Advertisement GIF
रसुवागढी– स्याफ्रुबेँसी १६ किलोमिटरमा शुक्रबारबाट गाडी चल्ने

गत असार २४ गते चीनको तिब्बतमा हिमताल फुटेर लेन्दे र केरुङ नदी हुँदै भोटेकोशीमा आएको बाढीले विभिन्न स्थानमा क्षति पुर्‍याएको रसुवागढी– स्याफ्रुबेँसी सडक शुक्रवारदेखि खुल्ने भएको छ। पहिलो चरणमा यो सडकमा शुक्रवारदेखि साना सवारी साधन चलाउन मिल्ने गरी मर्मत गरिएको हो।

बाढीले बगाएको, पहिरोले पुरेको र पहिरो खसेर एक दर्जन स्थानमा सडक बिग्रिएको थियो। यो खण्डको १६ किलोमिटर सडकमध्ये करिब १ हजार १ सय मिटर सडक बिग्रिएको थियो। अब करिब ५० मिटर खण्डमात्र मर्मत गर्न बाँकी रहेको रसुवामा तैनाथ नेपाली सेनाको श्रीनाथ गणका एक सैनिकले जानकारी दिए।

‘तत्काल बस, ट्रकहरु भने चल्ने अवस्था छैन, ठूला सवारी र मालबहाक साधन चल्न केही समय लाग्छ,’ एक सैनिकले जानकारी दिए। बाढीले रसुवागढी–स्याफ्रुबेँसी खण्डको १६ किलोमिटर क्षेत्रको सडकमा क्षति पुगेको थियो। अहिले भने मोटरसाइकल र अन्य साना सवारी साधनमात्र चल्नेछन् । यो सडक खुलाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रसुवागढी हाइड्रोपावर, लाङटाङ भोटेकोशी हाइड्रोपावर र सडक विभागले काम गरिरहेका छन्।

सडकमा भइरहेको कामको प्रगति र मर्मतमा खटिएका सुरक्षाकर्मीलाई हौसला दिन सेनाको मध्य पृतना हेटौँडाबाट पृतनापति उपरथी हरेन्द पाठक, ६ नम्बर बाहिनीपति सहायक रथी सुवासजंग थापाले बिहीबार सडकको अवलोकन गरेका छन्। अहिले बन्द सडक खण्डको लिङलिङमा चट्टान फोड्ने काम भइरहेको छ। यो खण्डको १६ किलोमिटरमा सडक खुलाउन तीव्र गतिमा काम भइरहेको छ। शुक्रबारसम्म ठूलो वर्षा नभएमा सडकमा साना गाडी गुड्ने र यातायात सञ्चालन हुनेछ।

रसुवा बाढीले क्षति पुगेपछि अवलोकन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसित कूटनीतिक पहल गरेर छिटोभन्दा छिटो रसुवागढी नाकास्थित नेपाल(चीन मितेरी पुल निर्माणमा अघि बढ्ने बताएका थिए। चीनतर्फको भागमा बाढीले थुपारेको गेग्र्यान, माटो हटाउन चीन पक्षले डोजर लगाइरहेको बुझिएको छ।

‘स्थानीयका अनुसार भोटेकोशी नदीपारि चीनतर्फ डोजरले काम गरिरहेको देखिन्छ । त्यहाँ बाढीले थुपारेका गेग्यान, ढुंगा, माटो हटाउने काम भइरहेको बताइन्छ ।