Advertisement GIF
महाकाली पुलको सुरक्षा र तटीय क्षेत्र रक्षाका लागि नेपाली सेना

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्मित चार लेनको पक्की पुलको उत्तरतर्फको क्षतिग्रस्त गाइडबण्ड (ड्याम) पुनर्निर्माणका लागि नेपाली सेना खटिएको छ।

आसन्न वर्षामा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले नदी तटीय क्षेत्रका बस्ती जोगाउन र राष्ट्रिय गौरवको यो संचरनालाई थप क्षति हुन नदिन पुनः नेपाली सेनालाई जिम्मेवारी सुम्पिएको हो । जिम्मेवारी पाएपछि हिजो शनिबारदेखि सैनिक टोली योजनास्थलमा खटिएको हो। यसअघि शुक्रबारमात्रै भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले स्थलगत निरीक्षण गरेर फर्केलगत्तै सरकारले सेना परिचालन गर्ने निर्णय गरेको हो । जसका कारण वर्षात् सुरु हुनुभन्दा अगावै बचावटको काम तीव्र गतिमा अघि बढ्ने विश्वास लिइएको छ ।

सडक डिभिजन कार्यालय कञ्चनपुरको प्राविधिक तथा मेसिनरी सहयोग र अगुवाइमा सुरु भएको यस योजनामा नेपाली सेनाको नम्बर २५ बाहिनी अड्डा भगतपुर ब्यारेकका बाहिनीपति सहायकरथी बिजितराज रेग्मीसहितको सैनिक प्राविधिक टोलीले क्षतिग्रस्त क्षेत्रको विस्तृत अनुगमन गरी तत्काल काम थालिसकेको छ।

गत वर्षको बाढीले गाइडबण्डको करिब ३ सय मिटर क्षेत्रमा ठूलो क्षति पुर्‍याएको र पुल निर्माण व्यवसायी तथा सडक विभागबीचको प्राविधिक मुद्दा मध्यस्थ न्यायाधीकरणमा विचाराधीन रहेका कारण मुख्य ठेकेदार कामबाट बाहिरिएको अवस्थामा यो कदम चालिएको हो। पुलको ९५ प्रतिशत काम सकिइसकेको अवस्थामा गाइडबण्डको नयाँ डिजाइन स्वीकृति र भेरियसन अर्डरको अन्योलताले गर्दा पुल नै संकटमा पर्न सक्ने खतरा देखिएपछि सुदूरपश्चिम पृतनाअन्तर्गतका विभिन्न युनिटबाट सैनिक जनशक्ति परिचालन हुन थालेको छ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले क्षतिग्रस्त क्षेत्रको अनुगमन गर्दै स्थानीय स्तरबाट टिपर लगायतका आवश्यक ढुवानी सामग्रीको व्यवस्थापन गरेर कामलाई थप गति दिन डिभिजन सडक कार्यालयलाई आग्रह गर्नुभएको छ। गत वर्ष पनि सरकारले यस क्षेत्रलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरी सेनालाई नै जिम्मेवारी सुम्पिएको थियो, जतिबेला सेनाले निकै उत्कृष्ट ढंगले काम फत्ते गर्दै ठूलो क्षति हुनबाट जोगाएको थियो।