Advertisement GIF
सैनिक कल्याणकारी कोष : ६३ जिल्लाका विद्यार्थीदेखि एमबीबीएस चिकित्सकसम्म हजारौँ लाभान्वित

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको लगानीले सैनिक परिवारका सन्ततिमात्र होइन, सर्वसाधारण नागरिकलाई समेत प्रत्यक्ष लाभ पुर्‍याउँदै आएको छ। ‘बहुजन हिताय, बहुजन सुखाय’ को मूल मन्त्रका साथ २०३२ मा स्थापना भएको कोषले विद्यालय तहदेखि उच्च प्राविधिक शिक्षासम्मको पहुँच विस्तार गर्दै देशको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

सैनिक कल्याणकारी निर्देशनालय अन्तर्गत सञ्चालनमा रहेका विद्यालय तथा महाविद्यालयहरू अहिले देशका प्रमुख शैक्षिक संस्थाका रूपमा स्थापित भएका छन्। हाल सेनाद्वारा सञ्चालित विभिन्न महाविद्यालयहरूमा सैनिकतर्फ ५ हजार ६५४ र गैरसैनिकतर्फ ३ हजार ६२२ गरी कुल ९ हजार २७६ विद्यार्थी अध्ययनरत छन्। यसले नेपाली सेनाले आफ्ना हिताधिकारीसँगै सर्वसाधारण नागरिकको शिक्षामा समेत उल्लेखनीय भूमिका निर्वाह गरिरहेको देखाउँछ।

कोषले बहालवाला तथा अवकाशप्राप्त सैनिकका कक्षा ४ देखि १२ सम्म अध्ययनरत एक सन्ततिलाई प्रदान गर्दै आएको छात्रवृत्ति रकम शैक्षिक सत्र २०८१ देखि वृद्धि गरेको छ। यसअघि वार्षिक २० हजार रुपैयाँ उपलब्ध गराइँदै आएकोमा ५ हजार रुपैयाँ थप गरी हाल २५ हजार रुपैयाँ प्रदान गरिँदै आएको छ। सैनिक परिवारका सन्ततिलाई पायक पर्ने गरी देशका ६३ जिल्लाका २०४ विद्यालयलाई ‘एम्प्यानल्ड’ विद्यालयका रूपमा आबद्ध गरिएको छ। जहाँ हाल ४ हजार ९३५ विद्यार्थी अध्ययनरत छन्। ती विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि तथा अनुगमनको जिम्मेवारी सैनिक कल्याणकारी निर्देशनालयले वहन गर्दै आएको छ।

शिक्षाको विकेन्द्रीकरणलाई प्राथमिकता दिँदै नेपाली सेनाले सातै प्रदेशमा सैनिक आवासीय महाविद्यालय सञ्चालन गरेको छ। भक्तपुर, धरान, बर्दिबास, पोखरा, बुटवल, सुर्खेत र कैलालीमा सञ्चालित ती महाविद्यालयहरूले गुणस्तरीय शिक्षाको पहुँच देशभर विस्तार गरिरहेका छन्। काठमाडौँमा रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय, बिजेश्वरी ज्ञान मन्दिर सैनिक माध्यमिक विद्यालय तथा श्वेतातारा पूर्वप्राथमिक सैनिक विद्यालय सञ्चालनमा छन्। फरक क्षमता भएका बालबालिकाको शिक्षालाई प्राथमिकता दिँदै छाउनीमा ‘वरदान सैनिक विशेष सेवा विद्यालय’ स्थापना गरिएको छ, जहाँ हाल १६ जना विद्यार्थी विशेष शिक्षा प्राप्त गरिरहेका छन्।

उच्च तथा प्राविधिक शिक्षातर्फ पनि सैनिक कल्याणकारी कोषको लगानी उल्लेखनीय छ। नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान अन्तर्गत सञ्चालित चिकित्सा शास्त्र महाविद्यालयमा एमबीबीएसतर्फ १ सय सिट क्षमता रहेको छ। यसमा सैनिकतर्फ ४९ प्रतिशत र सर्वसाधारणतर्फ ५१ प्रतिशत छात्रवृत्ति कोटा छुट्याइएको छ। संस्थानमा एमडी र एमएस, बीपीएच, बीएससी एमएलटी, बीएससी नर्सिङ, बीएनएस नर्सिङ तथा एमएन नर्सिङ कार्यक्रम सञ्चालनमा छन्। साथै नर्सिङ, जनरल मेडिसिन, फार्मेसी, फिजियोथेरापी, रेडियोग्राफी र ल्याब टेक्नोलोजीका विभिन्न प्रमाणपत्र तथा डिप्लोमा कार्यक्रमहरू समेत सञ्चालन भइरहेका छन्।

कृषि शिक्षातर्फ नेपाली सेना कृषि विज्ञान संस्थानमार्फत बीएससी एजी कार्यक्रम सञ्चालन भइरहेको छ। ४८ सिट क्षमताको उक्त कार्यक्रममा हाल १२३ विद्यार्थी अध्ययनरत छन्। त्यस्तै, व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रमा प्रि(डिप्लोमा कृषि तथा पशु विज्ञान कार्यक्रम सञ्चालनमा छ, जहाँ सर्वसाधारणका लागि ५० प्रतिशत छात्रवृत्ति कोटा सुरक्षित गरिएको छ। प्राविधिक शिक्षातर्फ पोखरास्थित नेपाली सेना ईएमई पोलिटेक्निक महाविद्यालयले डिप्लोमा इन अटोमोबाइल तथा डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्दै आएको छ। हाल त्यहाँ १८० विद्यार्थी अध्ययनरत छन्।

उच्च शिक्षा अध्ययन गर्न चाहने सैनिक परिवारका सन्ततिलाई आर्थिक अभावले रोक्न नपरोस् भन्ने उद्देश्यले सैनिक कल्याणकारी कोषले सहुलियतपूर्ण शैक्षिक कर्जाको व्यवस्था समेत गरेको छ। चिकित्साशास्त्र, इन्जिनियरिङ, सूचना प्रविधि, कृषि, पशु तथा वन विज्ञान अध्ययनका लागि २५ लाख रुपैयाँसम्म तथा व्यवस्थापन, कानुन र चार्टर्ड एकाउन्टेन्सी अध्ययनका लागि १५ लाख रुपैयाँसम्म ५ प्रतिशत वार्षिक ब्याजदरमा कर्जा उपलब्ध गराइन्छ। हालसम्म १ हजार १६७ विद्यार्थीले यो सुविधा उपयोग गरिसकेका छन्।

विद्यालय तहदेखि उच्च प्राविधिक शिक्षासम्म फैलिएको सैनिक कल्याणकारी कोषको लगानीले सैनिक हिताधिकारी र तिनका परिवारको जीवनस्तर उकास्नुका साथै देशको समग्र शैक्षिक विकासमा पनि महत्वपूर्ण योगदान पुर्‍याएको छ। छात्रवृत्ति, आवासीय शिक्षा, विशेष शिक्षा, प्राविधिक तथा स्वास्थ्य शिक्षा र सहुलियतपूर्ण शैक्षिक कर्जाजस्ता कार्यक्रममार्फत कोषले शिक्षा क्षेत्रमा स्थापित गरेको योगदानलाई उदाहरणीय मानिएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेत बताउनु हुन्छ।

-सुरेन्द्र सुवेदी/काठमाडौं