९औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०२६ को मुख्य उदेश्य के हो ?
यही चैत २० देखि २२ गतेसम्म ललितपुरको हेरिटेज गार्डेनमा सञ्चालन हुने ‘९औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०२६’ लाई महिला उद्यमीहरूको उत्पादनलाई बजारसँग जोड्ने, पहिचान दिलाउने र व्यापारिक अवसर विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएर गर्न लागेका छौं ।
महासंघले विगत २२ वर्षदेखि महिला उद्यमशीलताको क्षेत्रमा निरन्तर काम गर्दै आएको छ। देशका ७७ वटै जिल्लामा सञ्जाल विस्तार गरिसकेको हाम्रो महासंघले ६ हजार महिला उद्यमीलाई आबद्ध गरिसकेको छ । हामी यी सदस्य उद्यमी महिलाको समग्र ज्ञान, सीपको प्रचार प्रसारदेखि थप उत्साहित गर्ने मेलाको समग्र उदेश्य हो ।
यससँगै महिला उद्यमीहरूलाई ठूला खरिदकर्ता, लगानीकर्ता तथा निजी क्षेत्रसँग जोड्दै व्यापारिक सहकार्य बढाउने, बजार पहुँच विस्तार गर्ने र नयाँ अवसर सिर्जना गर्ने उद्देश्य पनि मेलाले बोकेको छ । महिला उद्यमीबीच ज्ञान, अनुभव, प्रविधि र सीप आदान–प्रदान गराउँदै दीगो व्यापारिक वातावरण निर्माण गर्ने लक्ष्यसमेत राखिएको छ ।
मेलामा के र कस्ता स्टल रहने छन् ?
मेलामा ७ प्रदेश र ७७ वटै जिल्लाबाट १ सय ४० वटा स्टलमार्फत करिब ३ सय महिला उद्यमीहरूले आफ्ना उत्पादनहरू प्रदर्शन गर्नेछन् । हस्तकला, ढाका, गलैचा, हाते कागज, गहना, जैविक खाद्य पदार्थ, जडीबुटी, कृषिजन्य उत्पादन, स्थानीय तथा मौलिक परिकार, सजावटका सामग्री, साना उद्योगका उत्पादन तथा सेवा प्रदायक संस्थाहरूका स्टलहरू आकर्षक रूपमा राखिने छन् ।
अपाङ्गता भएका महिला उद्यमीका ४, माला अर्गनाइजेसन र ललितपुरको ४ नम्बर वडाका १/१ स्टल निःशुल्क राखिने छन् । अन्य स्टललाई भने केही शुल्क लिने छौं । केही गाडीका र केही अन्तर्राष्ट्रिय स्टल पनि रहने छन् ।
यसमा हाम्रो मुख्य उदेश्य रैथाने उत्पादनलाई प्रोत्साहन दिनु हो । सातै प्रदेशका महिला उद्यमीहरूले आफ्ना रैथाने उत्पादन प्रदर्शन गर्नेछन् । कोशी प्रदेशबाट अल्लो, बाँसका सामग्री, कफी, टिमुर, अर्गानिक उत्पादन, मधेश प्रदेशबाट मिथिला कला तथा बाँसका उत्पादन, बागमती प्रदेशबाट डेरी उत्पादन, चिज, अचार, लसुन, दुना टपरी, माटोका भाँडाकुँडा, नर्सरी, लत्ताकपडा, गरगहना स्टलमा राखिने छ । कर्णाली प्रदेशबाट अल्लो र पत्थरहरुका स्टल राखिने छ ।
यस्तै गण्डकी प्रदेशबाट विवाह सजावट सामग्री, कागज, गेडागुडी, जडीबुटी, ढाका, लुम्बिनी प्रदेशबाट ढाका, अल्लो, बाँस–बेत, थाकल उत्पादन, परम्परागत खाद्यपदार्थ, कर्णाली प्रदेशबाट राडीपाखी, अल्लो, कृषिजन्य गेडागुडी र सुदूरपश्चिम प्रदेशबाट गलैचा, काठका सामग्री, कृषिजन्य उत्पादन प्रदर्शनमा राखिने छ ।
यो मेलामा मेलामा भारत, चीन, कोरिया र भुटानका महिला उद्यमीहरूको सहभागिता रहनेछ। भारतबाट फेब्रिक तथा कस्मेटिक, चीनबाट विभिन्न उत्पादन, कोरियाबाट कस्मेटिक तथा नुडल्स र भुटानबाट रिसाइकल उत्पादनहरू प्रदर्शन गरिनेछन्। यसले अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान र व्यापार विस्तारमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

मेलामा अन्य आकर्षण के के छन् ?
