होम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, छातबहाल ललितपुरको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभामा सञ्चालक समितिका अध्यक्ष मुकुन्द महर्जनले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक, सामाजिक तथा संस्थागत प्रगतिबारे जानकारी गराएका छन्। संस्थाको कूल कारोबार ६ करोड १२ लाख नाघेको छ भने कूल कर्जा लगानी २ करोड १६ लाख रुपैयाँ पुगेको छ। सभाले आगामी वर्ष सेयर पूँजी र सदस्य संख्या विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।
२०६५ सालमा स्थापना भएर सहकारी ऐन, नियमावली र सहकारी मूल्य–मान्यताअनुसार सञ्चालन हुँदै आएको संस्थाले सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नतिलाई प्राथमिकतामा राख्दै कार्य गर्दै आएको अध्यक्ष महर्जनले बताए। समुन्नत भविष्यका लागि बचत गर्ने बानी बसालौँ भन्ने नारासाथ स्थापना भएको सहकारीले १७ वर्षको अवधिमा विविध अनुभव र उपलब्धि हासिल गरेको उल्लेख गरिएको छ।
आर्थिक वर्ष २०८१ र ०८२ मा संस्थामा महिला २६४ जना, पुरुष ३३६ जना र अन्य ४ जना गरी जम्मा ५४४ जना सेयर सदस्य रहेका छन्। अघिल्लो वर्षको तुलनामा सेयर पूँजीमा वृद्धि भई ५१ लाख ४५ हजार रुपैयाँ पुगेको छ । संस्थाको कूल कर्जा लगानी २ अर्ब १६ करोड २३ हजार ३८५ रुपैयाँ पुगेको छ ।
देशको वित्तीय क्षेत्रमा देखिएको सुस्तता, राजनीतिक अस्थिरता तथा व्यापार–व्यवसाय प्रभावित बनेका कारण बैंक, वित्तीय संस्था र सहकारी क्षेत्रमा कर्जा मागमा कमी आएको भए पनि तरलता वृद्धि भएसँगै कर्जा लगानी र असुली चुनौतीपूर्ण बनेको प्रतिवेदनमा उल्लेख छ। यस्तो अवस्थामा पनि संस्थाले बचत संकलन, कर्जा लगानी र असुली प्रक्रियालाई निरन्तरता दिँदै सदस्यको विश्वास कायम राख्न सफल भएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्