Advertisement GIF

स्याटलाटमा विभिन्न किसिमका सेन्सर जडान गरी जमिनको सतहको अवस्था मापन गर्ने र त्यसको प्रेसेस गरिसकेपश्चात प्राप्त इमेज स्याटलाइट इमेज हो । नेपालमा मौसम मापन गर्ने आफ्नै स्याटलाइट छैन । जापान, भारत र चीनसमेतका देशहरुले राखेको स्याटलाइटबाट प्राप्त इमेज हेरेर मौसम विश्लेषण गरिन्छ । विभिन्न प्राकारका च्यानल हेर्दै धेरै प्रकारको बादलको अवस्था, मौसमको अवस्था, कुन प्रणाली कताबाट कता जाँदै छ ? भन्नेलगायतका कुराहरु जान्न सकिन्छ ।

शान्ति कंडेल वरिष्ठ मौसमविद् (उपसचिव–प्राविधिक) हुनुहुन्छ । बाग्लुङमा आमा दिलकुमारी र बुबा नारायणदत्त कंडेलकी किसानी परिवारमा जन्मिएकी उहाँको मौसम पूर्वानुमानका समाचारमा सधैंजसो सुनिने नाम बनिसकेको छ । सिद्धिविनायक बोर्डिङ स्कुलमा अध्ययन गर्नु भएकी उहाँसित केही व्यक्तिगत र मौसमका विषयमा केन्द्रीत भएर संक्षेपमा गरिएको कुराकानीको संपादित अंश ।

 

निजामति सेवामा कहिले प्रवेश गर्नु भयो ?
२०६८ कार्तिक २३ मा मौसम बिज्ञान सहायक पद ९ रा। प। अनं प्रथम० बाट सेवा प्रवेश गरे । २०६९ मा अधिकृत भएर २०७५ जेठ २९ मा सिनियर डिभिजनल मेटेरियोलोजिष्ट (उपसचिव–प्राविधिक) पदमा बढुवा भएकी छु ।

किन मौसम विज्ञान विषय नै पढ्नु भयो ?
आफ्नै ईच्छा र मन पर्ने विषय भएकोले मौसम विज्ञान रोजें । मेरा भिनाजु मोहन न्यौपाने शिक्षक हुनुहुन्थ्यो । उहाँले पनि मौसम विज्ञान पढ्न प्रेरित गर्नु भयो । अनि, यही विषय पढें ।

महिला भएका कारण पढाइ र मौसमविद् भएर सरकारी सेवामा रहँदा कस्तो सहजता वा असहजता महसुस भएको छ ?

पढाईमा त खासै महिला र पुरुष प्रतिको फरक व्यवहार अनुभव भएन । जागिरे जिवनमा चाहिँ अनुभव छ । असहजता त छैन । तर महिला भएकै कारण अरुले हेर्ने नजर फरक चाहिं पाइने रहेछ । पत्रकारहरु मौसमको जानकारी लिन आउँदा पनि महिला मौसमविद्को सट्टा पुरुष कर्मचारी खोज्ने मानसिकता भोगेको छु । कार्यालयमा पनि महिलाले गर्न सक्ने काम नजर अन्दाज गरे जस्तो लाग्ने गर्छ ।

हाल देशभर मौसम कस्तो छ ?
देशभर साधारणतया बदली भएको छ । (१४ भदौं २०८२) र, देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

अबका दिनमा कस्तो मौसम रहन्छ ?
आगामी दिनमा समेत मौसममा खासै ठूलो फेरबदल हुने संभावना छैन ।

न्यून चापीय रेखा भनेको के हो ?
न्यून चाप भएको क्षेत्र जोडेर बनाइएको रेखा नै न्यून चापिय रेखा हो ।

यसका आधारमा कसरी मौसम विश्लेषण गरिन्छ ?
सामान्यतया न्यून चापीय क्षेत्रमा मौसम खराब हुने अपेक्षा राखिन्छ ।

न्यून चापीय रेखा चिन्नका लागि कस्ता उपकरण चाहिन्छ ? कि सामान्य मानिसले पनि यो रेखा छुट्याउन सक्छन् ?
यो त बैज्ञानिक कुरा भएकोले सामान्य मानिसले छुट्टयाउन सक्दैनन् । विभिन्न स्थानहरुमा चापको मापनपछि चापको मापन भएको अंकको आधारमा प्लट गरिन्छ । विश्लेषण गरिन्छ र रेखाको रुपमा निकालिन्छ । यसलाई न्यून चापीय रेखा भनिन्छ।

मनसुन सुरु भएको गणना कसरी गरिन्छ ? मनसुनी अवधि सुरु भएको र अन्त्य भएको मिति कसरी यकिन गरिन्छ ?
मनसुन शुरु र अन्त्य हुनको लागि हामिले क्राईटेरियाहरु बनाएका छौं, तिनैको विश्लेषण गरी मनसुनको शुरुवात र अन्त्यको घोषणा गर्छौं ।

