल्यो,
आखिर दोष,
तिनै अवोध, निर्देोषी लाई मिल्यो ।
गंभीर विवेकी भएर सोचम्त,
जस्ले जता मिचेपनि, थिचेपनि
पीडा धर्तीमातालाई नै छनि ।
अरुलाई तपशिलमा राख्दै,
सर्वश्रेष्ठ प्राणी
घमण्ड, स्वार्थ र बुद्धिको हुँकार गर्दै
जल, थल, जंगल र वायुमण्डलमा
मेरै राज चल्छ भन्यो,
भौतिक विकास कि विनासमा क्षणिक रमेर
प्रकृतिको दोहन गर्दै,
नाफा घाटा को पैसा गन्यो ।
अफ्रिकाको खानी, हिमालयको पानी
एशियाको अन्न, अमेजनको जंगल
अब खै कहाँ छ मंगल ?
योलोकले,
मानव इतिहासको कालो कालखण्ड सहयो
महा विपद् महामारी भोग्दै,
कोमिङ-१९” मा क्वरेन्टाइनमा रहयो
हिरोशिमा, नागासाकी, चेर्नोविल र भोपालको
गहिरो चोट बाट नतङ्ग्रीदै
युद्ध, विश्वयुद्धबाट नचेतदै,
बुद्धको शान्ति, अहिंसा र मानवता
“वशुधैव कुटुम्बकम” मान्यता,
मूर्छित “युएन” र अन्तर्राष्ट्रिय कानूनलाई लत्याँउदै
खेलैची गरे झै
अचेल,
युक्रेन रपश्चिम एशियामा
मिसाइल र ड्रोनको संहारले
तेल, ग्यास र बारुदको मुस्लो ओकल्दै
परमाणु बमसँग जिस्केको देख्छु,
तेश्रो विश्वयुद्धको भय र सन्त्रासमा
मुकदर्शक नभै
योउकुसमुकुसबाट मुक्ति पाउन,
गन हैन, मन रोजौं,
वृक्षारोपण गरौं, अक्सिजन छरौं
सबैको अस्तित्व सम्मान गरी
बचौ र बचाउँ
भावी पुस्तालाई
सुन्दर,शान्त पृथ्वी
उपहार दिउँ
जप्दै मन्त्र-
ओम शान्ति ! पृथ्वी शान्ति ! अन्तरिक्षा शान्ति !
जय !पृथ्वी ।
( कवि डा तामाङ नेपाली सेनाका अवकास प्राप्त उपरथी हुनुहुन्छ । गत वैशाख ९ गते विश्व पृथ्वी दिवसको अवसरमा वातावरण जोगाउने उद्देश्यले NRNA Hong Kong Limited द्वारा आयोजितविश्वब्यपी पर्या कविता प्रतियोगितामा पुरस्कृत क़विता)
प्रतिक्रिया दिनुहोस्