Advertisement GIF

सन्चित बज्राचार्य हाल प्रभु इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनु भएको छ । काठमाडौंमा तत्कालीन समयमा जम्मा ८/१० वटा बोर्डिङ्ग स्कुलहरु रहेका थिए । त्यो बेला उहाँले पनि प्राथमिक चरणबाटै बोर्डिङ्ग स्कुलमा पढ्ने मौका पाउनु भयो । उहाँ पढ्ने स्कुलमा कक्षा ८ देखिनै एकाउण्ट (लेखा) विषय पढाइ हुन्थ्यो । मार्टियस मेमोरियल इग्लिस बोर्डिङ हाई स्कुल, ज्ञानेश्वरबाट उहाँले माध्यमिक तहको औपचारिक शिक्षा पूरा गर्नु भयो ।  त्यसपछि नेपाल कमर्स क्याम्पस, मीनभवनबाट आफ्नो अध्ययनलाई निरन्तरता दिँदै स्नाकोत्तर अध्ययन पूरा गर्नु भयो ।  कमर्स पढेको र लेखा सम्वन्धि काममा ज्ञान भएका कारण उहाँ करिव १७ वर्षअघि लेखा प्रमुखको हैसियतमा प्रभु इन्स्योरेन्स कम्पनीमा प्रवेश गर्नु भयो । हाल कम्पनीको प्रमुख रहेर कार्य सम्पादन गर्दै आउनु भएको छ ।

उहाँसित गरिएको कुराकानीको संपादित अंश ।
प्रभु इन्स्योरेन्स लिमिटेड किन स्थापना भएको हो ?
मुलुकमा बीमाको पहुँच अत्यन्त न्यून रहेको तत्कालीन समयमा
देशका दूरदराजका आम मानिसमा सहज रुपमा बीमा सेवा
उपलव्ध गराउने, बीमाको बिकास तथा बीमितहरुको भविष्यको रक्षा
गर्दै अगाडि बढ्ने मूल उद्देश्यका साथ २०५३ सालमा प्रभु
इन्स्योरेन्स लिमिटेड स्थापना भएको हो ।
प्रभु इन्स्योरेन्से कस्तो इन्स्योरेन्स कम्पनी हो ?
प्रभु इन्स्योरेन्स लिमिटेड बीमासम्वन्धी नयाँनयाँ क्षेत्रहरुको पहिचान गरेर नयाँ बीमा योजनाका साथ ग्राहकमुखी सेवालाई प्रभावकारी बनाउँदै प्रतिस्पर्र्धी बीमा कम्पनीको रुपमा अगाडि बढिरहेको एक निर्जीवन बीमा कम्पनी हो । जसले घर, गाडी, निर्माण क्षेत्रलगायत निर्जीवनसँग सम्वन्धित सबै प्रकारका बीमा गर्ने बीमा कम्पनी हो ।
यो इन्स्योरेन्सले कुन कुन क्षेत्रमा काम गर्दै आएको छ ?
निर्जीवन बीमा कम्पनीको मुख्य कारोवार भनेको निर्जीवन बीमा व्यवसाय नै हो । निर्जीवन बीमामा पनि खास गरि हाम्रो मुलुकमा मोटर, सम्पत्ति, भौतिक निमार्ण तथा मेशिनरी बीमाको हिस्सा अधिक रहेको छ । पछिल्लो समय कम्पनीको प्रयासमा नयाँनयाँ बीमा लेखहरुको बिकास गर्दै ग्राहकहरुको मागअनुसारका बीमा योजनाहरु कम्पनीले ल्याएको छ ।
अब अन्य क्षेत्रमा पनि बिस्तार गर्ने योजना छ कि छैन ?