यसपालि देशका अन्यत्र स्थानमा छिटफुट वर्षा भए पनि मनसुनको मध्यावधिसम्म तराइमा किन लामो खडेरी लाग्यो ?
तराईमा मात्र हैन, अन्य स्थानमा समेत सरदर भन्दा कम वर्षा देखिन्छ। यसको बैज्ञानिक कारण खोज्न जरुरी छ । यस वर्षको मनसुन विगतको भन्दा केही फरक अनुभवसमेत गरिएको छ ।

यसपालिको मनसुन कहिले अन्त्य होला ?
सामान्यतया अक्टुबर २ मा मनसुनको अत्य हुन्छ । अहिले नै मनसुन अन्त्यको पूर्वानुमना गर्न सकिंदैन ।

स्याटलाइट इमेज भनेको के हो ? यो कसरी खिचिन्छ ?यसको विश्लेषण कसरी गरिन्छ ?
स्याटलाटमा विभिन्न किसिमका सेन्सर जडान गरी जमिनको सतहको अवस्था मापन गर्ने र  प्रेसेस गरिसकेपश्चात प्राप्त इमेज स्याटलाइट इमेज हो । नेपालमा मौसम मापन गर्ने आफ्नै स्याटलाइट छैन । जापान, भारत र चीनसमेतका देशहरुले राखेको स्याटलाइटबाट प्राप्त इमेज हेरेर मौसम विश्लेषण गरिन्छ । विभिन्न प्राकारका च्यानल हेर्दै धेरै प्रकारको बादलको अवस्था, मौसमको अवस्था, कुन प्रणाली कताबाट कता जाँदै छ ? भन्नेलगायतका कुराहरु जान्न सकिन्छ ।

मौसम विज्ञानबाहेक स्याटलाइट इमेजको अध्ययनबाट केके कुरा पत्ता लाग्छन् ?
( विभिन्न प्राकारका सेन्सर जडान गरिएअनुसार तिनले काम गर्दछन् । स्याटेलाइटप्रयोग गरी फोनसमेत गरिन्छ । जमिनको सतहको अनुगमन, मौसमको अनुगमनलगायतका काम गर्न सकिन्छ। यसका धेरै उपयोगिता छन् ।

हिमाली क्षेत्रमा हुने ग्लेसियर र सप्राग्लेसियर भनेको के हो ? यी कसरी बन्छन्, के कारणले भत्कन्छन् ?
तापक्रम वृद्दिसँगै हिमाली क्षेत्रमा हिउँ पग्लेर हिमतालहरु बन्दछन् र सो बगेर जाँदा हिमनदीको रुपमा बग्दछन् ।

हिमपहिरो भनेको के हा ? कस्तो मौसम र स्थानमा हिमपहिरो आउने सम्भावना हुन्छ ?
हिउँको ढिस्को खस्नुलाई हिमपहिरो भनिन्छ। हिँउको थुप्रो– थुप्रो बनेर बस्दै जाँदा यसले थेग्न नसकेपछि समेत खस्ने हुन्छ । पग्लिने क्रममा कमजोर भएर पनि खस्ने हुन सक्छ ।

देशमा मौसम पूर्वानुमान गर्न पर्याप्त जनशक्ति र उपकरण छन् ?
जनशक्ति र उपकरण दुबै पर्याप्त छैनन्।

अत्याधुनिक उपकरण पर्याप्त नहुँदा मौसम पूर्वानुमान गर्न कस्ता समस्या भोग्दै हुनुहुन्छ ?
मौसम पूर्वानुमनाको विश्वसनियतामा कमी छ मागअनुसारको पूर्वानुमना गर्न सकिएको छैन । प्रभावमा आधारित पूर्वानुमान गर्न र लामो अवधिको पूर्वानुमान गर्न सकिएको छैन । आधुनिक उपकरणको पर्याप्तता र दक्ष जनशक्ति कम भएका कारणले समस्या छन् ।

मौसम विज्ञान विभागलाई सरकारले कुन रुपमा लिएको पाउनु हुन्छ ? अर्थात मौसमविद् र विभागप्रति सरकारको दृष्टिकोण कस्तो छ ?
सरकारले कम लगानी तर धेरै आसा गरेको छ । कम प्रविधि र जनशक्ति, अध्ययन र अनुसन्धाको कमी तथा स्रोत साधनको कमि भइरहेको छ ।

आफू वरिष्ठ मौसमविद् भएको नाताले आगामी पुस्ता जुन मौसम विज्ञानतर्फ आकर्षित हुन चाहछ, तिनीहरुलाई के सुझाव दिनु हुन्छ ?
राम्रो पढ्नु पर्छ । यसमा राम्रो गर्नुपर्छ । कार्यक्षेत्र निकै फराकिलो छ । मौसम विज्ञानमा तपार्इँको भविष्य उज्जवल हुन सक्छ ।