Advertisement GIF
कल्पवृक्ष
जेष्ठ १९ मंगलबार, ६:५७ अपराह्न
जय ! पृथ्वी (कविता)

-डा. आश बहादुर तामाङ

हिजो,

पिउने पानी सलल बग्ने खोला

आज,

त्यै जमेर बनेको नाला जङ्घारतर्दा

ऐया नि!

शिसाले पैतला खर्लप्पै काट्‌यो,

घाँस दाउरा गर्ने बन‌पाखामा

युद्ध र द्बन्द्बको अवशेष “माइन” फाट्‌यो,

त्यै चउर र गह्रामा खेल्दा

किला स्वात्तै गढ्यो,

वायुप्रदूषणले दिउँसै रात पर्दा

बेइजिङ, दिल्ली, लाहौर र काठ‌माण्डौले बिदा दिँदा

सुत्दापनि “मास्क” लगाउनु पर्यो,

आँखा पोल्यो

घ्यार्र घ्यार्र छाति बोल्यो ।

साइबेरियाबाट पंक्षी बसाई झर्दा

बिजुलीको तारको धरापमा पर्यो,

जरुवा मूल र शिमसार मात्र कहाँ हो र ?

“एरियल सी” सुक्यो

बाँध र साँध बनाउँदा

कठै !

असला, ट्राउट, सालमन र डल्फिनको भाग्य फुट्‌यो,

अण्टार्कटिक त के सगरमाथा हिमाल पग्लिएर झुक्यो

यो दुर्गति हुँदा पनि,

“पेरिस सम्झौता”, क्वेटो प्रोटोकल”र मानव प्रतिबद्धता

खै कहाँ लुक्यो?

उता,

समुद्रमा तेल पोखिएर र फोहर केमिकल मिसिएर

जलचरको महाप्रलय भयो ।

यता,

बेमौसमी हावाहुरी,वर्षा, सुनामीले

डुबान,बाढी पैह्रो खोला

शहर बस्तीमाछिर्यो कि ?

बस्ती,”प्लट”

खोला,बगरमा छिर्यो,

अनि,

जंगली जीवजन्तु,

जंगल फाँडेको आवादीमा छिर्यो कि?

कन्क्रीटको जङ्गलले

तिनको चरन निल्यो,

आखिर दोष,

तिनै अवोध, निर्देोषी लाई मिल्यो ।

गंभीर विवेकी भएर सोचम्त,

जस्ले जता मिचेपनि, थिचेपनि

पीडा धर्तीमातालाई नै छनि ।

अरुलाई तपशिलमा राख्दै,

सर्वश्रेष्ठ प्राणी

घमण्ड, स्वार्थ र बुद्धिको हुँकार गर्दै

जल, थल, जंगल र वायुमण्डलमा

मेरै राज चल्छ भन्यो,

भौतिक विकास कि विनासमा क्षणिक रमेर

प्रकृतिको दोहन गर्दै,

नाफा घाटा को पैसा गन्यो ।

अफ्रिकाको खानी, हिमालयको पानी

एशियाको अन्न, अमेजनको जंगल

अब खै कहाँ छ मंगल ?

योलोकले,

मानव इतिहासको कालो कालखण्ड सहयो

महा विपद् महामारी भोग्दै,

कोमिङ-१९” मा क्वरेन्टाइनमा रहयो

हिरोशिमा, नागासाकी, चेर्नोविल र भोपालको

गहिरो चोट बाट नतङ्ग्रीदै

युद्ध, विश्वयुद्धबाट नचेतदै,

बुद्धको शान्ति, अहिंसा र मानवता

 

“वशुधैव कुटुम्बकम” मान्यता,

मूर्छित “युएन” र अन्तर्राष्ट्रिय कानूनलाई लत्याँउदै

खेलैची गरे झै

अचेल,

युक्रेन रपश्चिम एशियामा

मिसाइल र ड्रोनको संहारले

तेल, ग्यास र बारुदको मुस्लो ओकल्दै

परमाणु बमसँग जिस्केको देख्छु,

तेश्रो विश्वयुद्धको भय र सन्त्रासमा

मुकदर्शक नभै

योउकुसमुकुसबाट मुक्ति पाउन,

गन हैन, मन रोजौं,

वृक्षारोपण गरौं, अक्सिजन छरौं

सबैको अस्तित्व सम्मान गरी

बचौ र बचाउँ

भावी पुस्तालाई

सुन्दर,शान्त पृथ्वी

उपहार दिउँ

जप्दै मन्त्र-

ओम शान्ति ! पृथ्वी शान्ति ! अन्तरिक्षा शान्ति !

जय !पृथ्वी ।

 

( कवि डा तामाङ नेपाली सेनाका अवकास प्राप्त उपरथी हुनुहुन्छ ।  गत वैशाख ९ गते  विश्व पृथ्वी दिवसको अवसरमा वातावरण जोगाउने उद्देश्यले NRNA Hong Kong Limited द्वारा आयोजितविश्वब्यपी पर्या कविता प्रतियोगितामा  पुरस्कृत क़विता)