कम्पनीको कार्य क्षेत्र तथा लगानीको लागि नेपाल बीमा प्राधिकरणबाट निश्चित क्षेत्र तोकिएको हुन्छ । त्यही आधारमा कम्पनीले आफ्नो कारोवार तथा लगानी गर्ने हो । पछिल्लो समय बीमा कम्पनीहरुको लगानीको दायरा बिस्तार गरि सामूहिक लगानी कोष, प्राईभेट इक्वीटी तथा पर्यटन तथा होटललगायतका क्षेत्रमा समेत लगानी गर्न सक्ने भएकोले कम्पनीले पनि सोहिअनुसार आफ्नो कारोवार तथा लगानी बिस्तार गर्दै जानेछ ।
यो इन्स्योरेन्सको देशको समग्र बीमा क्षेत्रमा के÷कति योगदान छ, देशका कति जिल्लामा शाखा, उपशाखा पुगेका छन् ? समग्र ग्राहकको संख्या कति छ र। बीमा शुल्क कति जम्मा भएको छ ?
प्रभु इन्स्योरेन्स लिमिटेड नेपालमा सञ्चालित सफल कम्पनीमध्ये पर्छ र मुलुकमा बीमा सेवा बिस्तारमा कम्पनीको राम्रो योगदान रहेको छ । मुलुकका बिभिन्न जिल्लामा गरि कम्पनीका ६० भन्दा बढी शाखा तथा उपशाखा रहेका छन् भने वार्षिक करिव एक लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गर्दै गत आर्थिक वर्ष २०८०/०८१ मा कम्पनीले १ अर्व ७८ करोड बीमा शुल्क हासिल गर्न सफल भएको छ ।
ग्राहकलाई वार्षिक रुपमा सरदर कति बीमा दावी भूक्तानी गर्दै आउनु भएको छ ?
कम्पनीको बिगत ३ आर्थिक वर्षको बीमा दावी भुक्तानीको आङ्कडा हेर्दा कम्पनीले औषतमा वार्षिक ६० करोड रुपैयाँबराबरको बीमा दावी भुक्तानी गर्दै आएको छ । यसलाई भनिरहननै पर्दैन, समय समयमा प्रकाशित वित्तीय बिवरणले नै स्पष्ट पार्छ ।
प्रभुका अबका योजना के के छन् ?
हाम्रो मुख्य योजना भनेको ग्राहकहरुलाई सहज तथा छिटो छरितो रुपमा बीमा सेवा प्रदान गर्नु हो । बिशेष गरि भौगोलिक बिकटता तथा तथा पिछडिएको क्षेत्रहरुमा सहज रुपमा बीमा सेवा प्रदान गर्नको लागि कम्पनीले प्रविधिको प्रयोगलाई अधिक ध्यान दिईदै आएको छ । बीमाको पहुंच नपुगेका क्षेत्रहरुको पहिचान गरि उक्त स्थानमा कम्पनीको उपस्थिती जनाई सहज रुपमा बीमा सेवा प्रदान गर्दै कम्पनीको कारोवार तथा लगानीको दायरा बिस्तार गरिंदै लगिने योजना रहेको छ ।
देशमा समग्र बीमा क्षेत्रमा के के समस्या छन् ?
मुलुकको बीमा क्षेत्रमा देखिएका मुख्य समस्या भनेकै बीमा शिक्षाको कमि रहेको देखिन्छ । जनमानसमा बीमासम्वन्धी ज्ञानको अभावका कारण बीमा चेतनाको कमी छ । मुख्य समस्या भनेको यहि हो । यदि बीमा सम्वन्धमा सबैको चेतना हुने हो भने अन्य खासै समस्या देखिदैन ।  ।
तिनको समाधान गर्न कस्तो पहल भइरहेको छ ?
पछिल्लो समयमा जनमानसमा बीमा सम्वन्धी जानकारी तथा सचेतना अभिबृद्धिको लागि नेपाल बीमा प्राधिकरण तथा बीमा कम्पनीको संयुक्त प्रयासमा स्थानिय तह, कृषक समूह तथा बिभिन्न क्षेत्रमा बीमा सचेतना सम्वन्धि कार्यक्रमहरु सञ्चालन हुंदै आएका छन् । जनमानस र समुदायहरुमा प्रत्यक्ष रुपमा चेतना फैलाउने कार्य पनि भइरहेको छ । साथै बीमा शिक्षाको लागि बिद्यालय तहदेखि नै बीमासम्वन्धी पाठ्यक्रम राख्नको लागि पहल भइरहेको छ ।