मेलामा महिला उद्यमीहरूको पहिचान र प्रोत्साहनका लागि विभिन्न कार्यक्रमहरू समावेश गरिएका छन् । प्राकृतिक रेशाजन्य उत्पादनको र्याम्प वाक र प्यानल छलफल, हस्तकला अवलोकन, अन्तर्राष्ट्रिय सहभागिता, ज्ञान तथा सीपमूलक सत्र, डिजिटलाइजेशन, वित्तीय साक्षरता र नेटवर्किङ कार्यक्रमहरू प्रमुख आकर्षणका रूपमा रहने छन् । उत्कृष्ट उत्पादन, स्टल सजावट, प्याकेजिङ र लेबलिङका आधारमा सहभागीलाई प्रोत्साहन गर्ने पनि तयारी छ । अर्थात यस्ता उद्यमी र तिनका स्टललाई सम्मान तथा प्रमाणपत्र प्रदान गछौं ।
३ दिने यो मेलामा कति रुपैयाँको कारोबार हुने अपेक्षा छ ?
सोझो हिसाबमा करिब २ करोड रुपैयाँ बराबरको कारोबार हुने छ । करिव ५० हजार जनाले मेलाको अवलोकन र किनमेल गर्ने हाम्रो अनुमान छ । मेला अवलोकनपछि भविष्यमा असीमित कारोबार हुनसक्छ । उद्यमी र उपभोक्ताबीच चिनजान, सामानको गुणस्तरसमेतका आधारमा ब्यापार पछिसम्म चलिरहन्छ । यसर्थ नगदमा २ करोड भए पनि यो निरन्तर चल्ने भएकोले व्यवसायी महिलालाई ठूलो आर्थिक लाभ पुग्ने छ ।
मेलामा कसकसको साथ अर्थात सहयोग पाउनु भएको छ ?
हामीलाई विभिन्न सरकारी निकाय, दातृ संस्था तथा निजी क्षेत्रको सहयोग भइरहेकोछ। जसमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभाग, मेक इन नेपाल, इन बिजनेस यूके इन्टरनेशनल डेभलपमेन्ट, पाकिस्तान दूतावास, अष्ट्रेलियन दूतावास, अष्ट्रिया मानार्थ वाणिज्य दूतावास, चिनियाँ दूतावास, जिआइजेड, आईएलओ, हेल्भेटास नेपाल, इसेवा, स्याकार ट्रेडिङ कम्पनी, मनकामना केबलकार, कृषि विकास बैंक, फेडएक्स, हिमालयन एभरेस्ट इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेपाल टेलिकम तथा ऊर्जा भेन्चर्सलगायत संस्थाहरूको सहयोग रहेको छ।
मेलालाई व्यवस्थित बनाउन केके गर्नु भएको छ ?
हामीले मेला व्यवस्थापनमा मूल समिति र त्यसको मातहतमा १२ वटा उपसमिति गठन गरेका छौं । सबै उपसमितिले काम थालिसकेका छन् । महासंघ र मेला आयोजक मूल समितिले दैनिक मेला सफल बनाउन आवश्यक सबै रणनीति अपनाएर काम गरिरहेका छौं ।

मेलाले कस्तो नतीजा दिनेमा आशावादी हुनुहुन्छ ?
‘स्वदेशी खाऔं, स्वदेशी लगाऔं र स्वदेशी उद्यमशीलता बढाऔं’ यो नाराका साथ हुन लागेको यो मेला केवल व्यापारिक प्रदर्शनीमात्र होइन । यो व्यापार तथा व्यवसायमा लागेका महिलाको पर्व नै हो । यसले महिला उद्यमशीलताको प्रवद्र्धन, सामाजिक तथा आर्थिक सशक्तिकरण, ज्ञान–सीप आदान–प्रदान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने सशक्त माध्यमका रूपमा जोड्ने मेरो विश्वास छ ।